Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
दानियल 1:1-2:23

दानियललाई बाबेलमा लगियो

यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो बर्षमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे। परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।

त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने। ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे।

राजा नबूदकनेसरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन बर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए। यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।

अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।

तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।

परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। 10 नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।”

11 त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। 12 दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। 13 त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।”

14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। 15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे। 16 त्यसपछि त्यो कारिन्दाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे।

17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हरेक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।

18 त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए। 19 राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए। 20 राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्। 21 दानियलले कोरेसको शासन कालको पहिलो बर्ष सम्म राजाको सेवा गरिरहे।

नबूकदनेस्सरको सपना

आफ्नो शासनकालको दोस्रो बर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्। राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।

त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”

त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन्! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”

यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु। तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू र आदर प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”

ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”

राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ। जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”

10 कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन। 11 राजाले केही कुरा सोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन्। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”

12 जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई नष्ट गरिनु पर्ने आदेश दिए। 13 यसकारण राजा नबूदकनेस्सरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।

14 अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे। 15 दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?”

उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे। 16 जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।

17 त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए। 18 दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन्।

19 रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि दानियलले स्वर्गका परमेश्वरको स्तुति गरे। 20 दानियलले भने,

“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर!
    शक्ति र ज्ञान उहाँमा हुन्छ।
21 उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ,
उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ।
    उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ।
उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ,
    र उहाँले नै खोस्नुहुन्छ।
उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन्,
    उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ,
    अनि मानिसहरू ज्ञानी हुन्छन्।
22 उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ।
    उहाँले जान्नु हुन्छ अन्धकारमा के छ?
    अनि ज्योति उहाँसँगै छ।
23 हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु,
अनि तपाईंको गुणगान गाउँछु।
    तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो।
जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो।
    तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”

1 पत्रुस 3:8-4:6

असलकामको निम्ति यातना

यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। 10 धर्मशास्त्रले भन्छ,

“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,
    अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,
उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ
    र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।
11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,
    त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्
    अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्
तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”(A)

13 यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? 14 तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”(B) 15 तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

16 तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्। 17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।

18 तिमीहरूको निम्ति ख्रीष्टले सधैँको
    निम्ति जीवन बलिदान दिनुभयो।
उहाँ दोषी हुनु हुन्न थियो,
    तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए।
    तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो।
उहाँ शरीरमा मारिनुभयो,
    तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

19 अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो। 20 ती आत्माहरू तिनीहरू हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरूलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो। 21 त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो। 22 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।

परिर्तित जीवन

जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ। तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन। बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।

तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्। तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ। ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।

भजनसंग्रह 119:65-80

तेथ्

65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
    तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
    म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
    तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
    मलाई तपाईंको नियमहरू सिकाउनु होस्।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
    तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
    तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
71 मेरो निम्ति वेदना उत्तम थियो।
    मैले तपाईंको नियमहरू सिकें।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
    तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।

योद्

73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
    मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
    तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
    अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
76 अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्।
    तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्।
    म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
78 मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे,
र मेरो बारेमा झूटो बोले।
    ती मानिसहरू लज्जित होऊन् परमप्रभु,
    म तपाईंको व्यवस्था सिक्छु, पढछु।
79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन।
    यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्।
80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ,
    ताकि म लज्जित हुने छैन।

हितोपदेश 28:14

14 त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International