The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
42 तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए। 2 ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौं तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं। 3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”
4 तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”
5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। 6 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”
7 दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो। 8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। 9 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ 10 ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। 11 तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। 12 म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’ 13 यदि तिमीहरू भन्छौ, ‘हामी यस देशमा बस्ने छौ,’ तब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। 14 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक-भोकै बस्नुपर्दैन।’ 15 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ। 16 तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ। 17 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’
18 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध बर्षाउनेछु। तिमीहरू श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
19 “यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु। 20 तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’ 21 यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ। 22 यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मर्नेछौ।”
43 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।
2 होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’ 3 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”
4 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो। 5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। 6 अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे। 7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।
8 तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे 9 “परमप्रभुले यर्मियालाई भने, ठूल-ठूलो ढुङ्गाहरू हातमा र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटाले छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर। 10 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ। 11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले मर्नु पर्नेहरूको निम्ति मृत्यु ल्याउँनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ। 12 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु। 13 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।’”
मिश्रमा भएका यहूदी मानिसहरूको निम्ति परमप्रभुको सन्देश
44 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो। 2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेष मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन। 3 ती ठाउँहरू नष्ट गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो। 4 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।” 5 तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्। 6 यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू शून्य छन्।’
7 “यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ? 8 अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई नष्ट पारिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ। 9 के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ? 10 अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुशरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।’
11 “यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूमाथि भयानक घटनाहरू घटुन् भनेर निर्णय गरें। म यहूदाका सारा परिवारलाई नष्ट गर्नेछु। 12 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्। 13 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैंजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु। 14 यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिनँ। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।’”
15 यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउँथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने, 16 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं। 17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्। 18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”
19 तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”
20 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने। 21 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ। 22 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ। 23 सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुशरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”
ख्रीष्ट येशूको स्वामी भक्त रक्षक
2 तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन। 2 मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ। 3 हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको साँच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर। 4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन। 5 यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ। 6 किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ। 7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
8 येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। 9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। 11 यो एक साँच्चो शिक्षा होः
यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं।
12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।
यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।
परिचित कर्मी
14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ। 15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
16 जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ। 17 तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्। 18 तिनीहरूले साँच्चो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
19 तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”(A) अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।”
20 एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्। 21 यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
1 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
तपाईंको लागि बजाउनु असल कुरा हो।
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
7 दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
तर तिनीहरू सधैँको निम्ति नष्ट हुनेछन्।
तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो।
म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
तपाईंले खास कामको लागि मलाई रोज्नुभयो,
तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें।
तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
12 असल मानिसहरू लेबानेनमा
परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।
1 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
3 जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ।
4-5 मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
© 2004, 2010 Bible League International