The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
यर्मियाले परमप्रभुप्रति गुनासो गर्दछ
12 हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने,
तपाईं सधैँ धार्मिक नै हुनुहुन्छ।
तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन।
किन दुष्ट मानिसहरू सफल हुन्छन्?
किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
2 तपाईंले तिनीहरूलाई रोप्नु भयो
अनि तिनीहरू शक्तिशाली भए।
तिनीहरू बढछन् अनि फल दिन्छन्।
तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ।
तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ।
तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्।
हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।
4 कहिले सम्म जमीन सूख्खा रहन्छ?
कहिले सम्म घाँस ओइलिन्छ?
त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा
सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके।
तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्,
“यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
यर्मियालाई परमप्रभुको जवाफ
5 “यर्मिया, यदि तिमी मानिसहरूसँग दुगुर्दा थाक्यौ भने
कसरी घोडाहरूसित दगुर्न सक्छौ?
यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने
डरलाग्दो जग्गामा तिमी के गर्नेछौ?
यर्दन नदीको किनारमा बढ़दै गरेको काँढे झाडीहरूमा
तिमी के गर्ने छौ?
6 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन्।
तिम्रा आफ्नै परिवारका सदस्यहरूले
तिम्रै विरूद्धमा षड्यन्त्र रचिरहेकाछन्।
तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्।
तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।
परमप्रभुले यहूदीहरूलाई इन्कार गर्नुहुन्छ,
7 “मैले आफ्नो घर परिवार त्यागेको छु,
मैले आफ्नो सम्पत्ति छाडें।
म जसलाई प्रेम गर्दछु्
उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
8 मेरा मानिसहरू सिंह झैं छन्।
तिनीहरू म पट्टि फर्की गर्जिए,
यसकारण म तिनीहरूको शत्रु भएको छु।
9 मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्।
गिद्धहरू तिनीहरूको वरिपरि उडछन्।
आऊ हे जङ्गली पशुहरू हो,
खान भेला होऊ।
10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए।
ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे।
ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरुभूमिमा परिणत गरिदिए।
11 तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए।
यो सूख्खा र अनुर्बर छ र मेरो लागि रून्छ।
सम्पूर्ण भूमि नै उजाड भएकोछ,
तर कसैले वास्ता गर्दैन।
12 मरुभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्।
यो भूमिको एक कुनादेखि अर्को कुना सम्म,
परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ।
कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
13 मानिसहरूले गहूँ रोप्ने छन्
तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्।
तिनीहरू अधिक मेहनत गर्छन्
तर त्यसबाट केही पाउँदैनन्।
आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन।
परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”
इस्राएलका छिमेकीहरूलाई परमप्रभुको प्रतिज्ञा
14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदालाई छुट्याउँनेछु। 15 जब ती मानिसहरूलाई देश निकालाको समय पुरा हुन्छ, त्यस पछि तिमीहरूमाथि म दया गर्ने छु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु। 16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउँछु। 17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई पूर्ण रूपले नष्ट पार्नेछु र यसलाई सुकेको बिरूवा झैं बनाउनेंछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
पटुकाको संकेत
13 परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो: “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
2 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे। 3 त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो। 4 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”
5 यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए। 6 धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिएँ।”
7 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।
8 त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो। 9 परमप्रभुले यसो भन्नुभयो, “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व नष्ट पार्नेछु। 10 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरू हठ्ठी छन्। तिनीहरू अन्य देवताहरूको अनुशरण गर्छन् र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्। 11 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिंच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”
यहूदालाई चेताउनी
12 “तिनीहरूलाई यो सन्देश भन: ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ 13 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जँड्याह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबै मानिसहरूका बारेमा भनिरहेको छु। 14 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्’ परमप्रभु भन्नुहुन्छ ‘तिनीहरूका निम्ति म दु:खी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई नष्ट पार्नु म रोकिने छैन्।’”
15 सुन र ध्यान देऊ।
परमप्रभु तिमीहरूसित बोल्नु भयो।
अहंकारी नहोऊ।
16 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर।
उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ।
तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर,
यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ।
तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ।
उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।
17 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने।
म लुक्छु अनि रून्छु।
तिम्रो गर्वले मलाई रूने बनाउँछ।
म धेरै जोडले रूनेछु।
मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ?
किनभने परमेश्वरको भेंडाको बथान[a] पक्राऊ पर्नेछ।
18 यी कुराहरू राजा र राज-मातालाई भन,
“राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट,
तिमीहरूको शिरबाट खसेको छ।”
19 नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्,
अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्।
यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो।
तिनीहरूलाई कैदी जस्तै लगियो।
20 हे यरूशलेम हेर!
शत्रुहरू उत्तरबाट आइरहेकाछन्।
परमप्रभुले दिनुभएको सुन्दर बथान,
तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्?
21 यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए
तिमी के भन्नेछौ?
तिमीहरूले सिकाउनु पर्थ्यो।
तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने।
के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?
22 यदि तिमीहरू स्वयंलाई सोधे,
“किन मलाई यस्तो नराम्रो कुराहरू भयो?”
ती कुराहरू
तिमीहरूकै पापको कारणले,
तिम्रो पोशाकहरू च्यातियो
अनि तिमीहरू अपमानित भयौ।
23 जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन
त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन।
यसर्थ तिमी दुष्टकर्मीहरू
कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।
24 “मरुभूमिको हावाले बालुवा उढाए झैं
म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।
25 मेरो योजनाभित्र गाभिएको
यो तिम्रो भाग्य हो।”
“यस्तो संयोग किन घट्यो?
किनभने तिमीहरूले मलाई त्याग्यौ
अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।
यो सब परमप्रभुले भन्नु भयो।
26 यरूशलेम, म तिम्रो लुगा
अनुहार सम्म तानी दिनेछु
ताकि प्रत्येकले तिम्रो लाज देखोस्।
27 मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु।
मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा,
र मैदानमा आफ्नी प्रेमिकाहरूलाई,
अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”
खडेरी र झूटा अगमवक्ताहरू
14 खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:
2 “यहूदा शोक गर्छ,
उसको प्रवेशद्वारहरू कमजोर भएको छन्।
मानिसहरू भूइँमा लडेर शोक मनाउँछन्,
अनि यरूशलेमको चित्कार आकासिन्छ।
3 मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए।
नोकरहरू इनारमा गए
तर तिनीहरूले पानी पाएनन्।
नोकरहरू रित्तो जगहरू लिएर फर्की आए।
यसकरण तिनीहरू लज्जित अनि अपमानित भए।
तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
4 खडेरी लागेको कारण,
किसानहरूले खेतमा हलो जोतेनन्।
यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।
5 माऊ मृगले सम्म आफूले भर्खरै जन्माएको पाठा-पाठीहरू छोड्छे।
त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।
6 जंगली गधाहरूले स्यालहरूले झैं
पहाडमा उभिएर हावा लिदैंछन्।
चर्ने र्खकमा हरियो नभएको
कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”
7 “हे परमप्रभु! हाम्रो अधर्मले हामीलाई खेदे तापनि,
आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्।
हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं
अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
8 हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ।
सङ्कटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ।
तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ।
तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
9 किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ?
तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ।
तर हे परमप्रभु, तपाईं हाम्रो साथमा हुनुहुन्छ।
हामी तपाईंको नाउँले बोलाइन्छौं।
हामीलाई असहाय नछोडनु होस्।”
10 यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैंलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”
1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ।
परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।
थिस्सलोनिकीहरूको जीवन र विश्वास
2 प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। 3 तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। 5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित[a] अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। 6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।
7 म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। 8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। 9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
थिस्सलोनिकीमा पावलको काम
2 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। 2 हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो। 3 हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन। 4 होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
5 तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँच्चो हो। 6 हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।
7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। 8 हामीले तिमीहरूलाई धेरैमाय गर्यौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं।
आसापको स्तुतिगान।
1 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए
तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
2 शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
3 परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।
ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
4 हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
5 हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ?
के तपाईंको बलिया भावनाहरू[a] आगो झैं अनवरत झल्दछ?
6 हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।
7 ती सम्प्रदायरूले याकूबलाई
र उसको देशलाई ध्वंश पारे।
8 हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्,
कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
9 हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्!
बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ।
तपाईंको असल नाउँ सुनाउनको लागि,
हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,
“तिम्रो परमेश्वर कहाँ छ?
के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्,
यसकारण हामी त्यो हेर्न चाहन्छौं।
तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!
परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्,
जसलाई मृत्युदण्ड दिइएकोछ।
12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
13 हामी तपाईंका मानिसहरू हौं।
तपाईंको बथानका हामी भेंडाहरू हौं।
हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं,
परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।
30 म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। 31 त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। 32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। 33 एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। 34 दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
© 2004, 2010 Bible League International