The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
तीसजना वीरहरू
24 योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः
बेतलेहेमका दोदोका छोरा एल्हानान्,
25 हेरोदाका शम्मा,
हेरोदका एलीका,
26 बेतपेलेतका हेलेस,
तकोइका इक्केशका छोरा ईरा,
27 अनातीतका छोरा अबीएजेर,
हुशातका मबून्ने,
28 अदोही सल्मोन,
नतोपाका महरै,
29 नतोपाका बानाका छोरा हेलेब,
गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,
30 पिरातोनका बनायाह,
गाशका खोल्वाहरूका हिददै,
31 बेत-अराबाका अबी-अल्बोन,
बहूरीमका अजमावेत,
32 शाल्बोनका एल्याहबा,
गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,
33 हरारी शम्मका छोरा;
हरारी शरारका छोरा अहीआम;
34 मकातीका आहसबैका छोरा एलीपेलेत,
गिलोनी अहीतोपेलका छोरा एलीआम,
35 कर्मेलका हेस्रो,
अर्बी पारै,
36 सोबाका नातानका छोरा यिगाल,
गादी बानी,
37 अम्मानी सेलेक,
बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);
38 येतरी ईरा;
येतरी गारेब;
39 अनि हित्ती उरियाह।
जम्मा मिलाउँदा 37 जना थिए।
दाऊदले आफ्ना सेनाको संख्या गन्ती गर्न चाहे
24 परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”
2 राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”
3 तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”
4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए। 5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)
6 तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे। 7 सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए। 8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।
9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
परमप्रभुले दाऊदलाई सजाय दिनुहुन्छ
10 जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”
11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। 12 परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’”
13 गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः तपाईं र तपाईंको देशमा सात बर्ष सम्म अनिकाल लाग्नेछ। तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकुँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”
14 दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”
15 यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। 16 स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखीत हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।
दाऊदले अरौनाका खला किन्छन्
17 दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेंडाले झैं पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”
18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” 19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। 20 अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। 21 अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”
दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”
22 अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। 23 राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।”
24 तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।”
यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। 25 त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।
परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।
पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।
3 एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। 2 जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। 3 त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो।
4 पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” 5 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। 6 तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”
7 त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। 8 त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो। 9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।
पत्रुस मानिसहरू सँग बोल्दछ
11 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।
12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। 13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। 14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ। 15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।
16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।
17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्। 18 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो। 19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। 20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।
21 “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्नै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो। 22 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ। 23 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’(A)
24 “शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने। 25 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’(B) 26 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”
मन्दिरतिर गइरहेको बेलाको भजन।
1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।
21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ।
22 तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
23 बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्।
© 2004, 2010 Bible League International