Bible in 90 Days
बेबीलोन ध्वंशभयो
18 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। 2 त्यो स्वर्गदूत जोडले करायो,
“उसको संहार भयो!
बेबिलोन महानगर संहार भयो!
ऊ अशुद्ध आत्माको बासस्थान बनियो।
ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो।
ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो।
ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।
3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको
अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।
पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।
अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,
“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।
5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।
उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई,
त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ।
ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,
म विधवा होइन,
मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’
8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,
मृत्यु, शोक, अनि अनिकाल,
किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,
जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”
9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। 10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,
‘हे! शक्तिशाली नगर बेबिलोन!
दु:खै-दु:ख होस्! तिमीलाई
एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। 12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। 13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,
14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे,
तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।
तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’
15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। 16 तिनीहरूले भन्नेछन्:
‘कष्ट! कष्ट महानगरलाई,
ऊ मिहीन मलमल, बैजनी,
अनि रातो बस्त्रको पहिरनमा थिई।
ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!
17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’
“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। 18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ 19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,
‘कष्ट! महानगरको निम्ति कति कष्ट!
सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”
21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:
“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।
अनि फेरि कहिल्यै पाइनेछैन।
22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी
अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्।
तेरोमा फेरि कुनै व्यवसायको
कर्मी पाइने छैन।
तेरोमा कहिल्यै जाँतोको
आवाज सुनिने छैन।
23 तेरोमा बत्तीको ज्योति
फेरि कहिल्यै चम्कने छैन।
वेहुला-वेहुलीको स्वर
तेरोमा सुनिने छैन।
तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,
समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।
24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,
तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्
19 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,
“हल्लेलूयाह!
विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
2 किनभने उहाँको न्याय सत्य अनि सही छ।
हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।
ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,
परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”
3 स्वर्गका मानिसहरूले यो पनि भनेः
“हल्लेलूयाह!
त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:
“आमिन! हल्लेलूयाह!”
5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,
“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,
हाम्रा परमेश्वरको स्तुति गर!
तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो,
हाम्रा परमेश्वरको स्तुति गर!”
6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:
“हल्लेलूयाह।
हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
7 हामी खुशी मनाऔं अनि खुशी होऔं
अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
मलमल चम्किलो र सफा थियो।”
(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)
9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”
सेतो घोड़ामा सवार
11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। 12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। 13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। 15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। 16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:
राजाहरूका राजा अनि प्रभुहरूका प्रभु
17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ। 18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।”
19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। 20 तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। 21 तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।
एक हजार वर्ष
20 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो। 2 त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङ्गलोले एक हजार वर्षको निम्ति बाँधे। 3 त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अत्तल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। एकहजार वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।
4 तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखें। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसँग एक हजार वर्ष सम्म शासन गरे। 5 एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्।
यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। 6 ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्।
शैतानको पराजय
7 जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ। 8 शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।
9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो। 10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।
संसारको मानिसहरूको न्याय
11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए। 12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।
13 समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो। 14 अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। 15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।
नयाँ यरुशलेम
21 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। 2 अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
3 मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। 4 परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।”
5 उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”
6 उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु। 7 कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ। 8 तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”
9 सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।” 10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
11 यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो। 12 त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो। 13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए। 14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडा़को पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।
15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। 16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो। 17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। 18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।
19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम, 20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए। 21 बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।
22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। 23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो।
24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्। 25 नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन। 26 राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ। 27 नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडा़का पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।
22 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। 2 त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए।
3 परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। 4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। 5 त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।
6 त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” 7 “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”
8 म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। 9 तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”
10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। 11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”
12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। 13 मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ।
14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। 15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।
16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”
17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।
18 म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। 19 अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।
20 येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”
आमिन। हे प्रभु येशू! आउनुहोस्।
21 प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।
© 2004, 2010 Bible League International