Bible in 90 Days
येशूले बहत्तर जनालाई पठाउनु भयो
10 त्यसपछि, प्रभु येशूले 72[a] जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। 2 येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
3 “अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेंडा़ जस्तै हुनेछौ। 4 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। 5 कसैको घरमा पस्न अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’ 6 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ। 7 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
8 “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ। 9 त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
10 “तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन, 11 ‘तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौं। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’ 12 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी
(मत्ती 11:20-24)
13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। 14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। 15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
शैतान झर्दछ
17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। 19 सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। 20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”
येशूको पितामा प्रार्थना
(मत्ती 11:25-27; 13:16-17)
21 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
22 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन्, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। 24 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
असल सामरीको कथा
25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”
27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।(A) अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(B)”
28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”
36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”
येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
मरियम र मार्थ
38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। 39 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। 40 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।”
41 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। 42 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
येशूद्वारा प्रार्थना बिषय-शिक्षा
(मत्ती 6:9-15)
11 एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”
2 येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर,
‘हे पिता, हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।
3 दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
4 हाम्रा पापहरू क्षमा गरीदिनुहोस्,
जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं।
अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”
लगातार प्रश्न
(मत्ती 7:7-11)
5-6 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ 7 घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। 8 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। 9 फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। 11 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै। 12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! 13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”
परमेश्वरबाट येशूले शक्ति पाउनु भएको
(मत्ती 12:22-30; मर्कूस 3:20-27)
14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। 15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”
16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। 17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। 18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। 19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् 20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
21 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। 22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।
23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।
रित्तो मानिस
(मत्ती 12:43-45)
24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ 25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। 26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
मानिसहरू साँच्चो रूपमा खुशी थिए
27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!”
28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
हामीलाई प्रमाण दिनुहोस्
(मत्ती 12:38-42; मर्कूस 8:12)
29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ। 30 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।
31 “न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।
32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ।
संसारका निम्ति ज्योति बन
(मत्ती 5:15; 6:22-23)
33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ। 34 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ। 35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्। 36 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”
येशूद्वारा फरिसीहरूको चर्चा
(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 20:45-47)
37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो। 38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। 39 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ। 40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन? 41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।
42 “धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।
43 “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ। 44 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिँड्नेछन्।”
45 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरुज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”
46 येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफैं भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ। 47 धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए। 48 यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। 49 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
50 “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ। 51 हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।
52 “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैंले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”
53 जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे। 54 उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।
फरिसीहरू झैं नहोऊ
12 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस। 2 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ। 3 ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
केवल परमेश्वरसँग डराऊ
(मत्ती 10:28-31)
4 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैनन्। 5 तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा फ्याँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन। 7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।
येशूबाट लज्जित हुनु पर्दैन
(मत्ती 10:32-33; 12:32; 10:19-20)
8 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। 9 तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
10 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।
11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। 12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।”
येशूद्वारा स्वार्थीपन-विरूद्ध चेताउनी
13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।”
14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?” 15 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।”
16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। 17 त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’
18 “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। 19 तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
20 “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’
21 “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।”
परमेश्वरको राज्यलाई फहिलो ठान
(मत्ती 6:25-34,19-21)
22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? 23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। 24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। 25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? 26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
27 “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। 28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
29 “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। 30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। 31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
सम्पत्तिमा भरोसा नगर
32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। 33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। 34 तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
सधैँ तयारी बस
(मत्ती 24:42-44)
35 “तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्। 36 त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ। 37 धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ। 38 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्।
39 “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। 40 यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”
विश्वासी नोकर को होला?
(मत्ती 24:45-51)
41 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ। 43 मालिक आँउदा आफूले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ। 44 म तिमीहरूलाई साँच्चो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
45 “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कंदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला। 46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसँग पठाइदिनेछ।
47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ। 48 उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
येशूको बारेमा मानिसहरूको असहमति
(मत्ती 10:34-36)
49 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने। 50 म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइन्जेल सम्म म विचलित नै रहनेछु। 51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अँहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ। 52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।
53 बाबु र छोराहरू विभाजनमा आउनेछः
छोरा बाबुको विरुद्धमा हुनेछ।
अनि बाबु छोराको विरुद्धमा हुनेछ।
आमा र छोरीहरू माझ वाभाजन आउनेछः
छोरी आमाको विरुद्धमा हुन्छे।
आमा छोरीको विरुद्धमा हुन्छे।
सासू र बुहारी माझ फाटो आउनेछः
बुहारी सासूको विरूद्धमा हुन्छे।
सासू बुहारीको विरुद्धमा हुन्छे।”
समयलाई बुझ्नु
(मत्ती 16:2-3)
54 येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, ‘आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ, 55 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, ‘अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ। 56 तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बुझ्नु।
आफ्नो समस्याहरू समाधान गर
(मत्ती 5:25-26)
57 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ? 58 मानिलेऊ, कुनै मानिससँग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ। 59 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुट्करा पाउनेछैनौं।”
तिम्रो हृदय परिवर्तन गर
13 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए। 2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? 3 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। 4 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? 5 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”
अनुपयोगी रुख
6 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। 7 त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? 8 तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्। 9 हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’”
येशूले विश्रामको दिन एउटी स्त्रीलाई निको पार्नु हुन्छ
10 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो। 11 सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी। 12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।” 13 येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।
14 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।”
15 प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ? 16 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?” 17 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।
परमेश्वरको राज्य के जस्तो होला?
(मत्ती 13:31-33; मर्कूस 4:30-32)
18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? 19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? 21 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।”
साँघुरो ढोका
(मत्ती 7:13-14,21-23)
22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। 23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”
येशूले भन्नुभयो, 24 “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। 25 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” 26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। 27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। 29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। 30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
यरूशलेममा येशूको मृत्युको भविष्यवाणी
(मत्ती 23:37-39)
31 त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ 33 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।
34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”
के विश्रामको दिनमा उपचार गर्नु उचित छ?
14 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए। 2 एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो। 3 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?” 4 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो। 5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” 6 ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।
आफ्नै प्रशंसा नगर
7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः 8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ। 9 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
10 “यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’ 11 किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।”
तिमीहरूलाई इनाम मिल्नेछ
12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। 13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। 14 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
महाभोजको एउटा दृष्टान्त
(मत्ती 22:1-10)
15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो। 17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ 18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’ 19 अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’ 20 तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’
21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’
22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ 23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, 24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’”
तिमी पहिला योजना बनाऊ
(मत्ती 10:37-38)
25 धरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्नुयो, 26 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ। 27 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। 29 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। 30 तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन। 32 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
आफ्नो प्रभाव नहराऊ
(मत्ती 5:13; मर्कूस 9:50)
34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन। 35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्।
“जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
स्वर्गमा आनन्द
(मत्ती 18:12-14)
15 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबरू सुन्न आए। 2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”
3 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः 4 “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। 5 अनि जब उसले हराएको भेंडा़ पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेंडा़लाई आफ्नो काँधमा बोकेर ल्याउनेछ। 6 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’ 7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
8 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे। 9 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’ 10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अघि खुशी छाउँछ।’”
उड़न्ता पुत्र
11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। 14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। 16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17 “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।
छोरो फर्किन्छ
“जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। 24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
जेठो छोरोको आगमन
25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। 26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ 27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। 29 त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। 30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’
31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”
असल सम्पत्तिन
16 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो। 2 यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’
3 “त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। 4 म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’
5 “यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ 6 त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’
7 “त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।’
8 “पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
9 “म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। 10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। 11 यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ 12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?
13 “एकै समयमा एउटा नोकरले दुइजना मालिकको सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”
परमेश्वरको नियम परिवर्त्तन हुँदैन
(मत्ती 11:12-13)
14 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे। 15 येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाउँछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
16 “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन् 17 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
छुटानामा र पुनर्विवाह
18 “यदी कुनै मानसले आफ्नो पत्नीसँग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”
धनी मानिस र लाजरस
19 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। 20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। 21 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।
22 “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। 23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। 24 त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’
25 “तर अब्राहमले भने, ‘हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। 26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’
27 “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। 28 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।
29 “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’
30 “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’
31 “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’”
पापको कारण नबन र सधैँ क्षमा गर्न तयार होऊ
(मत्ती 18:6-7,21-22; मर्कूस 9:42)
17 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। 2 त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। 3 यसकारण होशियार बस।
“यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। 4 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
तिम्रो विश्वास कति ठूलो छ?
5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
6 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।
विश्वासी नोकर हुने चेष्टा गर
7 “मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? 8 अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ 9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। 10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”
धन्यवादी बन
11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। 12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”
जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। 15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। 16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। 17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? 18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” 19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
परमेश्वरको राज्य तिमीभित्रै छ
(मत्ती 24:23-28,37-41)
20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”
येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। 21 मानिसहरूले भन्ने छन्, ‘हेर परमेश्वरको राज्य यहाँ छ!’ अथवा, ‘त्यहाँ छ!’ होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।”
22 तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ। 23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर्, यो त्यहाँ छ!’ अथवा हेर, ‘यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
24 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। 25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
26 “मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो। 27 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।
28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। 29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। 30 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ।
31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। 32 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
33 “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। 34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। 35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” 36 [b]
37 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”
येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”
परमेश्वरले मानिसहरूलाई उत्तर दिन्छन्
18 त्यसपछि येशूले चेलाहरूलाई सधैँ प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो, 2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्। 3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’ 4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन। 5 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’”
6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ। 7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। 8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
परमेश्वरसँग ठीक बस
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः 10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए। 11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन। 12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’ 14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
परमेश्वरको राज्यमा को पस्न पाउने छ?
(मत्ती 19:13-15; मर्कूस 10:13-16)
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। 16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो। 17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”
एकजना धनी मानसद्वारा येशूलाई एउटा प्रश्न
(मत्ती 19:16-30; मर्कूस 10:17-31)
18 एकजना यहूदी अगुवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ। 20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झूटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’(C)”
21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”
22 जब येशूले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछ्याऊ!” 23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ। 25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
कसले चाँहि उद्धार पाउँछ?
26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ 30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैँको लागी बस्ने मौका पाउनेछ।”
येशू आफ्नो मृत्यु बारे फेरि चर्चा गर्नुहुन्छ
(मत्ती 20:17-19; मर्कूस 10:32-34)
31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्। 32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। 33 तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” 34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
येशूद्वारा अन्धो मानिस निको
(मत्ती 20:29-34; मर्कूस 10:46-52)
35 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो। 36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
37 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।”
38 त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!”
39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, 41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ?”
त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
42 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
जक्कै
19 येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो। 2 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। 3 तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। 4 अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।
5 जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”
6 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। 7 सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”
8 जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।”
9 येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। 10 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।”
परमेश्वरले दिनुभएको चीजहरू प्रयोग
(मत्ती 25:14-30)
11 येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ। 12 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए। 13 यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।’ 14 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।’
15 “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ‘ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।’ 16 पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’ 17 राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’ 19 राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’
20 “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। 21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’
22 “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु। 23 यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ 24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’
25 “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’
26 “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ। 27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’”
येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको
(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)
28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”
32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,
“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’(D)
स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”
39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
यरूशलेमकोलागि येशूको बिलौना
41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। 42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। 43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। 44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-17; मर्कूस 11:15-19; यूहन्ना 2:13-22)
45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। 46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’(E) तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।(F)”
47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। 48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।
यहूदी प्रमुखहरूद्वारा येशूलाई प्रश्न
(मत्ती 21:23-27; मर्कूस 11:27-33)
20 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। 2 तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”
3 येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन: 4 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?”
5 तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’ 6 तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो’, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।” 7 अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”
8 यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”
परमेश्वरले पुत्रलाई पठाउँछन्
(मत्ती 21:33-46; मर्कूस 12:1-12)
9 त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए। 10 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो। 11 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए। 12 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए।
13 “त्यो खेतको मालिकले भन्यो, ‘अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।’ 14 जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाम्र मालिकको छोरो हो।’ 15 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे।
“यो खेतको मालिकले अब के गर्नेछ? 16 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।”
मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अँहँ! यस्तो कहिल्यै नहोस्।” 17 तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं,
कुनाको शिर ढुङ्गा बन्यो’?(G)
18 प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”
19 येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसँग डराए।
© 2004, 2010 Bible League International