Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 3:28-15:12

28 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुशरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”

यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुशरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। 29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। 30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 बर्षसम्म शान्ति भईरह्यो।

न्यायकर्ता शमगर

31 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको प्रयोग गरे।

स्त्री न्यायकर्ता दबोरा

एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे। यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे। सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस बर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्। दबोरा, दबोराको खूजरको रूख मुनि बस्ने गर्थिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो। दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ। म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।’”

तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानुहुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानुहुन्न भने म जाने छैन।”

दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु, तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।”

यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्। 10 केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुशरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

11 अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

12 कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो। 13 यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

14 तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे। 15 बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्रमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलनै भागे। 16 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।

17 तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन्। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे। 18 याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।

19 सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।

20 तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेश स्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।’”

21 तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो।

22 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।

23 त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। 24 यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारून्जेल झन्-झन् शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

दबोरा र बाराकको स्तुति गीत

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

“इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए।
    तिनीहरू स्वेच्छाले युद्धमा जाने भए!
परमप्रभुलाई धन्यवाद चढाऊ!

“हे राजाहरू हो। सुन!
    हे शासकहरू हो। सुन!
म गाउनेछु।
    म स्वयं परमप्रभु प्रति गाउँनेछु।
म परमप्रभुका निम्ति,
    इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।

“हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो।
    तपाईं एदोम देशबाट हिंड्नु भयो।
तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो,
    आकाशबाट वृष्टि भयो,
    मेघहरूले पानी बर्साए।
परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।

“अनातका छोरा शमगरको समयमा,
    याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए।
    व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

“त्यहाँ कोही सेनाहरू थिएनन्।
    दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई,
    तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

“परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो।
    शहरका द्वारहरूमा लड्नका निम्ति।
इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल
    अनि एक भाला पाउँन सकेनन्।

“मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ,
    जो स्वेच्छाले युद्धमा जाने भए!
परमेश्वर प्रति धन्यवाद चढाऊ!

10 “सेतो गधाको ढाडमा चढ्ने,
    जीनको कम्बलमा बस्ने
    अनि बाटोमा हिंड्ने
    तिमी मानिसहरू ध्यान देऊ।
11 पशुहरूको लागि पानी भएको खाडलहरूमा
    हामी झ्याम्टाको सङ्गीत सुन्दछौं।
मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय,
    जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए,
    त्यस विषयमा गाउँछन्।

12 “जाग, व्यूँझ दबोरा!
    जाग, जाग अनि गीत गाऊ!
हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ
    तिम्रा शत्रुहरूलाई कब्जा गर।

13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ।
    परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

14 “एप्रैमका मानिसहरू
    अमालेकको पहाडी देशबाट आए।
बिन्यामीन, ती मानिसहरूले,
    तिमी अनि तिम्रा मानिसहरूको अनुशरण गरे।
अनि, माकीरका कुलका सेनापतिहरू
    त्यहाँ उपस्थित थिए।
जबूलून कुल समूहको नायकहरू
    अधिकारीहरू र कर्मचारीहरूसित आए।
15 इस्साकारका अगुवाहरू दबोरासितै आए;
    तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए।
    ती मानिसहरू हिंडेर भञ्ज्याङ गए।

“रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।
16 यसर्थ, तिमीहरू किन भेंडा-शिबिरका अग्निहरूमा अलमली बस्यौ?
रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे।
    तर तिनीहरूले आफ्ना भेंडाहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।
17 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ
आफ्ना छाउनीमा बसे।
    अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ?
आशेरका मानिसहरू सागर छेउमा बसे,
    आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।

18 “तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।
19 कनानका राजाहरू युद्ध गर्न आए,
    तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्।
तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।
20 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे,
    आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।
21 कीशोन नदी-त्यो प्राचीन नदीले
    सीसराका मानिसहरूलाई बगाएर लग्यो।
मेरो आत्मा, पराक्रम सहित अघिबढ!
22 घोडका टापहरूले भूइँ ठोके।
    सीसराका शक्तिशाली घोड झन्-झन् दौडे।

23 “परमप्रभुका स्वर्गदूतले भन्नुभयो,
‘मेरोज शहरलाई श्राप देऊ,
    यसका मानिसहरूलाई श्राप देऊ।
परमप्रभुलाई सघाउन तिनीहरू
    सेनासित आएनन्।’
24 याएल केनी हेबेरकी पत्नी थिइन्।
    तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।
25 सीसराले पानी मागे,
    याएलले उसलाई दूध दिइन्।
शासकलाई कचौरामा तिनले
    राम्रो घिऊ ल्याइदिइन्।
26 तब याएल बाहिर गइन् अनि पालको कीला लिइन्।
    तिनको दाहिने हातले एउटा मार्तोल लिइन,
    जो एकजना मजदूरले प्रयोग गर्छ।
त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्,
तिनले उसको शिरमा हिर्काइन्,
    अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्।
27 उनी याएलका पाउ माझ घोप्टो परे
    उनको मृत्यु भयो।
अनि उनी त्यहीं लडे।
    जहाँ सीसरा घोप्टो परे,
त्यहीं त्यसको मृत्यु भयो।
    अनि तिनी मृत्यु लोकमा पुगे।

28 “हेर, त्यहाँ सीसराकी आमा छिन्,
    झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्,
अनि विलाप गर्दै छिन्।
‘सीसराको रथ किन यति ढीलो भयो?
    उसको रथको आवाज म किन सुन्दिन?’

29 “तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन्
    साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।
30 ‘म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे,
    अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्।
    तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँड्दैछन्।
प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्।
    हुनसक्छ, सीसराले एक टुक्रा रंगीन वस्त्र भेट्टाए।
त्यो यही हो! सीसराले एक टुक्रा बेल-बुट्टादार वस्त्र।
    हुन सक्छ, दुइ टुक्रा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।’

31 “हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्!
    अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”

यसरी त्यो भूमिमा 40 बर्षसम्म शान्ति रह्यो।

मिद्यानीहरू इस्राएलसित युद्ध गर्छन्

फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात बर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।

मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेट्न गाह्रो पर्ने स्थानहरूमा लुकाए। तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।

मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ 10 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।”

परमप्रभुका स्वर्गदूत गिदोन भ्रमण गर्छन्

11-12 त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”

13 तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

14 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

15 तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

16 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

17 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्। 18 कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।”

अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”

19 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा[a] जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए।

20 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले त्यसै गरे जस्तो स्वर्गदूतले भने।

21 परमप्रभुको दूतसित हातमा एउटा हिँड्दा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

22 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

23 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

24 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

गिदोनले बालको वेदी ढालि दिन्छन्

25 त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात बर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँढेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे। 26 त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”

27 यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।

28 शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो गिदोनले निर्माण गरेका थिए। अनि तिनीहरूले त्यो साँढेहरू देखे जसलाई वेदीमा बलिदान चढाइएको थियो।

29 शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे।

कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”

30 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”

31 तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफैँ गर्नु पर्ने।” 32 योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई “यरूब्बाल” भने।

गिदोनले मिद्यानका मानिसहरूलाई पराजित गर्छन्

33 मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे। 34 परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो, अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुशरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके। 35 गिदोनले मनश्शेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनश्शेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।

36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्। 37 म भेंडाको ऊन ढीकीमा[b] राख्नेछु। यदि भेंडाको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुख्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

38 अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेंडाको ऊन निचोरे। तिनले भेंडाको ऊनबाट एक कचौरा भरि पानी निकाले।

39 तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्रोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेंडाको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेंडाको ऊन सुख्खा रहोस्।”

40 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेंडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।

तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’”

त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे।

तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”

यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।”

तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।

मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए। राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। 10 यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा। 11 मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।”

यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। 12 मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसँग ऊँटहरू पनि थिए।

13 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

14 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”

15 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।” 16 तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। 17 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। 18 तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’”

19 यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडो फुटाए। 20 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”

21 गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यहीं छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे। 22 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।

23 तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। 24 गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्रमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।”

यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे। 25 एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्रे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”

तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख, मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र? यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्।

गिदोनले मिद्यानका दुइ राजाहरूलाई कब्जा गर्छन्

जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”

तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”

गिदोन सुक्कोत शहर छोडेर पन्‌एल शहर तिर गए। गिदोनले पन्‌एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्‌एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए। यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

10 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 स-शस्त्र सैनिकहरू मारिएका थिए। 11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्। 12 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

13 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए। 14 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।

15 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” 16 गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे। 17 गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

18 तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”

जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

19 गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाइहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”

20 त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।

21 तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।

गिदोन एपोद बनाउछन्

22 इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”

23 तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”

24 इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”

25 यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले। 26 जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700 शेकेल[c] भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्री पनि दिए।

27 गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा प्रयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।

गिदोनको मृत्यु

28 मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस बर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।

29 त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे। 30 गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए। 31 गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।

32 यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे। 33 गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुशरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए। 34 इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्। 35 इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।

अबीमेलेक राजा हुन्छन्

अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने, “शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।’”

अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुशरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।” यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा प्रयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।

अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।

तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

योतामको कथा

योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः

“शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

“एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’

“तर भद्राक्षको रूखले भन्यो, ‘मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?’

10 “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘आऊ, अनि हाम्रो राजा बन।’

11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नु?’

12 “त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

13 “तर अंङ्गुरको बोटले उत्तर दियो, ‘मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?’

14 “आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

15 “तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।’

16 “अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो। 17 तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे। 18 तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्। 19 यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमान्नदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्। 20 तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

21 योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजू अबीमेलेकसित डराएका थिए।

अबीमेलेक शकेम विरूद्ध लडाँईं गर्छन्

22 अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन बर्षसम्म शासन गरे। 23-24 अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड़ा उत्पन्न गराइ दिनुभयो। 25 शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्रमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।

26 गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुशरण गर्ने निर्णय गरे।

27 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।

28 तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुशरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।) 29 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।’”

30 जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए। 31 जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः

“एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ। 32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। 33 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्रमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लड्नका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लड्नका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।”

34 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके। 35 एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।

36 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।”

तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”

37 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।” 38 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

39 यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए। 40 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।

41 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए।

42 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। 43 यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्रमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्रमण गरे। 44 अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए। 45 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।

46 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

47 अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने। 48 यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।” 49 यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुशरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो।

अबीमेलेकको मृत्यु

50 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। 51 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। 52 अबीमेलेक अनि उसका मानिसहरू आक्रमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे। 53 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन। 54 अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’” मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। 55 इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।

56 त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे। 57 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)

न्यायकर्ता तोला

10 अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।

न्यायकर्ता याईर

तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।

अम्मोनीहरू इस्राएल विरूद्ध युद्धगर्छन्

फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। त्यसै बर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार बर्षसम्म दुःख भोगे। अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

10 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसँग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”

11 परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ। 12 जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ। 13 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु। 14 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”

15 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।” 16 तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।

यिप्तह प्रमुखको रूपमा चुनिए

17 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो। 18 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

11 यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए। गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुर्किए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तहलाई उसको निवास शहर छोड्न वाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैंले हाम्रा पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्की स्त्रीको छोरो होस्।” यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुशरण गर्न थाले।

केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे। अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।

बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।”

तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”

गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”

तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”

10 गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।”

11 यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।

अम्मोनका राजालाई यिप्तहको सन्देश

12 यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडाईँ गर्न आएका छौ?”

13 अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

14 यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए। 15 तिनीहरूले यो सन्देश लगेः

“यिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन। 16 जब इस्राएलका मानिसहरू मिश्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरुभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए। 17 इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।’ तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।

18 “त्यसपछि इस्राएलका मानिसहरू मरुभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

19 “त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।’ 20 तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे। 21 तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो। 22 यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोक सम्म अनि मरुभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो।

23 “उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाड्न लाउन सक्छु भनी तिमी ठान्छौ? 24 निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ। 25 के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे? 26 इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 बर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ? 27 इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँच्चो न्यायकर्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।”

28 अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे।

यिप्तहको भाकल

29 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

30 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने, 31 म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”

32 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो। 33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

34 यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्। 35 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्नै छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बस्त्रहरू च्याते। जब तिनले भने, “हे, मेरी छोरी! तैंले मलाई शेष पारिस्। तैंले मलाई अति भन्दा अति अफसोसमा पारिस्। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सक्दिनँ!”

36 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”

37 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”

38 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।

39 दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो। 40 हरेक बर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।

यिप्तह अनि एप्रैम

12 एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घरसँगै जलाउने छौं।”

यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ। तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखें। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारें। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउँछौं?”

त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरूद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरूद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए। गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने तिनीहरूले भन्छन्, “‘शिब्बोलेत’ शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि ऊ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।

यिप्तह छः बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।

न्यायकर्ता इब्सान

यिप्तह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। इब्सान बेतलेहेम शहरका थिए। इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। 10 तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।

न्यायकर्ता एलोन

11 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे। 12 तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।

न्यायकर्ता अब्दोन

13 एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। अब्दोन पिरातोन शहरका थिए। 14 अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता रहे। 15 तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।

शिमशोनको जन्म

13 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस बर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।

सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्। परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ। कुनै दाखरस वा अरू कुनै कडा पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्ध छ। किनभने तिमी गर्भवती छौ र तिमीले छोरा जन्माउनेछ्यौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। ऊ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”

त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन। तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ र एउटा छोरा जन्माउनेछ्यौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।’”

तब मानोहले परमप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौं कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”

मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्। 10 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुरिन्, “त्यो मानिस फेरि आयो! जो यहाँ अघिल्लो दिन म कहाँ आएको थियो।”

11 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?”

स्वर्गदूतले भने, “म नै हुँ।”

12 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस् केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ? उसले के गर्नुपर्छ?”

13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ। 14 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कडा पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

15 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”

16 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)

17 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”

18 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”

19 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ। 20 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरि रहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठ्दै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।

जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए। 21 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन। 22 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”

23 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”

24 यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो। 25 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।

शिमशोनको विवाह

14 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे। जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”

तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”

तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।” शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध केही घटनाहरू घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।

शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्जियो अनि शिमशोनतिर झम्ट्यो। शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्रा-टुक्रा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्रा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।

यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्। धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए। शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।

10 शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए। 11 जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।

12 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु। 13 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”

14 शिमशोनले तिनीहरूलाई अड्को सुनाएः

“खानेबाट केही खानेकुरा निस्क्यो।
    बलवानबाट केही गुलियो कुरा निस्कयो।”

ती 30 जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।

15 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्कोको उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”

16 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”

17 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।

18 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,

“महभन्दा गुलियो के हुन्छ?
सिंहभन्दा बलियो को हुन्छ?”

तब शिमशोनले तिनीहरूलाई भने,

“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए
    तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”

19 शिमशोन अत्यन्त क्रोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्को को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20 शिमशोनले उसकी नयाँ दुलहीलाई आफूसँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।

शिमशोनले पलिश्तीहरूका निम्ति विपद ल्याउँछन्

15 गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।”

तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्। उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसँग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”

तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”

यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्रे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए। शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।

पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?”

शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।

त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”

तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्रमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो। तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे। 10 यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?”

उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”

11 तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”

शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”

12 तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”

शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International