Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 15:19-28:43

19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूख्खा भूमिमा हिँडे।

20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन् मरियम र अरू स्त्रीहरू गाउन र नाँच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।

21 “परमप्रभुप्रति गीत गाऊ!
    उहाँले महान कार्य गर्नु भएको छ।
उहाँले घोडाहरू र सवारहरूलाई
    समुद्रमा फ्याँकिदिनु भयो।”

इस्राएलीहरू मरुभूमितिर जान्छन्

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। 23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)

24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।

त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। 26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

इस्राएलीहरूले गुनासोगरे, अनि परमप्रभुले खाना पठाउनु भयो

16 त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे। इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”

तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”

तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”

10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।

11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”

13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो! 16 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेर[b] खाध्य जम्मा गर्नु पर्छ।’”

17 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले। 18 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।

19 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।” 20 तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसँग रिसाए।

21 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।

22 छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुइ डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।

23 मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य बटुल्न सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”

24 तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्य बिग्रिएन, कुनैमा किरा परेन।

25 शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ। 26 तिमीहरूले हप्तामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौं दिन विश्रामको दिन हो यसकरण भूईंमा केही कुनै विशेष खाद्य हुनेछैन।”

27 केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्। 28 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्? 29 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।” 30 यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न”। भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पातलो रोटी जस्तै स्वादिलो थियो। 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”

33 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।” 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे। 35 इस्राएलीहरू 40 बर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुन्जेल मन्न खाए। 36 (प्रायः एक ओमेर अर्थात एपाको दशौं भागको भाँडोद्वारा तिनीहरूले मन्न जोखे।)

चट्टानबाट पानी

17 सीनैको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन। यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”

मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून् भनी लिएर आएका हौ?”

अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ। म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”

मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे। मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।

अमालेकी मानिसहरूसँग युद्ध

रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे। यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीहरूलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्री रहनेछु।”

10 यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए। 11 केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

12 केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउन्जेलसम्म माथि उठाई राखे। 13 यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।” 16 मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैँ गर्नु हुन्छ।”

मोशालाई उनका ससुराबाट सल्लाह

18 मोशाका ससुरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने। यसर्थ यित्रो मोशा कहाँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोराहलाई पनि सँगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए। यित्रोले मोशाका दुइ छोराहरूलाई पनि सँगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।” अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।” यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरुभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।

यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससुरा यित्रो हुँ। म तिमी कहाँ तिम्री पत्नी र दुवै छोराहरूलाई लिएर आउँदैछु।”

यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपुछ गरे। तिनीहरू मोशाको पालमा गए। मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सङ्कट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।

परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए। 10 यित्रोले भने,

“परमप्रभुको स्तुति होस!
    उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो।
    परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।
11 अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए,
तर परमप्रभुले के गर्नु भयो?”

12 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससुरा यित्रोसित परमेश्वरसँगै भोजन गरे।

13 अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।

14 मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”

15 तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्। 16 यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”

17 तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन। 18 एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्। 19 अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ। 20 तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। 21 तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।

“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ। 22 यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य-भारहरू हल्का हुन्छ। 23 यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”

24 यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे। 25 उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए। 26 यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैँ आफ्नो कुराहरू लिएर आउँथे।

27 केही समय पछि मोशाले आफ्नो ससुरा यित्रोलाई विदा दिए र यित्रो फर्केर आफ्नो घर गए।

इस्राएलसित परमेश्वरको करार पत्र

19 इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”

मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”

त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।”

त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।

10 अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ। 11 अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। 12-13 तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।”

14 यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।

15 तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।”

16 तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। 17 तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। 18 सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। 19 तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।

20 अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।

21 परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। 22 पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।”

23 मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।”

24 परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।”

25 यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।

दश आज्ञाहरू

20 तब परमप्रभुले भन्नुभयो,

“म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।

“तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।

“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। हप्तामा छ दिन आफ्नो काम गर। 10 तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। 11 किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

12 “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्नु पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

13 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

14 “तिमीले व्यभिचार गर्नु हुँदैन।

15 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।

16 “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।

17 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”

मानिसहरू परमेश्वरसित डराउँछन्

18 यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे। 19 तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसँग कुरा नगरून्। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

20 तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

21 जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए। 22 तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे। 23 यसकारण म सँग-सँगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

24 “मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेंडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशीर्वाद दिन्छु। 25 यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ। 26 वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन। तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”

अरू नियम अनि आज्ञाहरू

21 त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;

“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ बर्षसम्म मात्र सेवा गर्नेछन्। छः बर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन। यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ। यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’ यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन। यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ। यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।

10 “यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ। 11 मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।

12 “यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ। 13 तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्। 14 तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

15 “कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।

16 “यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।

17 “यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।

18 “मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा़ गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो। 19 यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।

20 “कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ। 21 तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।

22 “दुइ जना मानिस झगडा़ गर्न सक्छन् अनि यसरी झगडा़ गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुर्याउन सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्तारूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्। 23 तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ। 24 तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टाको सट्टामा खुट्टा। 25 डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।

26 “यदि कसैले आफ्नो कमाराको आँखो फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ। 27 यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।

28 “यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ। 29 त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। 30 तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।

31 “कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ। 32 तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।

33 “कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ। 34 इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।

35 “यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाँढ्नु पर्छ। 36 तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।

22 “यदि कसैले एउटा गोरू अथवा भेंडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेंडाको बदलामा पाँचवटा भेंडाहरू तिर्नु पर्छ। यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन। तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।

“तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ-दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेंडा जुन सुकै होस्।

“यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वरूप आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ

“एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।

“कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ। तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।

“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेंडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा़ भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

10 “कुनै एकजना मानिसले आफ्नो गधा, गोरू, भेंडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ? 11 त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन। 12 तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ। 13 यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।

14 “एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्नु पर्छ। 15 तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।

16 “यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्नु पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ। 17 यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

18 “तिमीहरूले आइमाईलाई तंत्र-मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।

19 “यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

20 “यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

21 “सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।

22 “जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन् तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन। 23 यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु। 24 अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।

25 “यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन। 26 कुनै मानिसले ऋण लिँदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ 27 किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्न सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।

28 “तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

29 “बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाऊनु पर्छ। यसो गर्नमा ढिलो नगर्नु।

“तिमीहरूका जेठा छोरा मलाई चढाऊ। 30 तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसँग सात दिनसम्म बसुन्, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।

31 “तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।

23 “कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूटो बोलेर दुष्ट मानिसहरूलाई सघाउनमा सहमत नहोऊ।

“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

“मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।

“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

“यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्‌यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।

“गरीब मानिससति न्यायालयमा अन्याय नगर।

“कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।

“घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

विशेष छुट्टीहरू

10 “छ बर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट। 11 तर सातौं बर्षमा त्यो जमीन उपयोग नगर। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।

12 “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

13 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।

14 “प्रत्येक बर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड़ आयोजना गर्नु पर्छ। 15 जब तिमीहरूले अखमिरे रोटीको चाड़ मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामा[c] गर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।

16 “जब प्रत्येक बर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ।

“तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि बर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउँछौ त्यस समय छाप्रोवासको चाड़ मनाउनु पर्छ।

17 “यसर्थ एक बर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउनु पर्छ।

18 “जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।

19 “जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जनी परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।

“तिमीहरूले त्यस्कै माऊको दूधमा उमालेको पाठोको मासु नखानु।”

परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ

20 परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ। 21 त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससँग छ। 22 उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।

23 “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।

24 “तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ। 25 तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु। 26 तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।

27 “म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मद्दत गर्नेछु। 28 म तिमीहरूको अघि ठूलो सङ्कट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ। 29 तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै बर्षमा छोड्न बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन्। 30 जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।

31 “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरुभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।

32 “तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन। 33 तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”

परमेश्वर अनि इस्राएल तिनीहरूको करार बनाउनोछन्

24 परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ। तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”

मोशाले मानिसहरूलाई परमप्रभुले भन्नु भएको सबै आदेश र निर्देशनहरू भने। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशनहरू हामी पालन गर्नेछौं।”

अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे। तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।

मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।

मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”

तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”

तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे। 10 इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे। 11 इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले सँगै खाए अनि पिए।

मोशा परमेश्वरको आज्ञा लिन जान्छन्

12 परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”

13 यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे। 14 मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुन्जेल यहीं पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगड़ा भए हारून र हूर कहाँ लानु पर्छ।”

मोशा परमेश्वरसित भेंट गर्छन्

15 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। 16 परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासँग बादलबाट कुरा गर्नु भयो। 17 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।

18 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।

पवित्र चीजहरूको निम्ति भेटीहरू

25 परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर। ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा, निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला। रातो रंगले रंगाएको भेंडाको छाला अनि नरम चर्म, बबुलको काठ। बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला। अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”

पवित्र पाल

परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन् अनि म तिनीहरूमाझ बस्न सक्छु। त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

करारको सन्दूक

10 “बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ। 11 यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ। 12 सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ। 13 बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ। 14 सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक। 15 ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।

16 “मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख। 17 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ। 18 “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ। 19 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्। 20 करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेंटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

21 “म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ। 22 जब म तिमीलाई भेट्छु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

टेबल

23 “दुइ हात आधा लमाई, एक हात आधा चौंडाइ, र एक हात आधा उँचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ। 24 टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर। 25 तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ। 26 त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख। 27 टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर। 28 डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर। 29 शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ। 30 टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी सधैँ त्यहाँ मेरोअघि हुनु पर्छ।

सामदान

31 “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

32 “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा। 33 प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ। 34 सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ। 35 सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ। 36 कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ। 37 तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्। 38 चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ। 39 एक तोडा[d] शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ। 40 चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।

पवित्र पाल

26 “दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ। हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौंडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ। पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ। पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर। हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ। त्यसपछि ती पर्दाहरूसँगै जोड्नका लागि पचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसँगै जोडेर एउटा पवित्र पाल बनाऊ।

“तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ। यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लम्बाई र चार हात चौंडाइ गरी सबै बराबर हुनुपर्छ। पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छः वटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख। 10 एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्। 11 काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर। 12 यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ। 13 यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ। 14 बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेंडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।

15 “पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर। 16 अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौंडा हुनै पर्छ। 17 एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर। 18 पवित्र पालको दक्षिण पट्टि जोड्न बीसवटा फल्याकहरू बनाऊ, 19 अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ। 20 पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ। 21 अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चाँदीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ-दुइवटा बनाऊ। 22 अझ छवटा फल्याकहरू बनाऊ। 23 पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ। 24 कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसँगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ। 25 त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।

26 “पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर। 27 पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। 28 माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।

29 “फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ। 30 मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।

पवित्र पालको भित्री भाग

31 “निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार। 32 बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ। 33 करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ। 34 महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।

35 “पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।

पवित्र पालको ढोका

36 “निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ। 37 यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।

होमबलिहरूको निम्ति वेदी

27 “बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौंडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ। त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।

“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ। वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ। त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।

“वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर। वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ। वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।

पवित्र पाल वरिपरिको आँगन

“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसँग बुनेको सुतीको लुगाले बनाउनु पर्छ। 10 र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ। 11 उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसँग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।

12 “पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस्। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ। 13 पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ। 14 एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ। 15 यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।

16 “आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ। 17 आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ। 18 आँगन एक सय हात लामो अनि पचास हात चौंडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ। 19 पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।

दियोको निम्ति तेल

20 “भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ। 21 हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”

पूजाहारीहरूको निम्ति पोशाक

28 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।

“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्। इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ। ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्। ती मानिसहरूलाई भन यी पोशाकहरू बनाउँदा सुनको धागो, मिहीन वस्त्र र निलो, बैजनी अनि रातो धागो प्रयोग गरून्।

एपोद र पेटी

“एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ। यी दुवै टुक्राले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।

“यी मानिसहरूले एपोदको निम्ति पेटी पनि अत्यन्तै सावधानीसित बनाउनु पर्छ। पेटी पनि तिनीहरूले एपोद बनाउँदा जस्तै सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा, निलो, बैजनी अनि रातो धागोहरूले बनाउनु पर्छ।

“गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख। 10 तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सूचित गर। 11 इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ। 12 तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ। 13 सुनका दुइवटा आकारहरू बनाऊ अनि 14 शुद्ध सुनका धागोहरू बाटेर दुइवटा साङ्गली बनाऊ र दुइ समूहलाई जोडी देऊ।

न्यायको थैली

15 “प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ। 16 न्यायको थैली दोबारेको चारपाटे हुनुपर्छ। त्यो थैली एक बित्ता लामो र एक बित्ता चौंडाइको हुनुपर्छ। 17 न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना, 18 दोस्रो लहरमा फिरोजा, नीलम र लालहीराको, 19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला र 20 चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फाटिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ। 21 प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासँग गरिएको हुनु पर्छ।

22 “न्याय थैलीको निम्ति शुद्ध सुनको साङ्गली बनाऊ। यी साङ्गलीहरू डोरी जस्तै बटारिएको हुनुपर्छ। 23 सुनका दुइवटा मुन्द्रीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेऊमा जोडी देऊ। 24 दुइवटा सुनको डोरीहरू दुइवटा मुन्द्रीहरू न्यायको थैलीमाथि छेउमा जोडी देऊ। 25 दुवै साङ्गलाहरू मिलाएर एपोदको कुममाथि चौखटमा साङ्गलाको अर्को अन्त बाँध। यसले न्यायको थैलीलाई एपोदको अघि थाम्छ। 26 अझै दुइवटा सुनको मुन्द्रीहरू बनाऊ अनि तिनलाई न्यायको थैलीको अर्को दुइ कुनामा राखिदेऊ। यो एपोदको छेऊमा न्यायको थैलीको भित्री भागमा हुनेछ। 27 अझै दुइवटा सुनको कुण्डलहरू बनाएर एपोदको अघाडीपट्टिको भागमा काँधको मुनि राख। एपोदको पेटीमाथि सुनका मुन्द्रीहरू लगाऊ। 28 न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेटी नजिक रहन्छ र एपोदसित बाँध।

29 “हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ। 30 ऊरीम र तुम्मीम सधैँ त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

पूजाहारीको निम्ति अन्य पोशाक

31 “एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ। 32 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ। 33 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ। 34 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ। 35 हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन् घण्टीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।

36 “मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप परमप्रभुको निम्ति पवित्र। 37 यो फेटामा निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अघिल्तिर हुनुपर्छ। 38 हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैँ आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू परमप्रभुले ग्रहण गर्नु हुनेछ।

39 “सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ। 40 हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्। 41 हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।

42 “पोशाकहरूको लागि सुती लुगा प्रयोग गर। त्यो पोशाक तिनीहरूले कमरदेखि तिग्रासम्म लगाउँनु पर्छ। 43 हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International