होशे 11-14
Nepali Bible: Easy-to-Read Version
इस्राएलहरूले परमप्रभुलाई भुल्यो
11 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्रेम गरें।
तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,
त्यति-त्यति तिनीहरू मबाट टाढा भए।
तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे।
उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
3 “एप्रैमलाई मैले हिँड्न सिकाएँ।
इस्राएललाई मैले अङ्गालोमा बोकें
अनि मैले नै तिनीहरूलाई निको पारें।
तर यी सबै कुरा तिनीहरू जान्दैनन्।
4 मैले तिनीहरूलाई प्रेमको डोरी
मायाको बन्धनले बाँधेर डोर्याएँ।
म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ,
म निहुरेर उनीहरूलाई खाना खुवाएँ।
5 “तर इस्राएलीहरूले परमेश्वरतर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, त्यसको सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन्। 6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिन्छ।
7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
परमप्रभुले इस्राएललाई नष्ट गर्न चाहनुहुन्न
8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहन्छु।
म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ!
म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ।
म आफ्नो मन बद्ली रहेछु,
तिमीप्रति दयाले मन पग्लिरहेछ।
9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्।
म फेरि एप्रैमलाई नष्ट पार्नेछैन।
म त परमेश्वर हुँ, म कुनै मानिस होइन।
म तिनीहरू माझ एक पवित्र छु।
म तिमीहरूसँगै छु।
म आफ्नो रिस देखाउँनेछैन।
10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु
अनि मेरा सन्तान मसँग आउने छन्,
र मेरो पछि-पछि हिँड्नेछन्।
मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
11 तिनीहरू चरा जस्तै वेगसित
मिश्र देशबाट आउनेछन्।
तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन्
अनि म तिनीहरूलाई घरमा पठाउनेछु।”
परमप्रभुले यो भन्नु भयो।
12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ।
इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यन्त्र रचे।
तर यहूदा अहिले सम्म परमेश्वरसँग छ।
यहूदा पवित्र र साँच्चो छ।”
परमप्रभु इस्राएलको विरूद्धमा हुनुहुन्छ
12 एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्राएल दिनभरि “हावाको पछि पछि भागिहिँड्छ”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसँग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।
2 परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ। 3 जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो। 4 याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसँग बातचीत गर्यो। 5 यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो। 6 यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँच्चो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैँ निर्भर गर।
7 “याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ। 8 एप्रैम भन्छ, ‘म धनी छु। मैले साँच्चो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’
9 “तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु। 10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु। 11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।
12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेंडा़हरूको हेरचाह गर्यो। 13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्तद्वारा इस्राएललाई सुरक्षित राख्नुभयो। 14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”
इस्राएल आफै नष्ट भयो
13 “एप्रैम आफैंले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ। 2 इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे। 3 अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
4 “मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो। 5 उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें। 6 मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
7 “यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु। 8 म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
परमेश्वरको क्रोधबाट कसैले इस्राएललाई बँचाउनु सक्तैन
9 “हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु। 10 कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ। 11 म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।
12 “एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ,
उसको पाप अभिलेखमा राखिएको छ।
ऊ दण्डित हुनेछ।
13 उसलाई प्रसव वेदना हुनेछ।
ऊ एउटा अज्ञानी शिशु जस्तै हो
चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
14 “के म उनीहरूलाई पातालको शक्तिदेखि बँचाऊँ?
के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ?
हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ?
हे चिहान तेरो शक्ति कहाँ छ?
मेरो आखाँबाट अब दया लुकेकोछ।
15 इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ,
तर पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ
अनि इस्राएलको कुवाहरू सुक्ने छन्।
त्यसको पानीको मूल सुक्नेछ।
त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
16 सामारियाले दण्ड भोग्नेछ
किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ।
इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ,
उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ
अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
परमप्रभुतिर फर्क
14 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। 2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,
“हाम्रा सबै पापहरू टाढा गरेर,
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर,
जुन हामीले भनिरहेकाछौ।
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं।
3 अश्शूरले हामीलाई बँचाउन सक्तैंन।
हामी घोडहरूमाथि सवार हुनेछैनौ।
न त हामी आफ्नो हातले बनाएको कुरालाई
‘हाम्रो परमेश्वर’ भन्नेछौं।
किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने,
केवल तपाईं मात्र हुनुहुन्छ।”
परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ
4 परमप्रभु भन्नुहुन्छ,
“उनीहरूले मलाई त्यागे।
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु।
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु।
म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु।
इस्राएल लिली फूल झैं फुल्नेछ।
लबानोन झैं त्यसको जरा फैलनेछ।
6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्।
त्यो सुन्दर हुनेछ।
त्यो त्यस सुगन्ध झैं हुनेछ
जुन लबानोनको रूखको जराबाट आउँछ।
7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।
तिनीहरू अन्न झैं बढ्नेछन्।
तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन।
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।
परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो
8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु।
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु।
म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ।
त्यसको फल मबाट नै आउँछ।”
अन्तिम सल्लाह
9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ।
परमप्रभुको बाटो ठीक छ।
असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्।
पापीहरू तिनीहरूद्वारा मर्छन्।
© 2004, 2010 Bible League International