Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 42 - भजनसंग्रह 24

अय्यूबले परमेश्वरलाई जवाफ दिदँछ

42 तब अय्यूबले परमेश्वरलाई जवाफ दिए:

“परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ।
    तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।
परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो, जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’
    परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ।
    मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो।

“परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अय्यूब, म भन्ने छु।
    म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’
परमप्रभु, बितेका दिनहरूमा, मैले तपाईं बारे सुनेको थिएँ
    तर अहिले तपाईंलाई मेरै आँखाले देखें।
अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ।
    परमप्रभु, म अत्यन्त दुःखी छु।
मैले जे गरें त्यसको पश्चातापका निम्ति
    मैले आफैंलाई धूलो र खरानीले पुर्दैछु।”

परमप्रभुले अय्यूबका सम्पत्ति फिर्ता दिनुभयो।

अय्यूब सँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ। यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेंडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नामाहबाट आएका सोपरले परमप्रभुको आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।

10 अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो। 11 तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए।

12 परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशीर्वाद दिनुभयो। अय्यूबले 14,000 भेंडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए। 13 अय्यूबले सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए। 14 अय्यूबले जेठी छोरीको नाउँ यमीमा माइली छोरीको नाउँ कसीआ र कन्छी छोरीको नाउँ केरेन-हप्पूक राखे। 15 अय्यूबका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अय्यूबले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए। प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए।

16 यसकारण अय्यूब अझ एक सय चालीस बर्षसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातिनीहरू, खनाति-खनातिनीहरू सबै हेर्न पाए। 17 अय्यूब अत्यन्त पूरा बूढेसकाल सम्म दीर्धायु भएर मरे।

पहिलो भाग

(भजनसंग्रह 1–41)

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
    पापीहरूको जस्तो जीवन बिताउँदैन,
    अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
    ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
    ऊ ठीक समयमा फल दिने रूख सरह हो।
    ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
    दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
    ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
    तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
    किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
    र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
    तिनीहरूबाट अलग हौं।”

तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
    परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
तब परमेश्वर रिसाउनु हुन्छ,
    अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
    अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
    सियोन मेरो एक विशेष पर्वत हो।”

अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
    तिमी मेरा पुत्र भयौ।
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
    अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
    माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”

10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
    र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
    र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
    तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
    परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।

हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
    धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
    परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
    तपाईंले मलाई महान् बनाउनु भयो।

म परमप्रभुलाई प्रार्थना गर्नेछु
    र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।

म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
    किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
    तर म ती शत्रुहरूदेखि डराउने छैन!

हे परमप्रभु, उठ्नु होस्!
    हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
    तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

हे परमप्रभु, विजय तपाईंको हो!
    आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।

प्रमुख संगीतकारको लागिः तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।

हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु
    मलाई जवाफ दिनुहोस्।
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्!
    मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?
    मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ।
    त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।
    यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।
    जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,
    र उहाँमा भरोसा राख।

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?”
    हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!
हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो।
    जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।
    किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
    र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
हे मेरा राजा, हे मेरा परमेश्वर,
    मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
    र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
    तिनीहरू तपाईंको आदर गर्दैनन्।
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
    तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।

तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
    यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
ती मानिसहरू सत्य बोल्दैनन्।
    तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
    तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
    तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
    यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
    परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
    तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
    तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
हे परमप्रभु, ममाथि दया राख्नुहोस्
    कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
    मेरो हड्डीहरू दुःखीरहेका छन्।
    मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
    तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
    मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
    यसैले मलाई निको पार्नुहोस्!

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
    मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
    म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
    त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
    अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।

दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
    किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।

10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
    अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
    ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
    मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
    म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
    म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
    मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
    मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
    मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
    हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
    परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
    मेरो न्याय गर्नुहोस्।
    म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
    अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
    मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
    यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
    उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
    यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
    परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
    अनि काँड हान्न तयार हुनुहुन्छ।

14 दुष्ट मानिसहरूले दिएको कष्ट
    र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
    यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
    दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
    जो अरूको लागि कपटी छन्।
    तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
    तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
    तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
    जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।

हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
    अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
    किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
    किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
    अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
    तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
    र माछाहरूमाथि पनि अधिकार गर्छन्।
हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

प्रमुख संगीतकारलाईः अलामौथ ‘बिन’ रागमा गाउने दाऊदको भजन।

म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
    हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
    तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
    तर तिनीहरू लडे र नष्ट भए।

तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।
    हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
    हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
    तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
    अब, खाली भग्नावशेष मात्र छाडिएका छन्।
    ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ।
    परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
    उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
धेरै मानिसहरू संकष्टमा फँसेका छन्
    र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
    परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
    तपाईंमाथि भरोसा राख्ने नै छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
    तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
    अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
    जसले उहाँलाई गुहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
    अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
    मेरो शत्रुहरूले मलाई सताइरहेछन्,
    ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
    परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”

15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए,
तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने।
    तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्।
    अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ,
    यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन्
    तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो।
    यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन।
    तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्।
    तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
20 मानिसहरूलाई शिक्षा दिनुहोस्।
    तिनीहरूले जान्न सकुन् कि तिनीहरू मानिस मात्र हुन्।

हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ?
    दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।
    अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्।
    ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।
    तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्।
    तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्,
    परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन।
    तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
ती मानिसहरू सधैँ सरापी रहन्छन।
    तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन।
    तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्,
    तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्
    जसले जनावर पक्रेर खान्छ।
तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्।
    गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
10 घरि-घरि ती दुष्ट मानिसहरूले
    असहाय मानिसहरूलाई कष्ट दिंदछन्।
11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।
    हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो।
    हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”

12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!
    हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्,
    असहायहरूलाई नबिर्सनु होस्।

13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?
    किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,
    अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ!
समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्।
    हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ,
    जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ।

15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।
    खराब मानिसको दुष्टता खोज्नुहोस्
    र उनीहरूको विनाश गर्नुहोस्।
16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।
    तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्!
17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।
    उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्।
    दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्।
    दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ?
    किन तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ?”

दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्।
    तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर,
    धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्।
के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने!
    तब असल मानिसहरूले के गर्नु पर्ला?

परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
    परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।
अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल
    अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ
    तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।
उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउँनु हुन्छ,
    ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।
तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ।
    धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।

प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।

हे परमप्रभु मलाई बचाउँनु होस्!
    अब धार्मिक मानिसहरू छैनन्।
    त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
    प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
    परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
    के भन्नु पर्ने हामी जान्दछौं,
    यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
तर परमप्रभु भन्नुहुन्छ,
    “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
    तर म ती असहाय मानिसहरूको
    पक्ष लिएर लडाइईँ गर्नेछु।”
परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
    तातो आगोमा बिलाएको चाँदी जस्तो,
    तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
    तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
    तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
    जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

प्रमुख संगीतकारलाईः दाऊदको भजन।

हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
    के मलाई सदाको लागि बिर्सनु हुन्छ?
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?[a]
कहिलेसम्म म अन्योलमा परूँ,
    कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
    मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”
    यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।

हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।
    तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
म परमप्रभुको लागि सुखको गीत गाउने छु,
    किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।

प्रमुख संगीतकारलाईः दाऊदको भजन।

मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।”
    मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्।
    ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर
    स्वर्गबाट तल हेर्नुहुन्छ।
    ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए
    र दुष्ट भइसके।
कुनै एकजना मानिसले पनि
    राम्रो काम गरेको छैनन्।

दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्।
    दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ,
    तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।
दुष्ट मानिसहरू प्रशस्त भयग्रस्त छन्।
    किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्।
दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्।
    तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ।

सियोनमा इस्राएललाई बचाउने को छ?
    परमेश्वर बाहेक कोही पनि छैन!
परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो।
    तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ,
    तब याकूब (इस्राएल) खुशी हुनेछ।

दाऊदको भजन।

हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
    तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
    जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
    उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
    उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
    जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
    यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
उसले कसैलाई ऋण दिन्छ
    तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
    यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने

ऊ सदा परमेश्वरको नजिक हुनेछ।

दाऊदको मिक्ताम भन्ने भजन।

हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
मैले परमप्रभुलाई भने,
    “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
    अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
    परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
    तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
    म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
    हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
    तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
मेरो भाग आश्चर्यपूर्ण छ,
    मेरो उत्तराधिकार अति सुन्दर छ।
म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
    राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

परमप्रभुलाई मैले सधैँ
    आफू समक्ष राखेको छु
    र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
    अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[b] छोड्नु हुनेछैन।
    तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
    तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
    तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

दाऊदको प्रार्थना।

हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
    म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
    यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
    किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
    तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
    मैले कुनै खराब योजना बनाइनँ।
मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
    त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
मैले तपाईंको पथ अनुशरण गरेकोछु।
    मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
    तपाइँले मलाई जवाफ दिनुभयो।
    यसैले अब मेरो कुरा सुन्नु होस्।
हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
    जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
    त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
    तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
    मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
    तिनीहरू साह्रै अहंकारी छन्।
    तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
    अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
    तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।

13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
    तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
    तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14     हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
    तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
    हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।

उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
    तपाईं मेरो शक्ति हुनुहुन्छ।”

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
    परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ।

मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
    अनि म मेरो शत्रुहरूबाट बाँचे।
    तर तिनीहरूले खिल्ली उडाए।
मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।
    म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,
    मृत्युको पासो मेरो सम्मुख थियो।
म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
    हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो।
    उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
पृथ्वी थर्कियो र काम्यो;
    पर्वतहरूको जग हल्लियो।
    किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।
    परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला
    अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
परमप्रभुले आकाश च्याति दिनु भयो,
    अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।
    उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो
    उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!
13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
    सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
    त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।
14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
    परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
    अनि शक्तिशाली हावा बहन थाल्यो।
पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं।
    हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
    परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
    मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
    तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
    उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
    मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!
    मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
    म उहाँको नियमहरू मान्दछु!
23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
    मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ।
    यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।

25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।
    यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
    तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
    मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
    परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

30 परमेश्वरको शक्ति पूर्ण छ।
    उहाँको वचन प्रमाणित भएको छ।
    उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
    त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
    उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
    उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
    यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।

35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
    तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
    तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
    यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु
    तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
    सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
    युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने
    र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
    तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
    तिनीहरूले परमप्रभुलाई समेत गुहारे,
    तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।
    तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
    मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।

43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्।
    मलाई जातिहरूका अगुवा बनाउनु होस्।
    मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।
44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
    ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
45 ती विदेशीहरू डरले काम्नेछन्।
    तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।

46 परमप्रभु जीवित हुनुहुन्छ,
    म मेरो चट्टानलाई प्रशंसा गर्छु।
    किनभने उहाँ महान् हुनुहुन्छ!
47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
    उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48     हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,

तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
    मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
    यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।

50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!
    उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
    उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
    आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
    अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
    उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
    तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।

घामको लागि आकाश घर सरह हुन्छ।
    घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
    आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
    यसको तापबाट केही पनि लुक्दैन।
    परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
    तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
    यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
परमप्रभुका विधिहरू सही छन्।
    तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
    तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
    जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
    तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
    तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
    यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
    यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
    ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
    परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
    याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
    उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
    उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
    उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
    परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
    परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
    परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
    तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
    तर हामीले जित्यौं! हामी विजेता हौं।

परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
    परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
    जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
    हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
    तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
    तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
    तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
    जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
राजाले परमप्रभुमाथि भरोसा राख्छ।
    सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
    जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
    तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
    उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
    आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
    तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
    तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
    तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
    तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
    हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।

हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
    मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ!
    तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
    अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।

हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।
    इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
    हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
    तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
यसकारण के म कीरा हुँ मानिस होइन?
    मानिसहरू मबाट लज्जित छन्।
    तिनीहरूले मलाई निन्दा गर्छन्।
प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
    उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,
    हुन सक्छ तिमीलाई उनले बचाउलान।
    यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”

हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।
तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
    जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
    म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।

11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
    सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
12 मानिसहरू मेरो चारैतिर छन्।
    तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
13 तिनीहरूले मलाई गर्जंदै
    शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

14 मेरो शक्ति क्षीण भएको छ
    जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मै हाडहरू अलग भइसकेको छन्।
    मेरो आँट हराई सक्यो!
15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।
    मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
    तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
16 ती “कुकुरहरू” मेरो वरिपरि छन्।
    ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्।
    तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।[c]
17 म मेरो हाडहरू देख्न सक्छु
    अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
    तिनीहरूले मलाई हेरिरहेका छन्!
18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
    तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
    मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
    मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
    साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
    महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
    हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
    हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
    परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
    यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
    उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
    ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
    तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
    तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
    र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
    उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
    वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
    तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
    मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
    परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

दाऊदको भजन।

परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[d]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

दाऊदको भजन।

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
    यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
    उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

परमप्रभुको पर्वतमाथि को जान सक्छ?
    उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
    मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
    मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
    अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।

असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
    ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
    तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।

हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
    सनातनका द्वारहरू, खोल,
    अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
महिमाका महाराज को हुनुहुन्छ?
    परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
    परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।

हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
    सनातनका द्वारहरू खुल्ला होऊ,
    र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
    सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International