Bible in 90 Days
20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ। 21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ। 22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ। 23 तर यदि तिमीहरूले यी कामहरू गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ। 24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”
25 त्यसपछि रूबेन र गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं। 26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यहीं गिलाद शहरमा रहनेछ। 27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पारी युद्धमा जानेछौं।”
28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ। 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ। 30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”
31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ। 32 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”
33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
34 गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए। 35 अतारोत-शोपान, याजेर, योगबहा, 36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेंडाको खोरहरू निर्माण गरेका थिए।
37 रूबेनका कुलले हेशबोन, एलाले, किर्यातैम, 38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।
39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे। 40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। 41 मनश्शे कुलका याईर गई त्यहाँका साना-साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे। 42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।
मिश्रदेशबाट इस्राएलीहरूको यात्रा
33 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्। 2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे। 4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे। 6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले। 7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यहीं छाउनी बसाले।
10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले।
12 ती मानिसहरूले सीन मरुभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
13 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
14 ती मानिसहरूले आलूशबाट यात्रा गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले।
16 ती मानिसहरूले सीनै मरुभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
17 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
18 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
19 ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
20 ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
21 ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
22 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
25 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
26 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
27 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
28 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
29 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
31 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
33 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
34 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
35 ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
36 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरुभूमिको कादेशमा छाउनी हाले।
37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो। 38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस बर्ष पुगेको थियो। 39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 बर्ष भएको थियो।
40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने। 41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
42 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
43 ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
45 ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
47 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले। 49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
50 यरीहोको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, 51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, 52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेद्नु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ। 53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ। 54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ-जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्। 56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
कनानको सिमानाहरू
34 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ। 3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरुभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ। 4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरुभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ। 5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ। 6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो। 7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ। 8 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ। 9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ। 10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ। 11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको[a] छेउ सम्म जानेछ। 12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”
13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ। 14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके। 15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”
16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्। 18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ। 19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः
यहूदाको कुलबाट यपून्नेका छोरो कालेब,
20 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,
21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,
22 दानको कुलबाट योगीलीको छोरो बुक्की,
23 यूसुफको सन्तानहरू,
मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल,
24 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,
25 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,
26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,
27 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,
28 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”
29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।
लेवीहरूको शहर
35 यरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खर्कको भूमि पनि दिऊन्। 3 लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्। 4 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ। 5 तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ। 6 तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ। 7 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ। 8 इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”
9 परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्, 11 तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अन्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ। 12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरून्जेल सम्म त्यहाँ सुरक्षित रहन सक्छ। 13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्। 14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्। 15 यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अन्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू मध्ये कुनैमा गएर शरण लिन सक्छ।’
16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ। 17 यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ। 18 यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ। 19 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ, 21 अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
22 “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन, 23 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अन्जानमा घटेको घटना हो। 24 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ। 25 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारी[b] मर्दैन।
26 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छ, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो, 27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन। 28 किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ। 29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।
30 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।
31 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।
32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरून्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।
33 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यारालाई मुक्त पार्ने। 34 म परमप्रभु हुँ। म सधैँ इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”
सलोफादकी छोरीहरूको देश
36 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने, 2 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो। 3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ। 4 इस्राएलीहरूको पुनर्स्थापनाको समय[c] आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूको कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौनौं।”
5 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो। 6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन्: हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ। 7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ। 8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्। 9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो। 11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे। 12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
मोशा इस्राएलीहरू सँग कुरा गर्नुहुन्छ
1 जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
2 सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ। 3 तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस बर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं बर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने। 4 परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो। 5 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
6 “होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ। 7 अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ। 8 हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’”
मोशा अगुवाहरू छान्छन्
9 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ। 10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ। 11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्। 12 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडा़हरू समाधान गर्न असमर्थ छु। 13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
14 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’
15 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।
16 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडा़मा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा़ इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्। 17 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडा़को विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’ 18 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
कनानमा जासूसहरू जान्छन्
19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बर्नेमा पुग्यों। 20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ। 21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
22 “तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुन-कुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
23 “तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें। 24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे। 25 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ। 27 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो। 28 अब हामी कहाँ जान सक्छौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् “त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।”’
29 “यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ। 30 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ। 31 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’
32 “तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ। 33 जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
मानिसहरूलाई कनान जान दिइएन
34 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, 35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन। 36 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ। 38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’ 39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्। 40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’
41 “तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’
“तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं। 42 तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन, किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’
43 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ। 44 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे। 45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन। 46 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।
इस्राएलीहरू मरुभूमिमा घुमी हिँडे
2 “तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरुभूमिमा गयौं। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं। 2 तब परमप्रभुले मलाई भन्नुभयो, 3 ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ। 4 मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस। 5 तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु। 6 तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ। 7 यो विशाल मरुभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस बर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’
8 “यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयौं। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरुभूमितिर जाने बाटो लाग्यौं।
आरमा इस्राएलीहरू
9 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’”
10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए। 11 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे। 12 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।)
13 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं। 14 जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 बर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे। 15 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।
16 “योद्धाहरू मरेपछि, 17 परमप्रभुले मलाई भन्नुभयो, 18 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ। 19 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।’”
20 (त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्थे। 21 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्। 22 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्। 23 कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।)
अम्मोरीहरूको पराजय
24 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडाइँ गरेर त्यो भूमि अधिनमा पार। 25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’
26 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फत् पठाएँ। तिनीहरूले भने, 27 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं। 28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं। 29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिँड्नु देऊ।’
30 “तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
31 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’
32 “जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए। 33 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए। 34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं। 35 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों। 36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिक्न सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो। 37 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।
बाशानका मानिसहरूसित लडाइँ
3 “त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए। 2 परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’
3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। 4 त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं। 5 यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए। 6 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं। 7 तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।
8 “यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं। 9 (हर्मोनलाई सीदोनीहरूले सिर्योन र एमोरीहरूले सनीर भन्छन्।) 10 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”
11 (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)
यर्दन नदीको पूर्व भूमि
12 “यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्। 13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”
(बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो 14 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोबको सम्पूर्ण क्षेत्र गशूरी र मकाती मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बात याईर भनेर जान्न सकिन्छ।)
15 “मैले गिलाद माकीरलाई दिएँ। 16 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो। 17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।
18 “त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ। 19 मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्। 20 तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउन्जेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’
21 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुइ राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ। 22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’
मोशालाई कनान जाने अनुमति दिइएन
23 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें, 24 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्। 25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
26 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर। 27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ। 28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’
29 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्
4 “अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। 2 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
3 “बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। 4 तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
5 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ। 6 यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
7 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। 8 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। 9 तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ। 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ 11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो। 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
15 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो। 16 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ। 17 पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ। 18 भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौड़नें प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ। 19 अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोड़दिनु भएको छ। 20 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।
21 “तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो। 22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ। 23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ। 24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।
25 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ। 26 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ। 27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ। 28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्। 29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ। 30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ। 31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।
परमप्रभुले गर्नु भएका महान कार्यहरूको स्मरण गर
32 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन! 33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन। 34 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ। 35 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन। 36 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।
37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो। 38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।
39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। 40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
मोशा सुरक्षाका शहरहरू रोजछन्
41 यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो 42 यदि कुनै मानिसले अन्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो। 43 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।
मोशाको व्यवस्थाको परिचय
44 मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए। 45 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए। 46 जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए। 47 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे। 48 यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।) 49 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पर्थ्यो।
दश आज्ञाहरू
5 मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन। 2 परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो। 3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ। 4 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो। 5 तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,
6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।
7 ‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।
8 ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। 9 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। 10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
11 ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।
12 ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। 13 सातामा छ दिन आफ्नो काम गर। 14 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। 15 यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।
16 ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
17 ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
18 ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।
19 ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।
20 ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।
21 ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’”
मानिसहरू परमेश्वरदेखि डराए
22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए। 24 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावनाकम हुन्छ। 25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाँहदैनौ। 26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं। 27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’
परमप्रभु मोशासँग बोल्नुहुन्छ
28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो। 29 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।
30 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन। 31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुशरण गर्नु नछोड। 33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।
सधैँ परमेश्वरलाई प्रेम गर र उहाँको आज्ञा पालन गर
6 “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर। 2 सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ। 3 हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।
4 “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। 5 तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। 6 आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। 7 जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं। 8 मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख 9 तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
10 “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। 11 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।
12 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो। 13 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ। 14 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन। 15 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
16 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन। 17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ। 18 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ। 19 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।
परमप्रभुले जस्तै आफ्ना नानीहरूलाई शिक्षा देऊ
20 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ 21 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो। 22 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं। 23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो। 24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ। 25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले यसो भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’
इस्राएलीहरू परमेश्वरका विशेष मानिसहरू
7 “तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरू भन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ। 2 परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ। 3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ। 4 किनभने तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई नष्ट पार्नु हुनेछ।
झूटा देव-देवताहरू ध्वंश पार
5 “तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ। 6 किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ। 7 किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। 8 तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।
9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। 10 तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न। 11 यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।
12 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुशरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेंडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
14 “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू ब्याउन योग्य हुनेछन्। 15 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ। 16 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
परमप्रभु आफ्ना मानिसहरूलाई सहायता गर्ने प्रतिज्ञा गर्नुहुन्छ
17 “‘यी देशहरू हामी भन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ,’ यस्ता कुराहरू मनमा नसोच। 18 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो। 19 तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा प्रयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।
20 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बिच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई नष्ट पार्नु हुनेछ। 21 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ। 22 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगली जनावरहरू तिमीहरूका लागि ज्यादै बढ्ने छन्। 23 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ। 24 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।
25 “तिमीहरूले तिनीहरूका देवी-देवताको मूर्तिहरू आगोमा फ्याँकिदिनु पर्छ अनि जलाएर नष्ट पारिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा नष्ट पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुन्न। 26 तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।
© 2004, 2010 Bible League International