Bible in 90 Days
19 म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे।
तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!
20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।
21 परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ
कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन,
यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।
22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने,
परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।
23 म सधैँ परमप्रभुको निर्णयलाई ध्यान दिन्छु
म उहाँको नियमलाई पालन गर्छु
24 उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।
25 यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु।
किनभने मैले ठिकबाहेक केही गरिन!
मेरा राम्रा कार्यहरू उहाँले देख्नुहुन्छ,
यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।
26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ
तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ।
कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ
भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।
27 परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ
जो साँच्चै असल र पवित्र हुनेको निम्ति
तर जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ
28 परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ
तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।
29 परमप्रभु, तपाईं मेरो आलोक
परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।
30 तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु
परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाँघ्न सक्छु।
31 परमेश्वरको बाटो ठीक छ
परमप्रभुको वचनको कसी लगाइयो
उहाँलाई पछ्याउँने मानिसहरूको रक्षा गर्नुहुन्छ
32 परमप्रभु भन्दा अर्को ईश्वर छैन
हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।
33 परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ।
उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ
जो उहाँको बाटोमा हिंड्छन।
34 परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ।
उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।
35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ
यसैले मेरा हातले काँसको धनु झुकाउँन सक्छु।
36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ,
मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ,
37 मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी
बेस्सरी दौडनसकुँ
38 म मेरा शत्रुहरूलाई नष्ट नगरीन्जेल सम्म
फर्केर आउँदिन!
39 मैले शत्रु नष्ट पारें।
तिनीहरूलाई हराएँ!
तिनीहरू फेरि उठ्न सक्दैनन्
मेरा शत्रुहरू मेरा शरणमा परे।
40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो
तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।
41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो,
अनि मैले छिनाएँ।
42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे
तर तिनीहरूले कुनै सहायता पाएनन्
तिनीहरूले परमप्रभुतिर पनि आशा गरे
तर कुनै जवाफ पाएनन्
43 मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ
तिनीहरू धूलो जस्तै भुँइमा परे
गल्लीको हिलो टेके जस्तै
मैले तिनीहरूलाई किचिमिची पारें।
44 तपाईंले मेरो बिरुद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो।
तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो
मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।
45 विदेशी मानिसहरूले मलाई मान्छन्!
जब तिनीहरूले मेरो आदेश सुन्छन्,
तिनीहरूले आज्ञा गरिरहाल्छन्।
विदेशीहरू मसित डराउँछन्।
46 विदेशीहरू डरले कमजोर हुनेछन्।
लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।
47 परमप्रभु जीवित हुनुहुन्छ;
म मेरो चट्टानको स्तुति गाउँछु
परमेश्वर उच्च हुनुहुन्छ।
उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।
48 उहाँ नै परमेश्वर हुनुहुन्छ,
जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ
मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।
49 परमेश्वर, तपाईंले मलाई मेरो शत्रुबाट बचाउनु भयो!
तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो
निर्दयीहरूबाट मलाई बँचाउनु भयो।
50 परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु
यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।
51 परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ।
परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ।
उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।
दाऊदका आखिरी वचनहरू
23 यी दाऊदका अन्तिम वचनहरू:
“यिनै यिशैका छोरा दाऊदको सन्देश हो यो।
यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो,
जो याकूबको परमेशवरद्वारा छानिएका राजा
जो इस्राएलको मधुर गीतका गायक।
2 परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो।
उहाँका वचनहरू मेरो मुखमा थिए।
3 इस्राएलको परमेश्वरले भन्नु भयो।
इस्राएलको चट्टानले मलाई भन्नुभयो,
‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ,
जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
4 त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै;
बादल नभएको बिहान जस्तै;
पानी परेपछिको घाम जस्तै;
जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’
5 “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो।
उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो।
परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो
र राम्रो बनाउनु भयो।
अनि उहाँले मलाई विजय दिनुहुन्छ।
म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
6 “तर दुष्ट मानिसहरू काँढा जस्तै हुन्
मानिसले काँढा समात्दैनन्
बरू कतै फ्याँक्छन्।
7 यदि कसैले त्यसलाई छोयो भने
त्यसले भालाले जस्तै घोच्छ
त्यो भाला काठको होस् कि फलामको
साँच्चै ती मानिसहरू काँढा जस्तै हुन्।
तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।”
तीन वीरहरू
8 तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन:
दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।
9 दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे। 10 एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।
11 अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। 12 तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।
13 एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।
14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए। 15 दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”
16 तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए। 17 दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।
अरू बहादुर सैनिकहरू
18 सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे। 19 ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।
20 यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला-ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउँ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो। 21 बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे। 22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। 23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।
तीसजना वीरहरू
24 योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः
बेतलेहेमका दोदोका छोरा एल्हानान्,
25 हेरोदाका शम्मा,
हेरोदका एलीका,
26 बेतपेलेतका हेलेस,
तकोइका इक्केशका छोरा ईरा,
27 अनातीतका छोरा अबीएजेर,
हुशातका मबून्ने,
28 अदोही सल्मोन,
नतोपाका महरै,
29 नतोपाका बानाका छोरा हेलेब,
गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,
30 पिरातोनका बनायाह,
गाशका खोल्वाहरूका हिददै,
31 बेत-अराबाका अबी-अल्बोन,
बहूरीमका अजमावेत,
32 शाल्बोनका एल्याहबा,
गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,
33 हरारी शम्मका छोरा;
हरारी शरारका छोरा अहीआम;
34 मकातीका आहसबैका छोरा एलीपेलेत,
गिलोनी अहीतोपेलका छोरा एलीआम,
35 कर्मेलका हेस्रो,
अर्बी पारै,
36 सोबाका नातानका छोरा यिगाल,
गादी बानी,
37 अम्मानी सेलेक,
बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);
38 येतरी ईरा;
येतरी गारेब;
39 अनि हित्ती उरियाह।
जम्मा मिलाउँदा 37 जना थिए।
दाऊदले आफ्ना सेनाको संख्या गन्ती गर्न चाहे
24 परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”
2 राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”
3 तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”
4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए। 5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)
6 तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे। 7 सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए। 8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।
9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
परमप्रभुले दाऊदलाई सजाय दिनुहुन्छ
10 जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”
11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। 12 परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’”
13 गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः तपाईं र तपाईंको देशमा सात बर्ष सम्म अनिकाल लाग्नेछ। तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकुँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”
14 दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”
15 यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। 16 स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।
दाऊदले अरौनाका खला किन्छन्
17 दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेंडाले झैं पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”
18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” 19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। 20 अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। 21 अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”
दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”
22 अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। 23 राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।”
24 तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।”
यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। 25 त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।
परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।
अदोनियाह राजा हुन इच्छुक
1 राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्। 2 यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।” 3 यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए। 4 युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।
5-6 अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे। राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”
7 अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए। 8 तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।
9 एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेंडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए। 10 तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।
नातान र बतशेबा सुलेमानको पक्षमा
11 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्। 12 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन सङ्कटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु, 13 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’ 14 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”
15 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई। 16 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”
17 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’ 18 अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्। 19 अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेंडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन। 20 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्। 21 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठहरिनेछौं।”
22 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए। 23 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए। 24 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ? 25 किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेंडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ 26 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्। 27 मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”
28 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।
29 तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु। 30 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”
31 तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”
सुलेमानलाई नयाँ राजा चुनियो
32 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए। 33 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ। 34 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’ 35 त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”
36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ। 37 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढ्नेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”
38 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए। 39 पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले हर्षित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।” 40 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुइँ थर्किने गरी कराउँदै थिए।
41 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”
42 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ-समाचार ल्याएको हुनुपर्छ।”
43 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ-समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए। 44 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए। 45 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो। 46-47 सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान् राजा हुनु हुन्छः अब हामी प्रार्थना गर्छौ, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान् राजा बनाउनुहुनेछ। हामी आशा गर्छौ तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौ, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए! राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई ढोग गरे। 48 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।’”
49 अदोनियाहका सबै अतिथिहरू तर्सिए अनि छिट्टै गए। 50 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते। 51 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सींग समाते र पवित्र पालमा बसेको छ अनि छोड्न पनि चाहँदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।’”
52 सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।” 53 तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”
राजा दाऊदको मृत्यु
2 दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने, 2 “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। 3 अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्। 4 यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’”
5 दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो। 6 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।
7 “गिलादको बर्जिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।
8 “अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन। 9 अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”
10 तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो। 11 दाऊदले इस्राएलमा 40 बर्ष शासन चलाए। उनले हेब्रोनमा सात बर्ष अनि यरूशलेममा 33 बर्ष शासन गरे।
सुलेमानद्वारा राज्यको शासन-नियन्त्रण
12 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।
13 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?”
अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो। 14 मैले तपाईंलाई केही भन्नु छ।”
बतशेबाले, “भन भनिन्।”
15 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो। 16 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।”
बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”
17 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”
18 तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”
19 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।
20 बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका भन्छु। कृपया मलाई हुदैन नभन्नु।”
राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”
21 यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”
22 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”
23 तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ। 24 परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”
25 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।
26 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।” 27 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोमा बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।
28 योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे। 29 कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।
30 बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!’”
तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।”
यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए। 31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो। 32 योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ। 33 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”
34 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो। 35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे। 36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड। 37 यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”
38 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे। 39 तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्। 40 यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकी शसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।
41 तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए। 42 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु। 43 परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? 44 तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ। 45 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सधैँ नै सुरक्षित राख्ननु हुनेछ।”
46 तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।
सुलेमानलाई बुद्धिको चाहना
3 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए। 2 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यसकारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए। 3 सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।
4 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। 5 सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
6 सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। 7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। 8 म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। 9 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”
10 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो। 11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। 12 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन। 13 तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन। 14 म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुशरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”
15 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।
16 एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए। 17 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई। 18 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं। 19 एक रात यो आइमाई आफ्नो नानीसँग सुतेकी थिई, नानी मरेछ। 20 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी। 21 बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”
22 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!”
तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।
23 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।” 24 तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए। 25 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”
26 अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”
27 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”
28 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।
सुलेमानको राज्य-शासन
4 राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले। 2 शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्:
सादोकका छोरा अजर्याह, अजर्याह पूजाहारी थिए।
3 शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए।
अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।
4 यहोयादाका छोरा बनायाह। बनायाह सेनापति थिए।
सादोक र एबीयातार। यिनीहरू पूजाहारीहरू थिए।
5 नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए।
नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।
6 अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए।
अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।
7 इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक बर्षको एक महीनामा राजालाई खाद्यान सामाग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो। 8 बाह्रजना राजपालहरूका नाउँ यी हुन्;
बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।
9 माकश, शाल्बीम, बेतशेमेश अनि एलोनरबेत-तनानका राजपाल बेन्दकेर थिए।
10 अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।
11 बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।
12 अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।
13 बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठ्ठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।
14 इद्दोका छोरा अहीनादाब महनेमका राजपाल थिए।
15 अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।
16 हूशैका छोरा बाना आशेर र आलोतका राजपाल थिए।
17 पारूहका छोरा यहोशापात इस्साकारका राजपाल थिए।
18 एलाका छोरा शिमी बिन्यामीनका राजपाल थिए।
19 ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।
20 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।
21 सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।
22-23 सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः 30 मुरी राम्रो पिठो, 60 मुरी अन्न, 10 वटा राम्रो अन्न खाने गाईहरू, 20 वटा मैदानमा पालीएको गाईहरू, 100 वटा भेंडाहरू, जंगली जनावरहरू जस्तो मृग, जराया, चित्तल अनि शिकार गरिएका चराहरू।
24 सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए। 25 सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।
26 सुलेमानसित उनका रथहरूका 4,000[a] घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए। 27 प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो। 28 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।
सुलेमानको बुद्धि
29 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो कि, कल्पना गर्न सकिन्न। 30 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए। 31 उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए। 32 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।
33 सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे। 34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।
सुलेमान द्वारा मन्दिरको निर्माण
5 हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए। 2 सुलेमानले राजा हीरामलाई जे भने, यो होः
3 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन। 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्।
5 “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु। 6 यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू र लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”
7 जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!” 8 तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो:
“तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु। 9 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ। बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”
10 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।
11 सुलेमानले हीरामलाई 20,000 मुरी[b] गहुँ र 20,000 मुरी[c] भद्राक्षको तेल प्रत्येक बर्ष उसको परिवारको निम्ति जुटाए।
12 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।
13 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए। 14 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए। 15 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए। 16 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए। 17 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो। 18 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।
सुलेमानद्वारा मन्दिरको निर्माण
6 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 बर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो बर्ष थियो। यो बर्षको दोस्रो महीना, जिबको[d] महिना थियो। 2 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। 3 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौंडाईको बराबर थियो। 4 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो। 5 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो। 6 कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौंडा थिए। माझका कोठाहरू छः हात चौंडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए। 7 कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।
8 मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।
9 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो। 10 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।
11 परमप्रभुले सुलेमानलाई भन्नुभयो, 12 “यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ। 13 अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”
14 यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। 15 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूईंदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूईंमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए। 16 तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा-पवित्र स्थान भनिन्थ्यो। 17 महा-पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात लामो थियो। 18 तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।
19 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो। 20 यो कोठा 20 हात लामो, 20 हात चौंडा अनि 20 हात अग्लो थियो। 21 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा-पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए। 22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा-पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
23 कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पखेंटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा-पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए। 24-26 दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेंटा थिए। पखेंटा पाँच हात लामा थिए। एउटा पखेंटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए। 27 यी करूब स्वर्गदूतहरूलाई महा-पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेंटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेंटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेंटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो। 28 दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।
29 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो। 30 दुवै कोठाको भुइंमा सुन जडिएको थियो।
31 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा-पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो। 32 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।
33 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोग गरे। 34 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए। 35 तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।
36 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
37 तिनीहरूले मन्दिरको निर्माण कार्य बर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो बर्ष बितेको थियो। 38 मन्दिर बर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं बर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात बर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
सुलेमानको महल
7 राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 बर्ष लाग्यो। 2 उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो। 3 खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए। 4 त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए। 5 प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।
6 सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौंडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो।
7 सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईंदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो।
8 सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।
9 यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। 10 जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए। 11 यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए। 12 महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।
13 राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए। 14 हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।
15 हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्रा थिए अनि धातु 3 इञ्च[e] मोटो थियो। 16 हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे। 17 तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे। 18 त्यसपछि उनले दारीम जस्तैं देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए। 19 खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे। 20 मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए। 21 हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो। 22 तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।
23 तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खड्कुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौंडा अनि 5 हात गहिरो थियो। 24 खड्कुँलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो। 25 भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए। 26 भाँडोको मोटाइ एक बित्ता मोटो थियो। भाँडोको घेरो प्यालाको घेरो अथवा फूलका पत्रदल जस्तैं थियो। भाँडोमा 2,000 पाथी[f] आँट्थ्यो।
27 तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौंडा अनि 3 हात अग्ला थिए। 28 ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए। 29 ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुँदेर काँसालाई मार्तोलले पिटेर बनाएका थिए। 30 प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुवाहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए। 31 त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए। 32 चौखटको तल चारवटा चक्काहरू थिए। चक्काहरू, डेढ हात व्यास भएका थिए। चक्काहरूको माझ धुराहरू ठेलागाडासँग जोडिएको थियो। 33 चक्काहरू रथका चक्काहरू जस्तैं थिए। चक्काको जम्मै जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।
34 प्रत्येक ठेलागाडाको चार कुनामा चारवटा आधारहरू थिए। तिनीहरू सबै ठेलागाडासँग जोडिएका थिए। 35 प्रत्येक ठेला गाडाकोमाथि वरिपरि आधा हात अग्लो गोलो घेरा थियो। त्यसलाई एउटै बनाउनलाई त्यो त्यसका आधारहरूसित जोडिएको थियो। 36 ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताड़को रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए। 37 हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेरे बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।
© 2004, 2010 Bible League International