The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
1 सुलेमानको सबैभन्दा उत्तम गीत।
उनले स्त्रीलाई प्रेम गर्छन्
2 चुम्बनहरूसँग मलाई छुनुहोस्,
तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले,
तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
3 तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ,
तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।
हामी तपाईंको पछि दगुर्ने छौं।
राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।
यरूशलेमको स्त्रीहरू मानिस प्रति
हामीहरू खुशी अनि आनन्दित हुन्छौं।
याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
5 यरूशलेमकि छोरीहरू हो!
म काली तर सुन्दरी छु।
केदार र शाल्माको पाल झैं काली छु।
6 मलाई नहेर, म कति काली छु,
मलाई घामले काली पारेको हो।
मेरा दाज्यू-भाइहरू मसँग रिसाएका थिए,
त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए,
त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउँन पाइँन।
तिनले पुरूषलाई भन्छिन्
7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।
मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ?
मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ?
म तिमीलाई भेट्न आउँनेछु,
अथवा तपाईंका साथीहरूको बगाल अघि,
म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?
पुरूषको स्त्री प्रति वचन
8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?
स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ।
जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ,
आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ,
जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।
10 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म,
राम्ररी सजाइएका छन्।
11 तिम्रो निम्ति हामी सुनको लुर्कन
चाँदीले मोरेर बनाउँने छौं।
स्त्री बोल्छे
12 जब राजा आफ्नो कोठामा थिए,
मेरो अत्तरको सुगन्ध फैलियो।
13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,
मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,
जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।
पुरूषले भन्छ
15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,
आहा! तिमी साँच्चै राम्री छौ,
तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।
स्त्री बोल्छे
16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!
साँच्चै तपाईं मनोहर हुनुहुन्छ!
हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।
र डाँडा भाटाहरू सल्लाका छन्।
2 म भन्जायाङमा फुल्ने गुलाफ,
अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।
पुरूष बोल्छ
2 हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी
काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ।
स्त्री भन्छिन्
3 हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलको,
अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं हुनुहुन्छ।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु,
अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
4 मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो
र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।
5 म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस,
र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।
6 उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ
अनि दाइने हातले मलाई अँगालेको छ।
7 हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर।
मसित प्रेम गर्न उत्तेजित नहौ,
जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।
प्रेमिका फेरि बोल्छे
8 मेरो प्रेमीकाको स्वर सुन, लौ हेर!
उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै
अनि डाँडाहरूमा दगुर्दै।
9 मेरा प्रेमी एउटा लघुमृग
अथवा जवान मृग झैं हुनुहुन्छ।
हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ,
झ्यालबाट हेरिरहनु भएकोछ,
आँखी झ्यालबाट चियाइरहनु भएकोछ।
10 मेरा प्रेमीले भन्नु भयो,
“हे सुन्दरी, मेरी प्यारी उठ,
कतै टाडा जाऊँ।
11 हेर! हिउँद बित्यो,
बर्षा काल पनि गई सक्यो।
12 भूमिमा फूलहरू फूलिरहेकाछन्,
चराहरूले गाउने समय आइसकेको छ।
पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।
13 नेभाराका चिचिलाहरू लाग्न थाल्यो,
दाखका फूलहरूबाट वासना फैलिन थाल्यो।
मेरी प्रियतमा उठ,
हे मेरी सुन्दरी हिँड कतै टाढा जाऊँ।”
पुरूष बोल्छ
14 अग्लो चट्टानको गुफाहरूमा
र पहाडहरू माथि लुक्ने मेरो ढुकुर,
मलाई तिम्रो दर्शन देऊ,
मैले तिम्रो स्वर सुन्नु पाउँ।
कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ,
अनि तिमी अत्यन्तै सुन्दरी छौ।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
15 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ,
किनभने ती साना स्यालहरूले
हाम्रो दाखबारी नष्ट गरिदिन्छन्
जो पूर्णरूपले फूलेकोछ।
16 मेरा प्रेमी मेरा हुनु हुन्छ,
अनि म उहाँकी,
मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
17 जबसम्म दिन बितेर छाँयाँ लामो हुँदैन,
फर्कि आऊ मेरा प्रेमी, हरिण झैं बन अथवा
मृगहरू झैं सुन्दर पहाडहरूमाथि।
संगीहरूसँग स्त्री
3 राती मेरो ओछ्यानमा,
म आफूले माया गरेको मानिस खोज्छु।
मैले उसलाई खोजें,
तर उसलाई पाउन सकिनँ।
2 अब म उठ्छु,
म शहर वरीपरी घुम्छु।
म मेरा प्रेमीलाई शहरको गल्ली,
र कुना कुनामा खोज्छु।
मैले शहरका पालेहरूलाई भेटें,
तर मैले उहाँलाई पाउँनु सकिनँ।
3 मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
4 जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
तब मैले मेरा प्रेमीलाई भेटें,
मैले उहाँलाई समातें,
र उहाँलाई मेरी आमाको घरमा लगें,
अर्थात ती नारीको कोठामा,
जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
ऊ स्त्रीहरूसँग बोल्छे
5 हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर।
हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ
कि म तयार नभए सम्म तिमीले,
आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
यरूशलेमका स्त्रीहरू बोल्छन्
6 यी नारी को हुन् जो धेरै मानिसहरू सित,
मरुभूमिबाट आइरहेकी छिन्?
तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ,
मानौं कि त्यो धूवाँको बादल हो,
जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप,
अथवा सुगन्धित मसला बाट निस्कन्छ।
7 सुलेमानको सवारी हेर!
इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले
त्यो पालकी रक्षा गरिरहेका छन्।
8 तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न
तिनीहरू तत्पर छन्।
9 राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10 त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
आधारहरू सुनको बनाएका छन्
आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
11 सियोनकी तरूणीहरू हो,
बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्,
जुन दिन उनको विवाह भएको थियो।
त्यो दिन उनी अत्यन्तै खुशी थिए।
ऊ उनीसित कुरा गर्छन्
4 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
आहा! तिमी सुन्दरी छौ।
घुम्टोभित्र लुकेका
ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन्
तिम्रा ती लामा केश
गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
2 तिम्रो दाँतहरू भेंडा़ झैं सेता छन्
जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ।
तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन्
र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्रो मुख अति सुन्दर छ,
तिम्रो घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुइ फ्याकहरू जस्तै छन्।
4 तिम्रो घाँटी लामो अनि पातलो छ,
दाऊदको किल्ला जस्तै,
त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौं ढालहरू यसको भित्ताहरूमा
शक्तिशाली सेनाहरूसँग छन्।
5 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जुम्ल्याहा पाठा जस्तै
जुन लिली फूलहरू विच चरिरहन्छ।
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाँहरू लामो भई लुक्नेछन्।
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
तिमीमा कुनै प्रकारको दाग छैन।
8 हे मेरी दुलही म भएकोमा आऊ,
तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
सनीरको उचाईबाट,
सिंहको गुफाबाट
अनि चितुवाको पाहाडबाट आऊ।
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको
मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
तिम्रो माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
दूध र मह तिम्रो जिब्रो मुनि छ,
तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ।
बन्द गरेको ताल जस्तै शुद्ध छौ।
त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13 तिम्रो शरीर दारीम जस्तै छ,
अनि अरू लोभ्याउने फलहरू,
फूलहरू र मसलाहरूको वासनाले भरिएको
बगैंचा झौं 14 जटामसी केश दालचिनी,
तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ
मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
तिमी कुवाको पानी झैं ताजा छौ,
लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
ऊनी बोल्छिन्
16 उत्तरी हावा, तिमी उठ,
दक्षिणी हावा, तिमी आऊ।
मेरो बगैंचामा बह
अनि आफ्नो सुगन्ध छर्क।
मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्।
अनि त्यहाँका मिठा फलहरू खाऊन्।
तितस र उनका साथीहरू
16 म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ। 17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो। 18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्। 19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
20 यो घरै धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सर्तक छौं। 21 हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैँ अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्। 24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
आसापको भजन।
1 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
3 हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
6 परमेश्वर न्यायी हुनुहुन्छ
र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
7 परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
8 मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
9 म तिम्रो घरबाट साँढेहरू लिने छैन
म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12 म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”
14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
“तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ।
तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
20 तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ,
अनि दोष लगाईरहेका छौ।
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,
यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
हेर! धेरै बेर म चुपचाप बस्ने छैन!
म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,
यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
यदि त्यस्तो भयो भने,
कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन।
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
—1—
22 गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट वन्चित नगर 23 परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।
© 2004, 2010 Bible League International