Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 9:14-10:31

येहू यिज्रेल जान्छन्

14 यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।

त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए। 15 राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाईँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए।

यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंड्न नदिनु।”

16 योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योरामसँग भेट गर्न यिज्रेल आएका थिए।

17 एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।”

योरामले भने, “तिनीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”

18 यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’”

येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”

रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”

19 तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’”

येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”

20 रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”

21 योरामले भने, “मेरो रथ तयार गर!”

यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।

22 योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”

येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका काम गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”

23 योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”

24 तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।

25 येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ। 26 परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”

27 यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।”

अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे। 28 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।

29 अहज्याह योराम इस्राएलको राजा भएको एघारौं बर्षमा यहूदाका राजा भएका थिए।

ईजेबेलको डरलाग्दो मृत्यु

30 येहू यिज्रेल गए अनि ईजेबेलले खबर सुनीन्। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी झ्यालमा उभिन् र बाहिर हेरिन्। 31 येहूले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्री! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौ।”

32 येहूले माथि झ्यालमा हेरे। उनले भने, “माथितिर को छ? कोहो?”

दुइ अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे। 33 येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।”

तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे। 34 येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”

35 मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए। 36 यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्। 37 ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।’”

येहू सामरियाका प्रमुखहरूलाई लेख्छन्

10 आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने, 2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिह्रिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।”

तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुइ जना राजा (योराम र अहज्याह) ले येहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”

जुन मानिसले आहाबले घरको हेरचाह गर्यो, शहरका बूढा-पाका अनि मानिसहरूको रेख-देख गर्यो जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहूलाई सन्देश पठायो, “हामी तपाईको सेवकहरू हौं। हामी तपाईले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाई जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।”

सामरियाका अगुवाहरूले आहाबका नानीहरूलाई मार्छन्

तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”

आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे। जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए। दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।”

तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुइ थुप्रो बनाएर राख।”

येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ। 10 तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”

11 यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।

येहू अहज्याहका आफन्तहरूलाई मार्छन्

12 येहूले यिज्रेल छोडे अनि सामारिया गए। बाटोमा येहू भेंडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेंडाहरूको ऊन काट्ने गर्दथे। 13 येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?”

उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”

14 तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।”

येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।

येहू यहोनादाबसित भेट गर्छन्

15 त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र हौ?”

यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।”

येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”

तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।

16 येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।”

यसकारण यहोनादाब येहूको रथमा चढे। 17 येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।

येहू बालका उपासकहरूलाई बोलाउँछन्

18 त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ। 19 अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरू यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।”

तर येहू तिनीहरूसँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे। 20 येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे। 21 तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।

22 येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।

23 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।” 24 बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे।

तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”

25 येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”

यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए। 26 तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए। 27 तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीटो बनाए। तिनीहरूले बालको मन्दिरलाई आरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।

28 यसप्रकार येहूले इस्राएलमा बालको पूजालाई अन्त गरिदिए। 29 तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।

इस्राएलमा येहूको शासन

30 परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”

31 तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।

प्रेरित 17

थिस्सलोनिकामा पावल र सिलास

17 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो। पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे। पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।” कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससँग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससँग सामेल भए।

तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिंड्थे भाड़ामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैला-बैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे। तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खड़ा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे! जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”

शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए। तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।

पावल र सिलास बिरिया तिर जान्छन्

10 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए। 11 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। 12 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।

13 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे। 14 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। 15 विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”

एथेन्समा पावल

16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। 17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे। 18 त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो।

तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”

19 तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ? 20 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।” 21 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।

22 त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु। 23 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!

24 “उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न! 25 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। 26 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।

27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। 28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’

29 “हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न। 30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। 31 परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”

32 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौं।” 33 पावल तिनीहरूबाट गए। 34 तर कतिपय मानिसहरूले पावलसँग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।

भजनसंग्रह 144

दाऊदको भजन।

परमप्रभुको प्रशंसा गर,
    परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
    उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
    परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
    परमप्रभु मेरो ढाल हुनुहुन्छ।
म उहाँमा भरोसा राख्दछु,
    परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।

हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
    किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
मानिसको जीवन हावाको झोंका मात्र हो।
    मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।

हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
    पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
    तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्।
    मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
    मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
ती शत्रुहरू झूटाहरू हुन्।
    तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।

हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक,
कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु।
    म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।
    परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
    ती शत्रुहरू झूटा छन्।
    तिनीहरूले भनेका कुराहरू असत्य छन्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
    हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्।
    हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्।
त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।
14     हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।
हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
    र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्।
    हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।

15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।
    यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,
    ती मानिसहरू आशिषित हुन्छन्।

हितोपदेश 17:27-28

27 एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।

28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International