Bible in 90 Days
हबकूकद्वारा परमेश्वरलाई उजूरी
1 यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।
2 हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? 3 मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। 4 व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
हबकूकलाई परमेश्वरको उत्तर
5 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ। 6 म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउँनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरूले त्यो घरहरू अनि शहरहरूमा दखल गर्नेछन् जुन तिनीहरूका होइनन्। 7 कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयभित पार्नेछन्। कल्दी मानिसहरू आफू जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्। 8 तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ। 9 तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।
10 “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउँनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बन्नेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउँनेछन्। 11 फेरि उनिहरू अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अगाडी बढेर जान्छ, कल्दी मानिसहरू आफ्नो शक्तिको पूजा गर्छन्।”
परमेश्वरलाई हबकूकको दोस्रो उजूर
12 हबकूकले फेरि भने, “हे परमप्रभु तपाईं,
अनन्त सम्म जीवित हुनुहुन्छ,
परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ,
जो कहिल्यै मर्नु हुँदैन।
हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरूलाई
न्याय गराउन सृष्टी गर्नुभयो।
हे हाम्रो चट्टान! तपाईले अरू राष्ट्रहरूलाई सजाय दिन,
तिनीहरूलाई नियुक्त गर्नुभयो।
13 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्।
तपाईंले ती मानिसहरूले पाप गरिरहेको हेर्न सक्नु हुन्न।
यसकारण तपाईले ती पापीहरूको बिजय कसरी हेर्नु हुन्छ?
दुष्टले धर्मी मानिसलाई जितेको देख्दा,
तपाईं किन प्रतिक्रिया गर्नुहुन्न?
14 “तपाईंले मानिसहरूलाई समुद्रको
अनगन्ती माछाहरू जस्तै बनाउनु भयो,
तिनीहरू समुद्रको जीव-जन्तु जस्तै छन्,
जसको कुनै शासक छैन।
15 शत्रुहरूले तिनीहरूलाई बल्छी,
अनि जाल लगाएर पक्रिन्छन्।
तिनीहरूले तिनीहरूलाई जालमा पक्रिन्छन्,
अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
16 बल्छी अनि जालले माछा मार्छ,
त्यसको कमाईले उसलाई मिठो खान,
र धनी हुन सहायता गर्छ।
यसकारण ती शत्रुहरूले जालको पूजा गर्छन्।
तिनीहरूले जालका निम्ति बलिदान चढाउँछन्
अनि ती चिजहरूको सम्मानमा धूप जलाउँछन्।
17 के यसरी तिनीहरू आफ्ना जालहरूले धन कमाई रहेछन्?
के तिनीहरू लगातार कुनै दया नदेखाई,
मानिसहरूलाई नष्ट पारिरहने छन्?
2 “म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु।
परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु।
म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि,
उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
हबकूकलाई परमेश्वरको जवाफ
2 परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्। 3 यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसँग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन। 4 यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”
5 परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैँ धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैँ हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरूलाई कैदी जस्तै लगिरहनेछ। 6 निश्चय नै यी मानिसहरूले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’
7 “हे, मानिस, तिमीले मानिसहरूको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरू उठ्नेछन्। उनीहरूले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरूले ती सबै कुराहरू तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ। 8 तिमीले धेरै देशहरू लुट्यौ। तर बाँकी रहेका जातिहरूले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरूको हत्या गर्यौ तिमीले खेतहरू र शहरहरू नष्ट पार्यौ र बासिन्दाहरूलाई मार्यौ।
9 “हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरू हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरू मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ। 10 तिमीले धेरै मानिसहरूको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरूले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ। 11 तिम्रो घरको पर्खालहरू तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरूले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।
12 “ती दुष्ट शासकहरूलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरूलाई मारेर शहरको निर्माण गर्छन् अनि दुष्ट्याईंद्वारा शहरहरू स्थापित गर्छन् तिनीहरूलाई नराम्रो हुनेछ। 13 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरूले निर्माण गरेको शहरहरू सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरूको सबै मेहनत बेकामको भएर जानेछ। 14 तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ। 15 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरूलाई तिनीहरूलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरू नाङ्गो लड्छन् तब हेर्छौ।[a]
16 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।
“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ। 17 लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरू लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरू अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरू अनि त्यहाँका मानिसहरूलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”
मूर्तिहरूको विषयमा समाचार
18 उसका झूटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन। 19 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।
20 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँप्रति सम्मान प्रकट गर्नु पर्छ।
हबकूकको प्रार्थना
3 शिग्गिओनोथ[b] रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।
2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें।
अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।
म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्
तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।
3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ,
आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।
4 उहाँको गौरम चम्कन्छ,
उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
5 उहाँको अघि रूढी फैलिंदै गयो
अनि विनाशक उहाँको पछि-पछि गयो।
6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो,
र तिनीहरू डरले काम्न थाले
अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे,
परमेशवर सदा यस्तै हुनुहुन्छ।
7 मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें।
मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।
8 हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो?
के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?
के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो,
के तपाईं क्रोधित हुनुहुन्थ्यो?
9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।
तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।
10 तपाईंलाई देखेर पहाडहरू काम्न थाले,
पानी पृथ्वीमा बग्न शुरु गर्यो।
जव गहिरो समुद्र भूमिबाट झर्यो
यसले ठुलो हल्ला गर्यो।
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो।
जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू,
अथवा काँडहरू जस्तै थियो।
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो,
अनि देशहरूलाई दण्ड दिनु भयो।
13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो।
जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो।
पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।
14 शत्रुका सेनाहरू जसले हामीलाई
शक्तिशाली आँधीले झैं पछ्याए।
हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले
मोशाको लौरो प्रयोग गर्नु भयो।
गुप्तरूपले गरीबलाई लुटे झैं
तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं।
15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।
16 मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो।
मैले जोडसँग सुस्केरा हालें।
मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें।
म त्यहाँ थर-थर काम्दै उभिरहें।
यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्,
म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।
परमप्रभुमा सधैँ आनन्दित बस
17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
दाखको बोटमा फल लागोस् अथवा नलागोस्,
भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्,
अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्,
खोरमा केही भेंडाहरू होस् अथवा नहोस्,
गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।
18 तर म अझै परमप्रभुमा आनन्दित रहने छु।
म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।
19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ,
उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ।
उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ।
संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरूमा बजाइने राग।
1 यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।
मानिसहरूलाई न्याय गर्नका निम्ति परमप्रभुको दिन
2 परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु। 3 म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उड्ने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।
4 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्। 5 मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु। 6 कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुशरण गर्न छोडे। तिनीहरूले परमप्रभुसँग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
7 मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
8 परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु। 9 त्यसदिन म त्यो सङ्घारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु,[c] अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”
10 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ। 11 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।
12 “त्यस समय, म एउटा बत्ती लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ। 13 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”
14 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्। 15 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ। 16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।
17 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन सङ्कटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफैं जान्ने छैनन्। किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ। 18 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”
परमेश्वरले मानिसहरूको जीवन बदलि गर भन्नुहुन्छ
2 हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिवर्तन गर। 2 तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर। 3 सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।
परमप्रभुले इस्राएलका छिमेकीहरूलाई दण्ड दिनुहुनेछ
4 गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाँहि उजाड हुनेछ। 5 पलिश्तीको उपकुलमा क्रेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्। 6 समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेंडा़को निम्ति खालि भूमि बनिनेछ। 7 तब त्यो भूमि यहूदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहूदाबाट मानिसहरूले तिनीहरूका भेंडा़लाई घाँस खान ती भूमिमा डोर्याउँने छन्। अनि साँझमा तिनीहरू अश्कलैनको खालि घरहरूमा सुत्नेछन्।
8 परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए। 9 यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।”
10 तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआव अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ। 11 ती मानिसहरू परमप्रभुसँग डराउनेछन्। किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्। 12 हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ। 13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ। 14 भेंडा़ अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्। 15 नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।
यरूसलेमको भबिष्य
3 यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ। 2 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन। 3 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेंडा़हरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन। 4 त्यसका अगमवक्ताहरूले धेरै प्राप्त गर्न सधैँ गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्। 5 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैँ उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।
6 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्। 7 मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसँग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।
8 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुन्जेल अनि तिम्रो न्याय गरून्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तिमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु। 9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्। 10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।
11 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डी मानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्। 12 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्। 13 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेंडा़ जस्तै हुनेछन् जुन खाए पछि शान्तसँग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”
एउटा खुशीको गीत
14 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ।
हे इस्राएल! आनन्दले कराऊ,
यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
15 किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो।
उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो।
इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ।
तिमीले कुनै नराम्रो घट्नाको बारेमा,
चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।
16 त्यस बेला यरूशलेमलाई भनिनेछ,
“नडराऊ, बलवान होऊ।
17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ।
उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ।
उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ।
तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ।
उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
18 चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।”
परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु।
म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।
19 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु,
जसले तिमीलाई चोट पुर्याए।
मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु।
म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु
अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु
जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।
20 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु,
म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु,
म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु।
प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्।
यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी,
ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।”
परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
यो मन्दिर निर्माणको समय हो
1 फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
3 फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। 4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? 5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। 6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! 8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ। 10 यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।”
नयाँ मन्दिरको कार्य आरम्भ
12 तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले।
13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले। 15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो बर्षको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।
परमप्रभुले मानिसलाई उत्तेजित पार्न थाल्नुभयो
2 सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो। 2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन, 3 ‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’ 4 तर यरूबाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।
5 परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’ 6 किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई थर्रथर्र कमाउँनेछु। 7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसँगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, 8 ‘तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, 9 ‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।’” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
आज आशिषको कार्यको आरम्भ
10 फारसका राजा दाराको दोस्रो बर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो। 11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ। 12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”
पूजाहारीले उत्तर दियो, “अँहँ।”
13 त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”
अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”
14 तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।
15 “‘तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो? 16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो। 17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”
18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच। 19 के बीऊहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ, छैन। तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”
20 अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो: 21 “यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु। 22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।” 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।”
सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।
परमप्रभु अफ्ना मानिसहरूलाई फेरि फर्काउन चाहनु हुन्छ
1 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौं महिनामा आएको थियो। (जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः
2 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो। 3 यसर्थ तिमीहरूले मानिसहरूलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरूकहाँ फर्केर आउँनेछु।”
4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
5 परमप्रभुले भन्नुभयो, “तिमीहरूका पिता-पुर्खाहरू मरिसके अनि अगमवक्ताहरू सधैँ बाँचिरहँदैनन्। 6 अगमवक्ताहरू मेरा सेवकहरू थिए। मैले उनीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूलाई मेरो व्यावस्था अनि शिक्षाहरूको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरूका पिता-पुर्खाहरूले शिक्षाहरू ग्रहण गरे। तिनीहरूले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरूले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”
घोडाहरूको दर्शन
7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः
8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए। 9 मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?”
त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।”
10 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”
11 त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”
12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।”
13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। 14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:
“यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।
15 म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु,
जसले आफू अति सुरक्षित अनुभव गर्छ,
म अधिक क्रोधित भएको थिएँ,
अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि,
ती जातिहरूको प्रयोग गरें।
तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”
16 यसकारण, परमप्रभु भन्नुहुन्छ,
“म यरूशलेममा कृपा सहित जान्छु।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ
अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।”
17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन,
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
‘मेरो शहरमा फेरि उन्नति हुनेछ,
परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ,
उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’”
सींङहरूको दर्शन
18 तब मैले माथि हेरें अनि चारवटा सींङको दर्शन पाएँ। 19 अनि मैले मसँग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरूको दर्शन के हो?”
उनले भने, “यी ती सींङहरू हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरूलाई छरपष्ट पारेका थिए।”
20 त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरू देखाउँनु भयो। 21 मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरू किन आएकाछन्?”
उहाँले भन्नुभयो, “यी सींङहरू जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरू ती देशहरू जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरू खडा पारे ती देशहरूलाई डर देखाउँन अनि तिनीहरूको सींङहरू फ्याँकिदिन आएका हुन्।”
यरूशलेमलाई नाप्ने मानिसको दर्शन
2 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। 2 मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”
3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
4 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्:
“‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ।
किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’
5 परमप्रभु भन्नुहुन्छ,
‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु,
म तिमीहरूको महिमा हुनेछु।’”
परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ
परमप्रभु भन्हुन्छ,
6 “छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर!
जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।
7 हे सियोनका मानिसहरू!
जो बाबेलमा कैदीछौ, दगुर!”
8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
“उहाँले मलाई त्यस देशको बिरुद्ध
पठाउँनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
9 अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु।
तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
यहाँ पठाउँनु भएको हो।
10 परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
11 त्यससमय धेरै जातिका मानिसहरू
परमप्रभु कहाँ आउँनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
म तिमीहरूको बीचमा बस्नेछु।
अनि तिमीहरूले जान्नेछौ कि
सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”
12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस!
आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।
प्रधान पूजाहारीको बारेमा दर्शन
3 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। 2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। 4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः
7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमीले मैले भने जस्तै गरी बस्यै
अनि मेरो सेवा गर्यौ भने,
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।
तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
8 प्रधान पूजाहारी यहोशू, सुन्।
तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउँदैछु।
उसलाई, ‘हाँगा’ भनिन्छ।
9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें।
त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु,
म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”
10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई
तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
सुनौलो सामदान अनि दुइवटा भद्राक्षेका रूखहरू
4 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए। 2 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?”
मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरू निक्लिँदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो तेल हरेक दियोको प्याला सम्म जाँदै छन्। 3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।” 4 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ के होला?”
5 मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”
मैले भनें, “थाहाछैन महाशय।”
6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। 7 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”
8 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो, 9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। 10 मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”
11 त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुइवटा भद्राक्षको बोटहरूले के अर्थ बुझाउँछ?” 12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।”
13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”
मैले भनें, “छैन महाशय।”
14 यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”
उडिरहेको पत्रको दर्शन
5 तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें। 2 स्वर्गदूतले मलाई सोधे, “तिमीले के देख्यौ?”
मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”
3 त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झूटो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छ। 4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झूटा मानिसहरूको घरमा पठाउनेछु। जसले झूटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’”
स्त्री अनि बाल्टी
5 त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”
6 मैले भनें, “यो के हो?”
उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बोकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरू नाप्न बनिएको हो।”
7 बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ। 8 तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिएँ अनि सिसाले छोपी दिएँ। 9 तब मैले मेरो आँखा खोलें अनि दुइजना स्त्रीहरू तिनीहरूको पखेंटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरूको पखेंटाहरू सारसको जस्तै थिए। तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे। 10 तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”
11 स्वर्गदूतले मलाई भनें, “तिनीहरू शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहेका छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”
चारवटा रथहरू
6 तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुइवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें। 2 पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए। 3 तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए। 4 तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”
5 स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्। 6 काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।”
7 बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।
8 तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”
पूजाहारी यहोशूले एउटा मुकुट पाउँछन्
9 तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 10 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। 11 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। 12 तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ:
‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ।
त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ
र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ
अनि सम्मान गरिनेछ।
यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ।
ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ
र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’
14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”
15 टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।
परमप्रभु दया र करूणा चाहनु हुन्छ
7 फरसमा दाराको राज्यकालको चौथो बर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो। 2 बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए। 3 तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति बर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक बर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”
4 सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो, 5 “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी बर्ष देखी बर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन! 6 जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’ 7 यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो? अँहँ, होइन। उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगेव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”
8 जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः
9 “सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो,
‘तिमीहरूलाई जे सत्य र उचित लाग्छ त्यही गर्नु पर्छ।
तिमीहरू एक अर्काप्रति दयालु
र करूणामय हुनु पर्छ।
10 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी
अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन।
एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।’”
11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे
जे उहाँले गर्न चाहनु हुन्थ्यो।
तिनीहरूले आफ्ना कान बन्द गरे
जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
12 तिनीहरू हट्ठी थिए।
तिनीहरूले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे।
आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले
अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरूलाई वचन पठाउँनुभयो।
तर मानिसहरूले त्यो सुनेनन्,
यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
13 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो,
“मैले तिनीहरूलाई बोलाएँ,
तर तिनीहरूले उत्तर दिएनन्,
यसकारण अब मलाई तिनीहरूले बोलाए पनि
म तिनीहरूलाई उत्तर दिनेछैन।
14 म अब तिनीहरूलाई एउटा आँधी-बेहरीले झैं
तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु।
जब तिनीहरू यो देश भएर जान्छन्
तिनीहरूले छोडे को भूमि उजाड हुनेछ।
त्यो सुन्दर भूमि नष्ट हुनेछ।”
परमप्रभुबाट यरूशलेमलाई आशीर्वाद दिने प्रतिज्ञा
8 यो वचन सर्वशक्तिमान परमप्रभुको हो। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसँग क्रोधित भएँ।” 3 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेक्ने लौरोको आवश्यकता पर्नेछ। 5 अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।” 6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु। 8 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।”
9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो। 10 त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ। 11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”
12 “ती मानिसहरूले शान्तिसँग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु। 13 मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”
14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 15 “तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु। 16 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँच्चो, ठिक र शान्ति ल्याउने निर्णय होस्। 17 तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झूटो कसम नखाऊ। किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।
18 मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ। 19 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन हर्ष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”
20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।
21 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्,
‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं,’
अनि अर्कोले भन्नेछ,
‘म पनि तिमीहरू सित जान चाहन्छु।’”
22 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्। 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, ‘हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’”
अन्य जातिहरूको विरूद्ध न्याय
9 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको राजधानी दमीशकको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्। 2 यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्। 3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ। 4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।
5 अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन। 6 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता कोहुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु। 7 म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै। 8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”
भबिष्यको राजा
9 हे सियोन, आनन्दित होऊ!
यरूशलेमका मानिसहरू खुसिले कराऊ!
हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्।
उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ।
उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ,
उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू नष्ट पारें
अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें।
मैले युद्धमा प्रयोग गरेको धनुहरू नष्ट पारें।”
उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ।
त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ।
उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
परमप्रभुले उहाँका मानिसहरूलाई रक्षा गर्नुहुन्छ
11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले
म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू।
अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले,
जति गुमाएकाछौ त्यसको दुइगुणा ज्यादा,
म तिमीहरूलाई दिनेछु।
13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु।
एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु।
सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध
युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।
14 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ
अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ।
परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ
अनि सेनाहरू मरुभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
15 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ।
सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्।
उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्,
यो दाखरस जस्तै बग्नेछ।
यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।
16 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले
उहाँका मानिसहरूलाई बचाउँनु हुनेछ,
जसरी गोठालोले आफ्ना भेंडा़हरूलाई बचाउँ छ।
तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्।
त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
17 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्।
त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ।
त्यो केवल अन्न र दाखरसको नभएर
नयाँ केटा-केटीहरूको हुनेछ।
परमप्रभुको प्रतिज्ञा
10 वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
2 मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेंडा़हरू जस्तै सहायताको निम्ति यता उता भट्की हिँड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
3 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)
4 “कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ। 5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्। 6 म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु। 7 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसँग आनन्द मनाउँनेछन्।
8 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ। 9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्। 10 म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।” 11 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति नष्ट गरिदिनुभयो। 12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
© 2004, 2010 Bible League International