Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 21:8-32:19

परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।” यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।

इस्राएलीहरू मोआबमा गए

10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले। 11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरुभूमि ऐ अबारीममा छाउनी हाले। 12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले। 13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरुभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो। 14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।

“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी 15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”

16 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।” 17 तब इस्राएलका मानिसहरूले यो गीत गाए।

“यो कूवा, पानीसित बग्छ!
    यस विषयमा गीत गाओ!
18 महान व्यक्तिले यो कूवा खने।
    महान नायकहरूले यो कूवा खने।
तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कूवा खने।
    यो मरुभूमिमा एउटा उपहार रहेको छ।”

यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे। 19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए। 20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ।

सीहोन अनि ओग

21 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,

22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”

23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरुभूमिमा आक्रमण गर्न आए। तिनी यहस सम्म आए अनि इस्राएलीहरूसित लडाईँ गरे।

24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए। 25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए। 26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए। 27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्।

“तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्।
    सीहोन शहर फेरि बनियोस्।
28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो
    र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो।
यसले अर र मोआबलाई ध्वंश पार्यो।
    यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
29 ए मोआब! तँलाई धिक्कार छ।
    ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ।
यसले आफ्नो छोराहरूलाई भगौटे बनाए,
    छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं।
    हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।”

31 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।

32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेट्न अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।

34 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”

35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।

बिलाम र मोआबका राजा

22 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।

मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।”

सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए। बालाकले बओरको छोरा बिलामलाई निमन्त्रणा गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ।

“अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्। यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसँग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।

सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”

10 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्। 11 उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।”

13 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए। 16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। 17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

18 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ। 19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

बिलाम र तिनका गधा

21 यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए। 22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए।

23 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।

24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, 25 जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।

26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। 27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।

28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”

29 तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।”

30 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?”

बिलामले भने, “थिइनस्।”

31 त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।

32 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ। 33 जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”

34 तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”

35 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए।”

36 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए। 37 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”

38 त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”

39 त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए। 40 बालाकले गोरूहरू र भेंडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।

41 भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत-बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।

बिलामको प्रथम अगमवाणी

23 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेंडा मेरो निम्ति तयार पार।” बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेंडा प्रत्येक वेदिमा बलि चढाए।

त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।

परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेंडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छु।”

तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”

यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः

“बालाक, मोआबका राजाले
    मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे।
बालाकले मलाई भने,
    ‘आऊ मेरो निम्ति याकूबलाई शराप।
    आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।’
कसरी म केही कुरालाई सराप्नु?
    जसलाई परमेश्वरले सरापेको छैन,
कसरी म कसैको विरूद्धमा बोल्नु?
    जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।
म पर्वतबाट ती मानिसहरूलाई देख्छु,
    म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु,
तिनीहरूले एकान्तमा बस्छन्,
    तिनीहरू आफैंलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
10 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्?
    तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ।
    तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन।
मेरो आत्माले असल मृत्यु पाओस्,
    मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएँ तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

12 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”

13 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसँग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।” 14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेंडा प्रत्येक वेदीमा बलि दिए।

15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”

16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, “बालाककहाँ जाऊ अनि यसो भन।” 17 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए। तब बालाकले बिलामलाई सोधे, “परमप्रभुले के भन्नुभयो?”

बिलामको दोस्रो अगमवाणी

18 बिलामले आगमवाणी दिएः

“उठ बालाक अनि म जे भन्छु सुन;
    सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,
19 परमेश्वर मानिस हुनुहुन्न,
    यसर्थ उहाँ मर्नुहुन्न,
परमेश्वर मानव हुनुहुन्न,
    यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन।
यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु,
    तब उहाँले गर्नुहुन्छ।
यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए,
    प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।
20 परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’
    परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ।
21 परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन,
    इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन।
परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ,
    अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ।
ती महान् राजा तिनीहरूसित हुनुहुन्छ!
22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो,
    तिनीहरू जंगली साँढे झै बलिया छन्।
23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन।
    कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्।
याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्,
    ‘परमेश्वरको महान सृष्टिलाई हेर!’
24 ती मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लड्छन्।
    अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन।
अनि त्यो सिंहले विश्राम नै लिंदैन
    जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”

25 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”

26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”

27 तब बालाकले बिलामलाई भने, “अब मसँग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।” 28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरुभूमि देखिन्थ्यो।

29 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेंडाहरू तयार पार।” 30 बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेंडाहरू बलि चढाए।

बिलामलाई तेस्रो अगमवाणी

24 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन्, तर तिनी मरुभूमि तिर फर्केर हेरे। जब बिलामले मरुभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो। अनि बिलामले यो अगमवाणी दिएः

“यो समाचार बओरका छोरो बिलामबाट हो।
    म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
म यो वाणी परमेश्वरबाट सुन्छु।
    परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें।
    म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।

“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्।
    हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
तिमीहरूको पालहरू
    नदी किनारका बगैंचाहरू जस्तै
एकै पंक्तीमा रोपिएका ताड़का रूखहरू फैलिए जस्तै,
    परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै,
पानी नेरको देवदारहरू जस्तै
    फैलिएका छन्।
तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्,
    अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्।
तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ,
    अनि तिनीहरूको राज्य बढ्नेछ।

“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो,
    तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ।
ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन्,
    र तिनीहरूको हड्डी फुटाएर चूर पर्नेछन्।
    अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछन्।
विश्राममा तिनीहरू
    सिंह झैं सुत्नेछन्,
अनि तिनीहरू जवान सिंहहरू झैं छन्,
    तिनीहरूलाई कसले बियूँझाउँने?
तिनीहरूलाई आशीर्वाद दिने आशीषित हुन्छन्,
    अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्छन्।”

10 बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ। 11 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिएँ कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बन्चित गराउनु भयो।”

12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ। 13 ‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ? म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।’ 14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”

बिलामको अन्तिम अगमवाणी

15 तब बिलामले यी कुराहरू भनेः

“यो बओरको छोरो बिलाम
    जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ,
16 कसले परमेश्वरको वचन सुन्न सक्छ,
    अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ?
सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें।
    म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दैछु।

17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन,
    म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन।
एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ,
    इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ।
मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ
    अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ,
    एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ
    जब इस्राएलले बहादुरी देखाउनेछ।

19 “याकूबको वंशबाट शासक आउनेछ,
र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”

20 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः

“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो।
    तर अमालेक पनि नष्ट हुनेछ।”

21 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः

“चट्टानमा बनिएको गुँड जस्तै
    तिमीहरू सुरक्षित छौ।
22 तर केनीहरू पनि ध्वंश पारिनेछन्
    जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”

23 बिलामले तब फेरि अगमवाणी बोलेः

“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24     जहाजहरू कित्तीमको किनारबाट आउनेछन्
र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्।
    तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”

25 त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।

पोरमा इस्राएलीहरू

25 शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले। मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देवी-देवताहरू पूज्न थाले। यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।

परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”

मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”

जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरूषले एउटी मिद्यानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रून थाले। हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर। त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो। त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे।

10 परमप्रभुले मोशालाई भन्नुभयो, 11 “एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे। 12 यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु। 13 शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रयाश्चित गरायो।”

14 जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री। 15 त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।

16 परमप्रभुले मोशालाई भन्नुभयो, 17 “मिद्यानी मानिसहरूसित शत्रु भई तिनीहरूलाई परास्त गर। 18 किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिनीहरू तिमीहरूको शत्रु बने।”

मानिसहरूको गन्ती

26 त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो, “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस बर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”

यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने, “इस्राएलका सबै मानिसहरू जो बीस बर्ष भन्दा माथिको छन् सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”

रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्;

हनोकबाट हनोकीहरूको कुलसमूह,

पल्लूबाट पल्लूईहरूको कुल समूह,

हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह,

कर्मीबाट कर्मीहरूको कुल समूह।

रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।

पल्लूका छोरो एलीआब थिए। एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए। 10 अनि पृथ्वी चर्किएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो। 11 तर कोरहका छोराहरू मरेनन्।

12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;

नमूएलबाट नमूएलको कुलसमूह,

यामीनबाट यामीनीहरूको कुलसमूह,

याकीनबाट याकीनीको कुलसमूह,

13 जेरहबाट जेरहीहरूको कुलसमूह,

शाऊलबाट शाऊलहीहरूको कुलसमूह,

14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।

15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः

सपोनबाट सपोनीहरूको कुलसमूह,

हाग्गैबाट हाग्गैहरूको कुलसमूह,

शूनीबाट शूनीहरूको कुलसमूह,

16 ओजनीबाट ओजनीहरूको कुलसमूह,

एरीबाट एरीहरूको कुलसमूह,

17 अरोदाबाट अरोदाहरूको कुलसमूह

अरेलीबाट अरेलीहरूको कुलसमूह भए।

18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40,500 थियो।

19-20 यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोः

शेलहबाट शेलानीहरूको कुलसमूह,

पेरेसबाट पेरेसीहरूको कुलसमूह,

जेरहबाट जेरहातीहरूको कुलसमूह भए।

21 पेरेसका सन्तानहरू यस प्रकारका थिएः

हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह,

हमूलबाट हामूलीहरूको कुलसमूह।

22 यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।

23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः

तोलाबाट तोलाहीहरूको कुलसमूह,

पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।

24 याशूबबाट याशूबीहरूको कुलसमूह,

हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।

25 इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।

26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः

सेरेदबाट सेरेदीहरूको कुलसमूह,

एलोनबाट एलोनीहरूको कुलसमूह,

यहलेलबाट यहेलेलीको कुलसमूह भए।

27 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।

28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुइ जना छोराहरू थिए। 29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन्

माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए)

गिलादबाट गिलादीहरूको कुलसमूह,

30 गिलादबाट भएका सन्तानहरूः

ईएजरेबाट ईएजेरीहरूको कुलसमूह,

हेलेकबाट हेलेकीहरूको कुलसमूह,

31 अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह,

शेकेमबाट शेकेमीहरूको कुलसमूह,

32 शमीदाबाट शमीदीहरूको कुलसमूह,

हपेरबाट हेपेरीहरूको कुलसमूह

33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।

34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।

35 एप्रैमको कुलसमूह यस प्रकार छः

शूतेलहबाट शूतेलहीहरूको कुलसमूह,

बेकेरबाट बेकेरीहरूको कुलसमूह,

तहनबाट तहनीहरूको कुलसमूह।

36 शूतेलहका कुलसमूह यस प्रकारका थिएः

एरानबाट एरानीहरूको कुलसमूह।

37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्।

38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;

बेलाबाट बेलाही कुलसमूह,

अशबेलबाट अशबेलिहरूको कुलसमूह,

अहीरामबाट अहीरामीहरूको कुलसमूह,

39 शूपामबाट शपामीहरूको कुलसमूह

हुपामबाट हुपामीहरूको कुलसमूह भए।

40 अर्द र नामन बेलाका छोराहरू हुन्;

अर्दबाट अर्दीहरूको कुलसमूह,

नामानबाट नामानीहरूको कुलसमूह भए।

41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।

42 दानका कुलसमूह यिनीहरू हुन्;

शूहामबाट शूहामीहरूको कुलसमूह

43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै शूहामीहरूको जन-संख्या 64,400 थियो।

44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः

यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह,

यिशवी बाट यिश्वीहरूको कुलसमूह,

बेरीयहबाट बेरीयाहरूको कुलसमूह,

45 बेरीयाहबाट यी परिवारहरू थिएः

हेबेरबाट हेबेरीहरूको कुलसमूह,

मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।

46 (आशेरको सेरह नाम गरेकी छोरी थिई)। 47 कुलसमूह अनुसार आशेर कुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।

48 कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः

यहसेलबाट यहसेलीहरूको कुलसमूह,

गुनीबाट गुनीहरूको कुलसमूह

49 येसेरबाट येसेरीहरूको कुलसमूह

शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।

50 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।

51 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।

52 परमप्रभुले मोशालाई भन्नुभयो, 53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। 54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ। 55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठाद्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ। 56 प्रत्येक कुल समूहको अंश चिठ्ठाद्वारा निर्धारण गरिनेछ।”

57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्।

गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह

कहातबाट कहातीहरूको कुलसमूह

मरारीबाट मरारीहरूको कुलसमूह भए।

58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्।

लिब्नीहरूको कुलसमूह,

हेब्रोनीहरूको कुलसमूह,

महलीहरूको कुलसमूह,

मूशीहरूको कुलसमूह,

कोरहीहरूको कुलसमूह।

कहात अम्रामका पिता थिए। 59 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।

60 हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए। 61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।

62 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन् कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।

63 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए। 64 धेरै दिन अघि सिनै मरुभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्। 65 किनभने तिनीहरू मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

सेलोफाकी छोरीहरू

27 सेलोफादका पाँच जना छोरीहरू थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा। तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,

“हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो। उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।”

यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे। परमप्रभुले मोशालाई भन्नुभयो, “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसँगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाइहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्। उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाइले पाउनेछ। 10 फेरि यदि उसको दाज्यू-भाइ नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ। 11 उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।’”

यहोशू नयाँ अगुवा

12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। 13 त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। 14 किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

15 मोशाले परमप्रभुलाई भन्नुभयो, 16 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्। 17 म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

18 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर। 19 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। 21 यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहरू घर जानेछन्।”

22 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए। 23 त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

दैनिक बलिहरू

28 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगोद्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ। अनि तिनीहरूलाई भन: प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ। एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउँनु पर्छ। अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।” (परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।) “एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ। त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।

विश्राम का बलिहरू

“विश्रामको दिनमा पनि एक बर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ। 10 नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”

मासिक बैठक

11 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक बर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ। 12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेंडासित तेलले मुछेको एपको दश खण्डको दुइ खण्ड अन्नबलिको निम्ति र 13 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ। 14 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेंडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। बर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो। 15 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।

निस्तारका चाड

16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ। 17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ। 18 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन। 19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ। 20 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, 21 र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ। 22 तिनीहरूलाई प्रयाश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ। 23 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।

24 “यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।

25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।

सातौं दिनका चाडहरू (पेन्तिकोस)

26 “अगौटे फलहरूको दिनहरूमा, सातौं दिनका चाड़हरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन। 27 तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू होमबलि चढाउनु पर्छ। 28 प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, 29 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ। 30 तिमीहरूको प्रयाश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु। 31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

तुरहीको चाड

29 “सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ। तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ। परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुइ खण्ड भेंडासित, अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ। तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रयाश्चित गर्नका निम्ति बलि चढाउ। ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियमित रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।

प्रयाश्चितका दिन

“सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन। परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेंडा अनि सातवटा एक बर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन। अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेंडासित एपाको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो, 10 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ। 11 पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रयाश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।

छाप्रो-बासको चाड़

12 “सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू। 13 तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेंडा र एक बर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ। 14 यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुइ खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेंडासित 15 र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ। 16 यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।

17 “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेंडाहरू र एक बर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्। 18 तिमीहरूले यी साँढे, भेंडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ। 19 तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।

20 “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन। 21 तिमीहरूले यी बहर, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। 22 पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।

23 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। 24 तिमीहरूले यी बहर गोरू, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ। 25 पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

26 “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। 27 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। 28 पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

29 “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। 30 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। 31 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।

32 “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ। 33 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। 34 पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

35 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन। 36 त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन। 37 यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ। 38 तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

39 “विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेषबलि तथा कुनै भाकलबलिको अतिरिक्त हो।”

40 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।

भाकल गर्दा मान्नु पर्ने विधिहरू

30 मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्;

“जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ।

“तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए। र उसको बाबुले सुनेर पनि केही आपत्ति नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नैपर्छ। तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।

“अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा गरिन् भने। अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू पुरा गर्नु पर्छ। तर उसको लोग्नेले कुनै दिन चाल पाएर विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भङ्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।

“विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।

10 “तर कुनै विवाह भएकी स्त्रीले आफ्नो पतिको घरमा आएर भाकल गर्छे वा वाचा बन्धन खान्छे 11 अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ। 12 तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ। 13 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ। 14 यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोग्नेले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पूरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन। 15 तर पत्नीले गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”

16 पति-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।

इस्राएलीहरूको मिद्यानीहरूसित युद्ध

31 परमप्रभुले मोशालाई भन्नुभयो, “मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”

यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार। इस्राएलीहरूको प्रत्येक कुलबाट एक हजार मानिसहरू निकाल्नु पर्छ। इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।”

मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए। परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिद्यानी मानिसहरू विरूद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिद्यानी पुरूषलाई मारे। तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।

इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेंडाहरू पनि लगे। 10 तिनीहरूले मिद्यानीहरूको गाँउ-वस्ती तथा शहरहरू पनि जलाई दिए। 11 इस्राएलीहरूले तिनीहरूको मानिस तथा पशुहरू मोशा, पूजाहारी एलाजार अनि 12 इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो। 13 तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।

14 मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए। 15 मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ? 16 छुट्टानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो। 17 यसकारण ती सबै बालकहरूलाई मार र ती पुरूषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार। 18 तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख। 19 तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैंलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ। 20 तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।”

21 त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ, 22 सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू 23 आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन। 24 सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नु।”

25 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 26 “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन। 27 तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ। 28 मानिस, गाई-वस्तु, भेंडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख। 29 तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ। 30 प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेंडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”

31 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे। 32 इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिएः भेंडा 6,75,000, 33 गाई-गोरू 72,000, 34 गधा 61,000 अनि 35 स्त्रीहरू 32,000 यी स्त्रीहरू हुन् जसले पुरूषसित शारीरिक सम्बन्ध राखेका थिएनन्। 36 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेंडाहरू पाए। 37 तिनीहरूले आफ्नो भागबाट 675 वटा भेंडाहरू परमप्रभुलाई चढाए। 38 तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए। 39 तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए। 40 तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए। 41 परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

42 युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः 43 भेंडा 3,36,500, 44 गाई-गोरू 36,000, 45 गधा 30,500, 46 स्त्रीहरू 16,000 47 यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।

48 त्यसपछि एक हजार इस्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशाकहाँ आए। 49 तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्यौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं। 50 हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रयाश्चितको निम्ति चढायौ।”

51 मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे। 52 ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल[a] थियो। 53 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए। 54 यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।

यर्दन नदीको पूर्व पट्टि बसेका कुल समूहहरू

32 रूबेन र गाद वंशका मानिसहरूको धेरै-धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे। यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने, “अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले। यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”

मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दाज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा-सर्वदा बस्दा? यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ? तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ। तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए। 10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि, 11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 12 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’

13 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउन्जेल चालीस बर्ष सम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यता उता डुलाउनु भयो। 14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ। 15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”

16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ। 17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई स-हर्षसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ। 18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन् तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं। 19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि, पूर्व पट्टि नै हुनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International