The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
इस्राएलको सम्पत्तिले तिनीहरूलाई मूर्ति पूजा गरायो
10 इस्राएल त्यो दाख जस्तै छ
जसले प्रशस्त मात्रमा फल दिन्छ।
तर इस्राएलले झूटा देवतारूको निम्ति
विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो।
भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले
अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
2 इस्राएलको मानिसहरूको हृदय झूटो छ।
अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नै पर्छ।
परमप्रभुले तिनीहरूका स्मारक-ढुङ्गाहरू नाश पार्नु हुनेछ।
उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।
इस्राएलीहरूका दुष्ट निर्णयहरू
3 अब इस्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौं अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”
4 तिनीहरू प्रतिज्ञा गर्छन्। तर तिनीहरू केवल झूटो बोल्छन। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।
5 सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन्। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ। 6 त्यस मूर्तिलाई अश्शूरको महान राजालाई उपहारका निम्ति लगिएको हुन्छ। एप्रैमको लज्जित मूर्ति उहाँ लगिने छ। इस्राएल चाँहि आफ्नै मूर्तिमा लज्जित हुनुपर्नेछ। 7 सामरियाका राजाहरूलाई नष्ट गरीदिनेछु। ऊ पानीमाथि बग्ने काठको टुक्रा जस्तै हुनेछ।
8 इस्राएलले पाप गर्यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँढा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”
इस्राएलाई पापको निम्ति तिर्नेछ
9 “हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ। (अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्।) गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ। 10 तिनीहरूलाई दण्ड दिन म आउनेछु। तिनीहरूको विरूद्ध सेनाहरू एक भएर आउनेछन्। इस्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।
11 “एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।”
12 धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैंले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्षाउनु हुनेछ।
13 तर तिमीहरूले दुष्टताको बीऊ रोपेकाछौ अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौ। तिमीहरूले झूटो फल खाएकाछौ किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौ। 14 यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसँगै आमाहरूको पनि हत्या गरिदिएको थियो। 15 बेतेलमा तिमीहरूलाई पनि यस्तै हुनेछ किनकि तिमीले धेरै नै कुकर्महरू गरेकाछौ। त्यस दिनको शुरूवात हुँदा हुँदै इस्राएलको राजा पुरै नष्ट हुनेछन्।
इस्राएलहरूले परमप्रभुलाई भुल्यो
11 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्रेम गरें।
तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,
त्यति-त्यति तिनीहरू मबाट टाढा भए।
तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे।
उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
3 “एप्रैमलाई मैले हिँड्न सिकाएँ।
इस्राएललाई मैले अङ्गालोमा बोकें
अनि मैले नै तिनीहरूलाई निको पारें।
तर यी सबै कुरा तिनीहरू जान्दैनन्।
4 मैले तिनीहरूलाई प्रेमको डोरी
मायाको बन्धनले बाँधेर डोर्याएँ।
म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ,
म निहुरेर उनीहरूलाई खाना खुवाएँ।
5 “तर इस्राएलीहरूले परमेश्वरतर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, त्यसको सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन्। 6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिन्छ।
7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
परमप्रभुले इस्राएललाई नष्ट गर्न चाहनुहुन्न
8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहन्छु।
म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ!
म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ।
म आफ्नो मन बद्ली रहेछु,
तिमीप्रति दयाले मन पग्लिरहेछ।
9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्।
म फेरि एप्रैमलाई नष्ट पार्नेछैन।
म त परमेश्वर हुँ, म कुनै मानिस होइन।
म तिनीहरू माझ एक पवित्र छु।
म तिमीहरूसँगै छु।
म आफ्नो रिस देखाउँनेछैन।
10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु
अनि मेरा सन्तान मसँग आउने छन्,
र मेरो पछि-पछि हिँड्नेछन्।
मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
11 तिनीहरू चरा जस्तै वेगसित
मिश्र देशबाट आउनेछन्।
तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन्
अनि म तिनीहरूलाई घरमा पठाउनेछु।”
परमप्रभुले यो भन्नु भयो।
12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ।
इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यन्त्र रचे।
तर यहूदा अहिले सम्म परमेश्वरसँग छ।
यहूदा पवित्र र साँच्चो छ।”
परमप्रभु इस्राएलको विरूद्धमा हुनुहुन्छ
12 एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्राएल दिनभरि “हावाको पछि पछि भागिहिँड्छ”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसँग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।
2 परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ। 3 जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो। 4 याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसँग बातचीत गर्यो। 5 यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो। 6 यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँच्चो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैँ निर्भर गर।
7 “याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ। 8 एप्रैम भन्छ, ‘म धनी छु। मैले साँच्चो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’
9 “तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु। 10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु। 11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।
12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेंडा़हरूको हेरचाह गर्यो। 13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्तद्वारा इस्राएललाई सुरक्षित राख्नुभयो। 14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”
इस्राएल आफै नष्ट भयो
13 “एप्रैम आफैंले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ। 2 इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे। 3 अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
4 “मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो। 5 उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें। 6 मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
7 “यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु। 8 म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
परमेश्वरको क्रोधबाट कसैले इस्राएललाई बँचाउनु सक्तैन
9 “हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु। 10 कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ। 11 म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।
12 “एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ,
उसको पाप अभिलेखमा राखिएको छ।
ऊ दण्डित हुनेछ।
13 उसलाई प्रसव वेदना हुनेछ।
ऊ एउटा अज्ञानी शिशु जस्तै हो
चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
14 “के म उनीहरूलाई पातालको शक्तिदेखि बँचाऊँ?
के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ?
हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ?
हे चिहान तेरो शक्ति कहाँ छ?
मेरो आखाँबाट अब दया लुकेकोछ।
15 इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ,
तर पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ
अनि इस्राएलको कुवाहरू सुक्ने छन्।
त्यसको पानीको मूल सुक्नेछ।
त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
16 सामारियाले दण्ड भोग्नेछ
किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ।
इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ,
उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ
अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
परमप्रभुतिर फर्क
14 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। 2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,
“हाम्रा सबै पापहरू टाढा गरेर,
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर,
जुन हामीले भनिरहेकाछौ।
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं।
3 अश्शूरले हामीलाई बँचाउन सक्तैंन।
हामी घोडहरूमाथि सवार हुनेछैनौ।
न त हामी आफ्नो हातले बनाएको कुरालाई
‘हाम्रो परमेश्वर’ भन्नेछौं।
किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने,
केवल तपाईं मात्र हुनुहुन्छ।”
परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ
4 परमप्रभु भन्नुहुन्छ,
“उनीहरूले मलाई त्यागे।
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु।
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु।
म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु।
इस्राएल लिली फूल झैं फुल्नेछ।
लबानोन झैं त्यसको जरा फैलनेछ।
6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्।
त्यो सुन्दर हुनेछ।
त्यो त्यस सुगन्ध झैं हुनेछ
जुन लबानोनको रूखको जराबाट आउँछ।
7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।
तिनीहरू अन्न झैं बढ्नेछन्।
तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन।
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।
परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो
8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु।
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु।
म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ।
त्यसको फल मबाट नै आउँछ।”
अन्तिम सल्लाह
9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ।
परमप्रभुको बाटो ठीक छ।
असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्।
पापीहरू तिनीहरूद्वारा मर्छन्।
1 येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट।
ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।
2 सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।
खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ
3 प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो। 4 कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक्क पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
5 तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्। 6 अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्नु भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्नु भयो। 7 सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।
8 ती तिमीहरूका दलमा पस्ने मानिसहरू पनि त्यही अनुशरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैंलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्। 9 प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसँग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”
10 तर यी मानिसहरू जुन कुराहरू आफैंले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्। 11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।
12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरू पूर्णरुपले मर्छन्। 13 तिनीहरू समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरूले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरूको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।
14 आदमका सातौं सन्तान हनोकले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं-हजार पवित्र दूतहरूसँग आउँनु हुँदैछ। 15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जम्मै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”
16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अरूको त्रुटि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।
चेतावनी अनि कर्त्तव्य
17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। 18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” 19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।
20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। 21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
22 जो मानिसहरू सन्देह गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बचाँउनु आवश्यक छ। 23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
परमेश्वरको स्तुति गर
24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। 25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।
सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।
1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
3 शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।
15 दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
16 खराब मानिसले राष्ट्रलाई शासन गर्छ भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।
17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
© 2004, 2010 Bible League International