Bible in 90 Days
खतना करारको प्रमाण
17 जब अब्राम 99 बर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर। 2 यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरू व्यापक संख्यामा बढाउनेछु।”
3 तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो। 4 “यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु। 5 तिम्रो नाउँ अब्राम रहने छैन-तिम्रो नाउँ अब्राहाम हुनेछ। म तिमीलाई यो नाउँ राख्दैछु कारण तिमीलाई म धेरै-धेरै जाति-समूहहरूको पिता बनाउँदैछु। 6 म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्। 7 म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैँको निम्ति रही रहनेछ। 8 अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैँका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”
9 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्। 10 तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ। 11 तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्। 12 जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ। 13 यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ। 14 जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”
इसहाक-प्रतिज्ञाका पुत्र
15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। 16 म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”
17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”
18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”
19 परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”
20 “तैंले इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ। 21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।”
22 परमेश्वर अब्राहामसित कुरा गरिसकेपछि स्वर्गमा जानु भयो। 23 परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई सँगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि सँगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।
24 जब खतना गरियो अब्राहाम उनन्सय बर्षका र 25 तिनको छोरो इश्माएल तेह्र बर्षका थिए। 26 तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो। 27 त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो।
तीनजना पाहुनाहरू
18 पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए। 2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे। 3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्। 4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्। 5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।”
तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”
6 अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाँडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।” 7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए। 8 अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यहीं उभिरहे।
9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”
अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”
10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”
साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। 11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। 12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। 14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।
तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”
16 तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।
परमेश्वरसित अब्राहामको अर्न्तबिन्ती
17 परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ? 18 अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्। 19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। 21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”
22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। 23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? 24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? 25 साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रम्हाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ 28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”
29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”
30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”
परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”
31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”
32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।
लूतका पाहुनाहरू
19 साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखे र भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे। 2 तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यहीं बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”
ती स्वर्गदूतहरूले भने, “अँहँ हामी बाटोमै रात बिताउनेछौं।”
3 तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।
4 तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे। 5 तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”
6 तब लूत बाहिर निस्केर घरको ढोका लगाए। 7 त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर। 8 सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”
9 घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।
10 तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने। 11 त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।
सदोमबाट भागे
12 तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोड्नु भनीदेऊ, 13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”
14 तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।
15 अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”
16 तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो। 17 यसर्थ ती दुइ स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फर्केर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”
18 तर लूतले ती दुइ स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्। 19 म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु। 20 हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”
21 स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन। 22 तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुन्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)
सदोम र गमोराको विनाश
23 घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए। 24 त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो। 25 यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।
26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।
27 त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए। 28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयङ्कर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।
29 त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।
लूत अनि तिनका छोरीहरू
30 लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए। 31 एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कहीं पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन। 32 यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौं।”
33 त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।
34 अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।” 35 त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साह्रो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।
36 लूतका दुबै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए। 37 जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्। 38 सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।
अब्राहाम गरार तिर जान्छन्
20 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ। 2 जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए। 3 तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
4 तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ? 5 अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”
6 त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। 7 यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”
8 यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए। 9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो। 10 तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”
11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचें यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ। 12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। 13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’”
14 तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेंडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए। 15 अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यहीं बस्न सक्छौ।”
16 सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”
17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो। 18 किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।
अन्तमा साराको निम्ति एउटा बालक
21 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। 2 सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। 3 साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। 4 परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
5 अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। 6 अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। 7 कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
घरैमा कष्ट
8 इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए। 9 एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। 10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ। 13 तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।
15 केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। 16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
17 परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। 18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”
19 परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
20 जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। 21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो।
अबीमेलेकसित अब्राहामको सन्धि
22 त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ। 23 यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”
24 अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।” 25 तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।
26 तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”
27 यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेंडाहरू र गाई वस्तुहरू दिए। 28 अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।
29 अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”
30 अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”
31 यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
32 यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
33 अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैँ जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। 34 अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै बर्षसम्म पलिश्तीहरूको देशमा बसे।
अब्राहाम, तेरो छोरोलाई मार
22 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”
अनि अब्राहामले भने, “हजुर!”
2 तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
3 बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। 4 तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। 5 त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”
6 अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।
7 इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!”
अब्राहामले उत्तर दिए, “भन, छोरा।”
इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”
8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”
यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। 9 तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। 10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।
11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”
अब्राहामले उत्तर दिए, “हजूर।”
12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”
13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।”
15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। 17 म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। 18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”
19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।
20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए। 21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्। 22 तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।” 23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए। 24 नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।
साराको मृत्यु
23 सारा एक सय सत्ताईस बर्षसम्म बाँचिन्। 2 अनि कनान देशको किर्य-तअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए। 3 त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए। 4 उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कहीं जग्गा छैन, म अलिकति जग्गा चाहन्छु ताकि म त्यो लाश गाड्न सकुँ।”
5 ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए, 6 “महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाड्न यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”
7 अब्राहाम उठे अनि मानिसहरूको सामुन्ने शिर निहुराए। 8 तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्। 9 उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।”
10 एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो। 11 “होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”
12 तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए। 13 ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।”
14 एप्रोनले अब्राहामलाई उत्तर दियो, 15 “हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”
16 अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।
17-18 यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे। 19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे। 20 अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कानूनी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।
इसहाककी पत्नी
24 अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो। 2 अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख। 3 अब म चाहन्छु तैंले मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्। 4 तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”
5 त्यस नोकरले अब्राहामलाई भने, “हुन सक्छ कन्याले मसँग यहाँ आउने इच्छा गरिनन् भने के म तपाईंको छोरोलाई मेरो देशमा लैजाउँ?”
6 अब्राहामले उसलाई भने, “होइन, तैंले मेरो छोरोलाई त्यस देशमा नलैजा। 7 परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैंले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउन् ताकि मेरो छोरोले बेहुली रोज्न सक्छ अनि यहाँ ल्याउँछ। 8 तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरालाई न लैजाऊ।”
9 यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।
खोज शुरू हुन्छ
10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो। 11 त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।
12 त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्। 13 म यहाँ पानीको कूवाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्। 14 म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”
एउटी दुलही पाइयो
15 तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन। 16 तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्। 17 तब त्यो नोकर त्यस केटी भएकोमा दगुरेर पुग्यो अनि भने, “दया गरी तिम्रो गाग्रीबाट मलाई पानी पिउन देऊ।”
18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ। 19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।” 20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।
21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो। 22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो। 23 त्यस नोकरले उसलाई सोध्यो, “तिम्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?”
24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।” 25 उनले फेरि भनिन्, “हजुर हामीसँग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”
26 त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो। 27 त्यसले भने, “परमप्रभु मेरा मालिकका परमेश्वर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”
28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई। 29 रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई। 30 लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो। 31 लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिनुहोस्, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”
32 यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसँग थिए आफ्नो गोडा धुन सकुन्। 33 लाबानले त्यस नोकरलाई खानु पनि दियो तर उनले खानु मानेन र भने, “म यहाँ किन आएको हुँ, जबसम्म म त्यो बताउँदिन, म खाने छैन।”
यसकारण लाबानले भने, “तब हामीलाई भन्नुहोस्, किन आउनु भएको हो?”
रिबेकाको विषयमा कुराकानी
34 त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ। 35 परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै-धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्। 36 सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन् अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसँग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्। 37 मेरा मालिकले मलाई एउटा शपथ गर्न कर लाउनु भयो। मेरो मालिकले मलाई भन्नुभयो, ‘तिमीले मेरो छोरोलाई कनानी केटी विवाह गर्न नदिनु। हामी यद्धपि तिनीहरूकै माझमा बस्छौं तर म छोरोले कनानी केटी विवाह नगरोस् भन्ने चाहन्छु। 38 यसर्थ तिमी मेरो आफ्नो पिताको भूमिमा जानेछौ र हाम्रो सन्तान भित्रबाट उसको निम्ति एउटी कन्या केटी रोजेर ल्याउने छौ।’ 39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’ 40 तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाईं सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तैंले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्। 41 तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’
42 “आज मैले यो कूवामा आएर परमप्रभुसित बिन्ती गरें ‘हे परमप्रभु, मेरा मालिकका परमेशवर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्। 43 यहाँ यस कूवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पर्खिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गाग्रोबाट पानी पिउन दिनु होस्।” 44 योग्य केटीले विशेष प्रकारले उत्तर दिन्छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’
45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें। 46 उनले झट्टै आफ्नो काँधबाट गाग्रो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’ 47 त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ। 48 मैले मेरो शिर झुकयाएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेशवरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ। 49 अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? मलाई भन्नु होस् त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”
50 त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं। 51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”
52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो। 53 त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो। 54 त्यसपछि त्यो नोकर र ऊसँगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”
55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”
56 तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।”
57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।” 58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?”
रिबेकाले भनिन्, “अँ, म जान्छु।”
59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्। 60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,
“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन,
र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”
61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे।
62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो। 63 एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।
64 रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्। 65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?”
त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।
66 जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो। 67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।
अब्राहामको परिवार
25 अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो। 2 कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्। 3 योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्। 4 एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए। 5-6 अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।
7 अब्राहाम एक सय पचहत्तर बर्षसम्म स्वस्थ थिए। 8 त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै बर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो। 9 तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो। 10 यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे। 11 अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।
12 इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन् 13 इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम, 14 मिश्मा, दुमा, मस्सा, 15 हदद, तेमा, यतूर, नपीश अनि केदमा थिए। 16 तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए। 17 इश्माएल एक सय सैंतीस बर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो। 18 इश्माएलका सन्तानहरू समस्त मरुभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।
इसहाकको परिवार
19 इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो। 20 जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्। 21 इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।
22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” 23 परमप्रभुले उनलाई भन्नुभयो,
“तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्।
दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्,
र तिनीहरू छुट्टीनेछन्।
एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ
अनि जेठाले कान्छाको सेवा गर्नेछ।”
24 अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्। 25 पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो। 26 जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी बर्ष पुगेका थिए।
27 केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो। 28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।
29 एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो। 30 यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)
31 तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”
32 एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”
33 तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो। 34 तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो जेष्ठ-अधिकारको कुनै पर्वाह छैन।
इसहाकले अबीमेलेकसित झूटो कुरा गर्छन
26 एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए। 2 परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु। 3 त्यहीं देशमा बस तब म तँलाईं सहायता गर्नेछु। म तँलाईं आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ। 4 म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्। 5 म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे-जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”
6 इसहाक गरारमै बसे। 7 इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।
8 जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे। 9 अबीमेलेकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैंले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस्?”
इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।”
10 अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”
11 तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।”
इसहाक धनी बनिन्छन्
12 इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस बर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो। 13 इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसँग धेरैभन्दा धेरै सम्पत्ति भएन। 14 ऊसित धेरै बगाल अनि हूल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा घेरै नै थिए। सबै पलिश्तीहरू ऊसँग आरीस गर्थे। 15 यसैले धेरै बर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए। 16 अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”
17 यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे। 18 त्यस समयभन्दा धेरै अघि अब्राहामले धेरै कूवाहरू खनाएका थिए। जब अब्राहामको मृत्यु भयो, पलिश्तीहरूले सबै कूवाहरूमा माटो हालेर पुरिदिए। यसर्थ इसहाक त्यहाँ गएर फेरि ती कूवाहरू खानाए अनि उनका बाबु अब्राहामले जे-जे नाउँ ती कूवाहरूको राखेका थिए तीनै नाउँ राखे। 19 इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो। 20 तर जो मानिसहरूले गरार बेंसीमा भेंडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा़ गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा़ गरेका थिए।
21 त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक कूवा खने। त्यस जग्गाका मानिसहरूले पनि त्यस कूवाको निम्ति झगडा़ गरे। यसर्थ इसहाकले त्यस कूवाको नाउँ पनि सित्ना राखे।
22 इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा़ गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”
23 त्यस भूमिबाट इसहाक बेर्शेबा गए। 24 त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।” 25 यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।
26 अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसँग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।
27 इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”
28 उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ। 29 हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”
30 त्यसकाराण इसहाकले तिनीहरूलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए। 31 अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के।
32 त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको कूवाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती कूवाहरूबाट पानी पियौं।” 33 यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ।
एसाव र उनका पत्नीहरू
34 जब एसाव चालीस बर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्। 35 यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।
पैतृकधनखी समस्या
27 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”
एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
2 इसहाकले भने, “हेर, म बूढो भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु। 3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर। 4 मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।” 5 यसर्थ एसाव शिकार खेल्न गए।
जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ। 6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें। 7 तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’ 8 यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर। 9 आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्। 10 त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”
11 तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन। 12 यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसँग हिंड्ने प्रयत्न गरे।”
13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्। 15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्। 16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई। 17 तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।
18 याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”
अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”
19 याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”
20 तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”
याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”
21 तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”
22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” 23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।
24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”
याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
याकूबको निम्ति आशीर्वाद
25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।
26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई चुम्बन गर्”। 27 तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,
“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको
खेतको सुगन्ध झैं होस्।
28 परमप्रभुले तँलाईं धेरै बर्षा दिऊन्
जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
29 सबै मानिसहरूले तेरो सेवा गरून्।
राष्ट्र तेरो अघि झुकोस्।
तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्।
तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्।
“प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ,
अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
एसावलाई “आशीर्वाद”
30 इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए। 31 एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।
32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”
उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”
33 तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”
34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”
35 इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
36 एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”
37 इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”
38 तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।
39 तब इसहाकले उनलाई भने,
“तँ मलिलो भूमिमा बस्न पाउने छैनस्।
तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।
40 तैंले बाँच्नको निम्ति सङ्घर्ष गर्नु पर्छ।
अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्।
तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्।
तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”
याकूबले देश छोड्छन्
41 यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्यन्त्र रचिरहेको छ। 43 यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक। 44 त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाड्दैन त्यतिन्जेल तँ त्यहीं बस। 45 केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”
46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”
28 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्। 2 यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती-घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्। 3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्। 4 म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”
5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।
6 एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्। 7 अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए। 8 एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्। 9 एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसँग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्।
परमेश्वरको घर-बेतेल
10 याकूब बर्शेबा छोडेर हारानतिर लागे। 11 याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे। 12 याकूबले सपना देखे। एउटा सिंढ़ी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंढ़ीमा तल र माथि गरिरहेको देखे। 13 याकूबले स्वर्गदूतहरूलाई यस सिंढ़ी चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु। 14 तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।
15 “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोड्ने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”
16 तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”
17 याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”
18 अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्यस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए। 19 पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।
© 2004, 2010 Bible League International