Bible in 90 Days
शमूएल बेतलेहेम जान्छन्
16 परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्राएलको राजपदबाट हटाइसकें तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”
परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’ 3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
5 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
7 तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
11 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”
यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।”
शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।”
12 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो।
परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
13 शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
शाऊललाई दुष्ट आत्माले सताउन थाल्यो
14 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। 15 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो। 16 हामीलाई आदेश दिनुहोस् हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”
17 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले सँगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”
18 एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। ऊ साह्रै वीर र युद्ध गर्न जान्दछ। ऊ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
19 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेंडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”
20 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो। 21 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए। 22 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”
23 जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
गोल्यतको इस्राएली माथि चुनौती
17 पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।
2 शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए। 3 पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।
4 पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो। 5 शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो। 6 गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। 7 भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिँड्थ्यो।
8 प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ। 9 यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।”
10 पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लड्न सकुँ।”
11 शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।
दाऊद रणभूमिमा जान्छन्
12 दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए। 13 यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो। 14 दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए। 15 कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेंडाहरू हेरचाह गर्न आउने जानेगर्थे।
16 त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40 दिनसम्म त्यसले सधैँ त्यस्तै गर्यो।
17 एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ। 18 यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु। 19 तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।”
20 बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेंडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए। 21 इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।
22 दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो। 23 जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैँ झैं इस्राएलीलाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।
24 इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए। 25 एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
26 दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”
27 यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्। 28 दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेंडाहरू मरुभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
29 दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।” 30 दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।
31 केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए। 32 दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लड्ने छु।”
33 शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”
34 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेंडा पनि चराउने गर्छु। भेंडाका बथानबाट सिंह र भालू आएर भेंडा लैजान्थे। 35 म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेंडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें। 36 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ। 37 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।”
शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।” 38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। 39 दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।
दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। 40 दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
दाऊदले गोल्यतलाई मार्छन्
41 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। 42 गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो। 43 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो। 44 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”
45 दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। 47 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
48 पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो।
49 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
50 यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन। 51 यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो।
जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले। 52 इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो। 53 पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।
54 दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।
शाऊल दाऊदसँग डराउन थाल्छन्
55 शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?”
अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”
56 राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”
57 जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।
58 शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?”
दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”
दाऊद र जोनाथनको घनिष्ट मित्रता
18 दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो। 2 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन 3 जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो। 4 आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वर्दि, धनु, तरवार र पेटीसमेत दाऊदलाई दियो।
दाऊदको सफलतामा शाऊलको ध्यान
5 शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए। 6 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे। 7 स्त्रीहरूले यसरी गाउँथे,
“शाऊलले हजार शत्रुहरू मारे
तर दाऊदले दश हजार मारे।”
8 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।” 9 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।
शाऊल दाऊदसँग भयभीत भए
10 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पक्रियो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैँ झै वीणा बजाए। 11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए। 13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे। 14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए। 15 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले। 16 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।
शाऊलले आफ्नी छोरीको विवाह दाऊदसँग गरिदिन चाहे
17 तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लड्ने छौ।” यो खालि धुर्त्याईँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”
18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिनँ।”
19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।
20 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए। 21 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”
22 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।’”
23 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।”
24 अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए। 25 शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।’” यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।
26 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे। 27 दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिँडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे।
शाऊलले मीकलको विवाह दाऊदसँग गराए। 28 शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन। 29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए।
30 पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।
जोनाथनले दाऊदलाई सहायता गरे
19 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। 2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।”
4 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। 5 पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”
6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।”
7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।
शाऊलले फेरि दाऊदलाई मार्न चाहे
8 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे। 9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। 10 शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
11 शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।” 12 त्यसपछि मीकलले झ्यालबाट झरेर भाग्न लगाईन्। 13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।
14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”
15 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।”
16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।
17 शाऊलले मीकललाई सोधे, “तैंले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।”
मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।”
दाऊद भागेर रामा डेरामा पुगे
18 दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।
19 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्। 20 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।
21 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे। 22 अन्त्यमा, शाऊल आफैं रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे।
मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”
23 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले। 24 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे।
यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”
दाऊद र जोनाथनले एउटा सन्धि गर्छन्
20 रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”
2 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”
3 तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”
4 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”
5 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। 6 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ 7 यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। 8 म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
9 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”
10 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”
11 तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।
12 जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु। 13 यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ। 14 जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि 15 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ। 16 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि होस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”
17 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।
18 जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ। 19 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु। 20 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु। 21 म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज।’ त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन। 22 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो। 23 दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सधैँ भरी हाम्रो साक्षी हुनुहुन्छ।”
24 त्यसपछि दाऊद खेतमा लुक्न गए।
उत्सवमा शाऊलको मनोभाव
औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे। 25 राजा पर्खाल कै छेउमा सधैँ झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो। 26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”
27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?”
28 जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो। 29 उसले भन्यो, ‘मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्।’ त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”
30 शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्। 31 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”
32 जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”
33 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो। 34 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।
जोनाथनसँग दाऊदको बिदावारी
35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए। 36 जोनाथनले केटोलाई भने, “कुद्दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने। 37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।” 38 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो। 39 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो। 40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।
41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।
42 जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैँ भरी साक्षी रहनु हुनेछ।”
पूजाहारी अहिमेलेकसँग दाऊदको भेट
21 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।
अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
2 दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भनें। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। 3 अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।”
4 पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”
5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैँ पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
6 त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।
7 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो।[a] दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।
8 दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”
9 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।”
दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”
दाऊद गातमा भागेर शत्रु कहाँ गए
10 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे। 11 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्;
“शाऊलले हजार शत्रुहरू मारे,
तर दाऊदले दश हजार मारे।”
12 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। 13 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल ढोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
14 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। 15 मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनुँ!”
दाऊद विभिन्न ठाउँहरूमा जान्छन्
22 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए। 2 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।
3 मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुन्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।” 4 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे।
5 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।
शाऊलले अहीमेलेकको परिवारलाई नष्ट गरे
6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए। 7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ? 8 तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए। 10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए। 12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”
अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”
13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
14 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुन्। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्। 15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”
16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।” 17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।”
तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे 18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे। 19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं, गोरु, गधा र भेंडा समेत बाँकी राखेनन्।
20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाँहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले। 21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए। 22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवार ठान्छु। 23 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ, तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”
दाऊद कीलाको नगरमा
23 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।”
2 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?”
परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”
3 तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौं। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।”
4 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।” 5 यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए। 6 (जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।)
7 मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। ऊ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” 8 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे।
9 शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
10 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ। 11 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।”
परमप्रभुले भन्नु भयो, “हो यो हुन आउँछ।”
12 दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?”
परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”
13 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।
शाऊलले दाऊदको खेदो गर्छन्
14 दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।
15 दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। 16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। 17 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”
18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।
जीपका मानिसहरूले शाऊललाई दाऊदबारे बताउँछन्
19 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। 20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”
21 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। 22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’ 23 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।”
24 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए।
दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। 25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।
26 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।
27 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”
28 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। 29 दाऊद माओनको मरुभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।
दाऊदले शाऊललाई लाजमर्दो बनाएको
24 शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरुभूमिमा छ।”
2 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे। 3 शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए। 4 मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’”
त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए। 5 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। 6 दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।” 7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्।
शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। 8 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!”
शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए। 9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ’? तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो। 10 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुन्।’ 11 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिनँ। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ। 12 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन। 13 त्यहाँ एउटा पूरानो भनाइ नै छ,
‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’
“मैले कुनै नराम्रो गरिनँ। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन। 14 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो। 15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुइ बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैंले देखाउनु हुनेछ कि म सही छु।”
16 दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए। 17 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ। 18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ। 19 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोड्दैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ। 20 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ। 21 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”
22 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
दाऊद र मूर्ख नाबाल
25 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे।
त्यसपछि दाऊद पारानको मरुभूमितिर लागे 2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो। 3 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।
4 नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। 5 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।” 6 उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्। 7 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेंडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्। 8 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”
9 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए। 10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। 11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेंडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन्।”
12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए। 13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।
अबीगेलले विपत्ती टारिन्
14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए। 15 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेंडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्। 16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेंडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो। 17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”
18 अबीगेलले हतार-हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेंडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्। 19 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।
20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।
21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरुभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो। 22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”
23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। 24 तिनको अनुहार दाऊदको अघि भूईँमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्। 25 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो ऊ पनि मूर्ख नै छ। 26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्। 27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। 28 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुन्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्। 29 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ। 30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ। 31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”
32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर। 33 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ। 34 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”
35 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”
नाबालको मृत्यु
36 अबीगेल घर फर्किन्। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। ऊ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुन्जेल अबीगेलले केही भनिन। 37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो। 38 झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।
39 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”
त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो। 40 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”
41 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”
42 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेंलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्। 43 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए। 44 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।
दाऊद र अबीशै शाऊलको छाउनीमा पसे
26 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”
2 शाऊल जीपको मरुभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमितिर दाऊदलाई खोजे। 3 शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए।
दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो। 4 यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर। 5 दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।
6 दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”
अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”
7 जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। 8 अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”
9 तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। 10 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। 11 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”
12 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझियो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।
दाऊदले फेरि पनि शाऊललाई लाजमर्दो बनाए
13 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए। 14 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!”
अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”
15 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो। 16 तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही खोई, कहाँ छन्?”
17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”
दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।” 18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ? 19 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’ 20 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”
21 तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”
22 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्। 23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन। 24 आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”
25 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”
दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।
दाऊद पलिश्तीहरूसँग रहन थाले
27 तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”
2 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, 3 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। 4 मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।
5 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”
6 त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। 7 दाऊद पलिश्तीहरूसँग एक बर्ष चार महिना बसे।
दाऊदले आकीश राजालाई छक्काए
8 दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे। 9 दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेंडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।
10 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें[b]।” 11 दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।”
जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे। 12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।”
पलिश्तीहरू युद्धको निम्ति तयार
28 त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”
2 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।”
आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैँ मेरो रक्षा गर्नुहोस्।”
शाऊल र एउटी स्त्री एन्दोरमा
3 शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।
4 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए। 5 शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो। 6 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो। 7 अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”
तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”
8 शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”
9 तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”
10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”
11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”
शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”
12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”
13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”
स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”
14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”
स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”
त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे 15 शमूएलले शाऊललाई भने, “मलाई किन दुःखः दिएको? मलाई किन बोलाएको?”
शाऊलले भने, “म सङ्कटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनुहुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौं?”
16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? 17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो। 18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ। 19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”
© 2004, 2010 Bible League International