The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
परमप्रभु र मूर्तिहरू
10 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन। 2 परमप्रभुले यही भन्नुहुन्छ:
“अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ।
आकाशका विशेष चिन्हहरूसित नडराऊ।
अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।
तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।
तिनीहरू जङ्गलमा रूख काट्छन्
शिल्पीकारले आफ्नो बञ्चरोले आकार बनाउँछ।
4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाउँछन्।
तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अड्याउनलाई प्रयोग गर्छन्,
ताकि ती मूर्तिहरू तल नझरोस्।
5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्।
तिनीहरू बोल्दैनन्।
तिनीहरूलाई बोक्नु पर्छ,
किनभने तिनीहरू हिंड्न सक्तैनन्।
तिनीहरूलाई आदर नगर!
तिनीहरूले नोक्सान
अथवा सहायता गर्नु सक्तैन।”
6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन!
तपाईं महान हुनुहुन्छ,
अनि तपाईंको नाउँ महान् र शक्तिशाली छ।
7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ।
तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ।
तपाईं सम्मानको योग्य हुनुहुन्छ।
अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन्,
तर तपाईं समान कोही पनि ज्ञानी छैन।
8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्।
तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।
9 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी
अनि उपज देशबाट सुन ल्याउँछन्।
मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन्
र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्।
निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।
10 तर परमप्रभु चाँहि साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ।
उहाँ राजा हुनुहुन्छ, जसले सदाकाल शासन चलाउनु हुन्छ।
परमेश्वरको रीसमा पृथ्वी काम्छ,
अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।
11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर,
‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्।
पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’”
12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो।
परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो
अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो।
13 उहाँको वचनको आवाजले
आकाशमा पानी गर्जन्छ।
पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ।
उहाँले बर्षा सित बिजुली ल्याउनु हुन्छ।
उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
14 मानिसहरू एकदमै मूर्ख छन्।
मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए।
ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन।
तिनीहरूमा जीवन हुँदैन।
15 ती मूर्तिहरू महत्वहीन हुन्।
तिनीहरू केवल खिसीका पात्र हुन्।
न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।
16 तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न।
परमप्रभुले सबै थोक बनाउनु भयो
अनि परमप्रभुले इस्राएल परिवारलाई,
परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो।
परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।
विनाश आइरहेछ
17 घेरामा परेका तिमी मानिसहरू,
प्रत्येक चीज पोको पार
अनि जानलाई तत्पर हौऊ।
18 परमप्रभु भन्नुहुन्छ
“यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु।
म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु
ताकि तिनीहरूलाई पक्राइनेछन्।”
19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ।
म साह्रै घाइते छु
यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो,
जसको लागि म पीडित हुनै पर्छ।”
20 मेरो पाल भत्काइयो।
सारा डोरीहरू चुँडाइयो।
मेरा छोरा-छोरीहरूले मलाई त्यागे।
तिनीहरू गए।
मेरो पाल फैलाउन
अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।
21 गोठालाहरू मूर्ख छन्,
अनि परमप्रभुलाई खोज्ने प्रयास गर्दैनन्।
यसकारण तिनीहरू सफल भएनन्,
यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।
22 सुन्, एउटा ठूलो हल्ला सुन!
हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ।
यसले यहूदाका शहरहरू नष्ट पार्नेछ।
यहूदा एक रित्तो मरुभूमि झैं हुनेछ।
यो स्यालहरूका गुफा हुनेछ।
23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन।
एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
24 हे परमप्रभु! निष्पक्ष भएर,
हामीलाई सुधार्नुहोस्।
क्रोधमा हामीलाई सजाय नदिनुहोस्
नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।
25 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन्
अनि ती मानिसहरूमाथि पोखाउनु होस्
ज-जसले तपाईंको नाउँ लिदैनन्।
ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे।
तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे।
तिनीहरूले इस्राएलको देश ध्वंस पारे।
करार तोडियो
11 यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो 2 “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन। 3 यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ। 4 म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै सङ्कटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो।’ मैले तिनीहरूलाई भने ‘मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।’
5 “तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैँ बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।”
मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”
6 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर। 7 मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेतावनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरि-घरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेतावनी दिँदै आएको हो। 8 तर तिनीहरू हठ्ठी थिए मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।”
9 फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहूदाका र यरूशलेममा बस्ने मानिसहरूले एक गुप्त योजना बनाएका छन्। 10 ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिँड्न अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”
11 यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन् तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन। 12 यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्।
13 “हे यहूदाका मानिसहरू! तिमीहरूसँग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।
14 “यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले सङ्कटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन् म ध्यान दिँदिन।
15 “उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै
किन मैले मेरी प्रियसीलाई मेरा घरमा आदर गर्नु?
यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र
तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”
16 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो।
उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।
तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ
अनि त्यसका हाँगाहरू जल्नेछ।
17 सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो
अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ
किनभने इस्राएल र यहूदाका मानिसहरूले
बाललाई सुगन्धित धूपहरू चढाएर
अनिष्ट कामहरू गरे जुन कामले
मलाई क्रोधित गरायो।
यर्मियाको विरूद्धमा षड्यन्त्र
18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो। 19 मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने: “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।” 20 “तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”
21 यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौं।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ। 22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्। 23 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”
अरूसित तिम्रो नयाँ जीवन
18 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।
19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।
20 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।
21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।
22 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ। 23 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन। 24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ। 25 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।
4 मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।
ख्रीष्टियनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्
2 आफैंलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैँ परमेश्वरलाई धन्यवाद चढाऊ। 3 हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाँउँछु। 4 तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।
5 अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। 6 जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।
पावलका साथीहरूको समाचार
7 टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्। 8 त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु। 9 ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।
10 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु। 11 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।
12 येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैँ तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्। 13 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु। 14 डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।
15 लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु। 16 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ। 17 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।
18 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे,
अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे।
तिनीहरूले झट्टारो फ्याँके[a] जस्तै व्यवहार गरे।
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
अनि उहाँले इस्राएललाई पूर्ण नष्ट गर्नुभयो।
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो।
शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।
उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63 जवान पुरूषहरू जलेर मरे,
अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64 पूजाहारीहरू मारिदिए,
तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै,
धेरै मद पिएको सिपाही जस्तै,
हाम्रो स्वामी ब्यूँझनु भयो।
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो।
उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68 अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो।
परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा-सर्वदाको निम्ति बनाउनु भयो।
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए तर परमेश्वरले दाऊदलाई,
उहाँका आफ्ना मानिसहरूलाई, हेरचाह गर्ने काम सुम्पनु भयो।
याकूबका मानिसहरूको हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने,
परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए।
र खुब सतर्कता साथ तिनीहरूलाई अगुवाई गरे।
28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल।
29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
© 2004, 2010 Bible League International