Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 39:1-40:27

गोग अनि उसको सेनाको मृत्यु

39 “हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु। म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु। तर म तिम्रो धनुलाई तिम्रो देब्रे हातबाट तल खसालिदिन्छु। म तिम्रो दाहिने हातबाट तिम्रो काँड तल झारिदिन्छु। तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पंक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जङ्गली पशुहरूको भोजनको रूपमा दिन्छु। तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।’” परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो।

परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ। म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु। त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।

“त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात बर्ष सम्म प्रयोग गर्नेछन्। 10 तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जङ्गलमा दाउराहरू काट्नु पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाऊराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।

11 परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’ 12 इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाड्ने छन्। 13 देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

14 परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्। 15 ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिन्जेल सम्म चिह्र रहनेछ। 16 त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”

17 परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ। 18 तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेंडा़हरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्। 19 तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिम्रो पेट भरिदैन्। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्रा निम्ति मारे। 20 मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।’” परमप्रभु मेरा मालिक यसो भन्नुभयो।

21 परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे। 22 तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ। 23 अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए। 24 उनीहरूले पाप गरे अनि आफैंलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।”

25 यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु। 26 मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्। 27 म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु। 28 तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किनकि मैले तिनीहरूलाई घरबाट निकालें अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ। 29 म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।

नयाँ मन्दिर

40 हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं बर्षको दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं बर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।

दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो। परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो। त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको प्रयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”

मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौंडाई मोटो नाप्यो। त्यो एक हात चौंडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो।

त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुड्किलोमाथि चढ्यो अनि मूल-ढोकाको सङ्घार नाप्यो। त्यो एक टाँगो बराबर चौंडाको थियो। रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौंडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सङ्घार एक टाँगो लामो थियो। तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रशेव कक्ष नाप्यो जुन यो एक टाँगो चौंडाको थियो। यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौंडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो। 10 मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए। 11 त्यस मानिसले मूल-ढोकाको दैलोको चौंडाइ नाप्यो। यो दश हात चौंडा अनि तेह्र हात लामो थियो। 12 प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौंडा छ हात थियो। 13 त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो। 14 त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौंडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो। 15 प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो। 16 रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौंडा भागहरू द्वारतिर फर्केका थिए। ढोकाको प्रत्येक द्वार स्तम्भमा खजूरका बोटहरू खोपिएका थिए।

बाहिरी चोक

17 तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें। 18 पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो। 19 त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्रीपट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो।

20 तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौंडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो। 21 यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 22 यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यहीं थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो। 23 भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।

24 तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो। 25 यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 26 सातवटा खुड्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वार स्तम्भमा खजूरको नक्शा थियो। 27 भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।

याकूब 2:18-3

18 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।” 19 तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काँप्छन्।

20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो? 21 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो। 22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो। 23 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”(A) अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”(B) 24 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।

25 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।

26 आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।

हामीले भनेका कुराको नियन्त्रण

मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।

एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।

मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। 10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। 11 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। 12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।

साँच्चो ज्ञान

13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

भजनसंग्रह 118:1-18

परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
इस्राएल ले यसो भन्छ,
    “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
पूजाहारीहरू यसो भन्छन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”

म सङ्कटहरूमा फँसेको थिएँ।
यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें।
    परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन।
    मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउनँ सक्तैन।
परमप्रभु मेरो सहयोगी हुनुहुन्छ
    म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
मानिसहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।

10 धेरै शत्रुहरूले मलाई घेरेर राखे
    तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
11 शत्रुहरूले मलाई घरि-घरि घेरी रहे।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ।
    तर तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।

13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए।
    तर परमप्रभुले मलाई साथ दिनुभयो।
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
    उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

17 म बाँच्ने छु मर्ने छैन
    अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
    तर उहाँले मलाई मर्न दिनु भएन।

हितोपदेश 28:2

जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International