Bible in 90 Days
येशू यहूदी अगुवाहरूको अघि
(मर्कूस 14:53-65; लूका 22:54-55,63-71; यूहन्ना 18:13-14,19-24)
57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। 58 पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे।
59 प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। 60 धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, 61 “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”
62 अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” 63 येशूले केही भन्नु भएन।
तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
64 येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
65 प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। 66 तिमीहरूको के राय छ?”
यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।”
67 त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। 68 तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”
येशूलाई चिन्दछु भन्न पत्रुस डराए
(मर्कूस 14:66-72; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)
69 त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।”
70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”
71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”
72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”
73 केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”
74 तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। 75 तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
येशूलाई बडा हाकिम पिलातसकहाँ लगियो
(मर्कूस 15:1; लूका 23:1-2; यूहन्ना 18:28-32)
27 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। 2 तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
यहूदाको आत्महत्या
(प्रेरित 1:18-19)
3 यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। 4 यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”
यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”
5 यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।
6 मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” 7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। 8 यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। 9 यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो।
“तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। 10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”[a]
बडाहाकिम पिलातसद्वारा येशूलाई प्रश्नहरू
(मर्कूस 15:2-5; लूका 23:3-5; यूहन्ना 18:33-38)
11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
12 जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”
14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
येशूलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल
(मर्कूस 15:6-15; लूका 23:13-25; यूहन्ना 18:39–19:16)
15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। 16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।
17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” 18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?”
मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!”
22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?”
सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!”
23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”
24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली
(मर्कूस 15:16-20; यूहन्ना 19:2-3)
27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
येशूलाई क्रुसमा झुण्ड्याइयो
(मर्कूस 15:21-32; लूका 23:26-39; यूहन्ना 19:17-19)
32 सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो। 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। 34 जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। 36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। 37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।
38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए। 39 आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे। 40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। 42 तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं। 43 उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” 44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
येशूको मृत्य
(मर्कूस 15:33-41; लूका 23:44-49; यूहन्ना 19:28-30)
45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”(A)
47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
48 एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
51 जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। 52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। 53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए। 56 मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
येशूलाई गाडियो
(मर्कूस 15:42-47; लूका 23:50-56; यूहन्ना 19:38-42)
57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। 58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। 59 त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे। 60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। 61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
येशूको चिहानमा पहरा
62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे। 63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। 64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।” 66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
येशू बौरी उठेको समाचार
(मर्कूस 16:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)
28 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
2 त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे। 3 ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो। 4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
5 त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो। 6 तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो। 7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे। 9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे। 10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”
यहूदी प्रमुखहरूलाई सूचना
11 तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घट्ना बारे सुनाए। 12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए। 13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए। 14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।” 15 तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
येशूका आफ्ना चेलाहरूसँग कुराकानी
(मर्कूस 16:14-18; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)
16 एघारजना चेलाहरू गालील गए। 17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्। 18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ। 19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ। 20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
येशूको आगमन
(मत्ती 3:1-12; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)
1 येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। 2 यशैयाले लेखेकाछन्:
“सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।”(B)
3 “उजाड-स्थानमा कोही कराइहेकोछः
‘परमप्रभुको बाटो तयार पार,
उहाँका गोरेटोहरू सोझो बनाओ।’”(C)
4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[b] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। 5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
6 यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
7 त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। 8 म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
येशूको बप्तिस्मा भयो
(मत्ती 3:13-17; लूका 3:21-22)
9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। 10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। 11 स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।”
येशूको परीक्षा
(मत्ती 4:1-11; लूका 4:1-13)
12 त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। 13 चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे।
गालीलमा येशूको कामको आरम्भ
(मत्ती 4:12-17; लूका 4:14-15)
14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। 15 येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”
येशूले केही चेलाहरू छान्नु हुन्छ
(मत्ती 4:18-22; लूका 5:1-11)
16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” 18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
येशूद्वारा दुष्टात्मा भएको मानिसको उद्धार
(लूका 4:31-37)
21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो। 22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो। 23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो। 24 त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” 26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।” 28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जताततै फैलियो।
येशूद्वारा अनेकौं मानिसहरू निको भए
(मत्ती 8:14-17; लूका 4:38-41)
29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। 30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। 31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। 33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। 34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
येशूद्वारा सुसमाचार सुनाउने योजना
(लूका 4:42-44)
35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”
38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।
येशूद्वारा एकजना रोगी निको भयो
(मत्ती 8:1-4; लूका 5:12-16)
40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”
41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” 42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो। 44 येसूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।” 45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जताततै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
येशूले पक्षाघातको रोगी लाई निको पार्नु भयो
(मत्ती 9:1-8; लूका 5:17-26)
2 केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। 2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। 3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। 4 तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। 5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
6 केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे: 7 “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।”
8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ 9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।”
12 त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।”
लेवी (मत्ती) येशूलाई पछ्याउँछन्
(मत्ती 9:9-13; लूका 5:27-32)
13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो। 14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयासको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म सँग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।
15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए। 16 केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू सँग खाना खानु भएको हो?”
17 येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धर्मिहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।”
येशू अरू धार्मिक प्रमुखहरू भन्दा फरक
(मत्ती 9:14-17; लूका 5:33-39)
18 यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”
19 येशूले जवाफ दिनुभयो, “जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन। 20 तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास बस्छन्।
21 “कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ। 22 त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।”
कोही यहूदीहरूद्वारा येशूको निन्दा
(मत्ती 12:1-8; लूका 6:1-5)
23 विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसँगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिँडदै गर्दा अन्नका बालाहरू टिप्न लागे। 24 फरिसीहरूले यो देखेर येशूलाई भने, “तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।”
25 येशूले भन्नुभयो, “तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे 26 यस्तो घट्ना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।”
27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन। 28 यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।”
येशूद्वारा कोरीको हात निको
(मत्ती 12:9-14; लूका 6:6-11)
3 अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। 2 कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। 3 येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।”
4 अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।
5 येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो। 6 तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
अनेकौं मानिसहरू येशूको पछि लाग्छन्
7 येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। 8 यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।
9 उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो 10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। 11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” 12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।
येशूले आफ्ना बाह्र जना चेलाहरू छान्नु भयो
(मत्ती 10:1-4; लूका 6:12-16)
13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। 14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। 15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। 16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:
सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो),
17 याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),
18 आन्द्रियास,
फिलिप,
बारथोलोमाई,
मत्ती,
थोमा,
याकूब (अल्फयसको छोरो),
थेदियस,
सिमोन कनानी,[c]
19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।
कसैले येशूमा शैतान भएको ठान्छन्
(मत्ती 12:22-32; लूका 11:14-23; 12:10)
20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। 21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”
23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? 24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। 25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। 26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।
28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। 29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।”
30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।
येशूको चेलाहरू नै उहाँको साँच्चो परिवार
(मत्ती 12:46-50; लूका 8:19-21)
31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए।
32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।”
33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” 34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। 35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”
बिऊ छर्ने खेतीवालको वारेमा दृष्टान्त
(मत्ती 13:1-9; लूका 8:4-8)
4 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गामा चढ्नु भयो, अनि त्यहाँ बस्नुभयो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे। 2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
3 “सुन! एकजना किसान बीऊ छर्न गयो। 4 जब त्यसले बीऊहरू छर्यो केही बीऊहरू बाटोमा छरियो, चराचुरूङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए। 5 केही बीऊहरू चट्टान भएको भूईँमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे। 6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन। 7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन। 8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
9 अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
येशू भन्दछन् उहाँले किन दृष्टान्तहरू उल्लेख गर्नुभयो
(मत्ती 13:10-17; लूका 8:9-10)
10 अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु। 12 किनकि,
‘तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्,
तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन्।
यदि तिनीहरूले देखे र बुझे भने,
तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन्।’”(D)
येशू बीऊको व्याख्या गर्नुहुन्छ
(मत्ती 13:18-23; लूका 8:11-15)
13 येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ? 14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। 15 कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्। 17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।
18 “अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्। 19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
तिमीमा जे जति छ त्यो प्रयोग गर
(लूका 8:16-18)
21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ। 22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्। 23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।” 24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरूमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। 25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
येशू बीऊको बारेमा भन्नु हुन्छ
26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ। 27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ। 28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ। 29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”
राज्य रायोको दाना जस्तै हो
(मत्ती 13:31-32,34-35; लूका 13:18-19)
30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? 31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। 32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”
33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। 34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।
येशूले आँधी थाम्नु भयो
(मत्ती 8:23-27; लूका 8:22-25)
35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” 36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। 37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। 38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”
39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
दुष्टात्मा बाट छुटकारा पाएको एक मानिस
(मत्ती 8:28-34; लूका 8:26-39)
5 येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो। 2 जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो। 3 त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गलोले बाँधेर पनि। 4 धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गलोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गलाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। 5 रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैंले आफैंलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।
6 जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगुरेर आयो अनि उहाँका अघि निहुरियो। 7-8 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?”
9 त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”
त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।” 10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।
11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए। 12 दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुँगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।” 13 अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती दुष्टात्मा मानिसलाई छोडेर सुँगुरहरूमा पसे। त्यसपछि ती सुँगुरहरू भिरालो पहाड़ अनि समुद्र तिर हुर्रिन लागे। सबै सुँगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुँगुरहरू थिए।
14 सुँगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घट्नाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घट्ना हेर्न आए। 15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। 16 केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। 17 अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानुहोस् भने।
18 येशू डुङ्गा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसँगै जानलाई बिन्ती गर्यो। 19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”
20 तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।
येशूद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी स्त्रीलाई आरोग्य प्रदान
(मत्ती 9:18-26; लूका 8:40-56)
21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। 22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”
24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।
27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”
31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’”
32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”
35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।”
36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। 39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।” 40 तर तिनीहरूले येशूमाथि हाँसो गरे।
येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) 42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।
येशू आफ्नो शहरमा जानुहुन्छ
(मत्ती 13:53-58; लूका 4:16-30)
6 येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। 2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? 3 के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” 5 येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। 6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।
येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ
(मत्ती 10:1,5-15; लूका 9:1-6)
7 येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। 8 येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। 9 जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। 10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। 11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” 13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
हेरोदेले येशूलाई बप्तिस्मा दिने यूहन्ना नै ठान्दछन्
(मत्ती 14:1-12; लूका 9:7-9)
14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”
16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”
बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
17 हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। 18 यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” 19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। 20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।
21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। 22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी।
अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” 23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?”
उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।”
25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। 27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। 28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। 29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।
येशूद्वारा पाँचहजार भन्दा अधिकलाई भोजन
(मत्ती 14:13-21; लूका 9:10-17; यूहन्ना 6:1-14)
30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। 31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”
32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। 33 तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। 34 जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो। 36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”
37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।”
चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”
38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”
चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”
39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।” 40 अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
41 उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।
42 सबैले अघाउन्जेल खाए। 43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे। 44 त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
येशू पानीमाथि हिँड्नुभएको
(मत्ती 14:22-33; यूहन्ना 6:16-21)
45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो। 46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो। 48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिँड्नु भयो। उहाँले लगातार हिँडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो। 49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। 50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” 51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। 52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
येशूले धेरै मानिसहरूलाई निको पार्नुभयो
(मत्ती 14:34-36)
53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। 54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। 55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। 56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
परमेश्वरको नियम र आज्ञाले मानिसहरू बनिन्छन्
(मत्ती 15:1-20)
7 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। 2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। 3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। 4 यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6 येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्:
‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ,
किनभने तिनीहरूले सिकाएका कुराहरू,
केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’(E)
8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। 10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ 11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। 12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। 13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। 15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।” 16 [d]
17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे। 18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन 19 किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
20 फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ। 21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या 22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। 23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”
येशूद्वारा अयहूदी आइमाईलाई मद्दत
(मत्ती 15:21-28)
24 येशूले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन। 25 एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
26 त्यो आईमाई यहूदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
27 येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
28 आइमाईले भनी, “प्रभु, त्यो साँच्चो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
29 तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
बैह्रो मानिस येशूद्वारा निको भएको
31 त्यपछि येशूले टायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो। 32 जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
33 येशूले त्यस मानिसलाई भीडबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो। 34 येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा!”) 35 जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि ऊ स्पष्ट बोल्ने भयो।
36 येशूले यी सबै भएका घट्नाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कड़ा आज्ञा गर्नुभयो। उहाँले सधैँ नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने। 37 मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”
येशूद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन
(मत्ती 15:32-39)
8 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। 2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। 3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।”
4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?”
चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”
6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। 7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो।
8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। 9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। 10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
फरिसीहरूले येशूको परीक्षा लिने प्रयास गरे
(मत्ती 16:1-4; लूका 11:16,29)
11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने। 12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।” 13 तब येशूले तिनीहरूलाई छोड्नुभयो र डुङ्गामा चढ़नु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
येशूद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी
(मत्ती 16:5-12)
14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। 15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।”
17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ? 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें। 19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?”
चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।”
20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”
चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न् सकेका छैनौ?”
बेत्सैदामा अंन्धो मानिस निको भएको
22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। 23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। 26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
पत्रुस अनुसार येशू नै ख्रीष्ट हुन्
(मत्ती 16:13-20; लूका 9:18-21)
27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”
28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”
पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”
येशू भन्नुहुन्छ उहाँ मर्नु पर्छ
(मत्ती 16:21-28; लूका 9:22-27)
31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। 32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन।
पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। 33 तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। 35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। 36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? 37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। 38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”
9 त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँच्चो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्।”
येशू मोशा र एलियासँग
(मत्ती 17:1-13; लूका 9:28-36)
2 छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। 3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। 4 जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” 6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।
7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
8 अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
9 येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”
10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। 11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् 13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”
© 2004, 2010 Bible League International