The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
अन्य जातिहरूको विरूद्ध न्याय
9 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको राजधानी दमीशकको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्। 2 यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्। 3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ। 4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।
5 अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन। 6 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता कोहुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु। 7 म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै। 8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”
भबिष्यको राजा
9 हे सियोन, आनन्दित होऊ!
यरूशलेमका मानिसहरू खुसिले कराऊ!
हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्।
उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ।
उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ,
उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू नष्ट पारें
अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें।
मैले युद्धमा प्रयोग गरेको धनुहरू नष्ट पारें।”
उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ।
त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ।
उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
परमप्रभुले उहाँका मानिसहरूलाई रक्षा गर्नुहुन्छ
11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले
म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू।
अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले,
जति गुमाएकाछौ त्यसको दुइगुणा ज्यादा,
म तिमीहरूलाई दिनेछु।
13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु।
एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु।
सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध
युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।
14 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ
अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ।
परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ
अनि सेनाहरू मरुभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
15 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ।
सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्।
उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्,
यो दाखरस जस्तै बग्नेछ।
यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।
16 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले
उहाँका मानिसहरूलाई बचाउँनु हुनेछ,
जसरी गोठालोले आफ्ना भेंडा़हरूलाई बचाउँ छ।
तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्।
त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
17 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्।
त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ।
त्यो केवल अन्न र दाखरसको नभएर
नयाँ केटा-केटीहरूको हुनेछ।
रातो पशुमाथि बसेकी स्त्री
17 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे। 2 पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”
3 तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए। 4 त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो। 5 उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो:
महान बेविलोन
वेश्याहरूकी आमा
अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।
6 मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई।
जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ। 7 तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। 8 त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।
9 “यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्। 10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। 11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।
12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। 13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। 14 तिनीहरूले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”
15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्। 16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्। 17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुन्जेल सम्म तिनीहरूले शासन गर्नेछन्। 18 तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।”
दाऊदको स्तुतिको भजन।
1 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
32 यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयौ भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ भने, तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।
© 2004, 2010 Bible League International