Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 14:11-16:15

11 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर। 12 यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन्। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”

13 तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।’”

14 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको हैन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्। 15 यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन्। 16 जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याँकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।

17 “तिनीहरूमा यी वचनहरू घोषणा गर:

‘मेरा आँखाहरू आँसुले भरिएका छन्।
    रात दिन मेरा आँशु बगिरहन्छन्।
म मेरा मानिसहरूको महा-ध्वंस,
    र तिनीहरूको गहिरो चोटहरूको लागि
    लगातार रात-दिन रोइरहेको छु।
18 यदि म देशभित्र गएँ भने,
    म तरवारद्वारा मारिएका मानिसहरू देख्छु।
यदि म शहरभित्र पसें भने,
    म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु।
पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन्,
    तर तिनीहरूले बुझ्दैनन्।’”

19 हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो?
    हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ?
तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि
    फेरि हामी ठीक हुन सक्तैनौं।
हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं,
    तर कुनै लाभ भएको छैन।
हामी निको हुने समय पर्खिरहेका छौं,
    तर त्रास मात्र पो आउँछ।
20 हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं।
    हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे।
    हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
21 हे परमप्रभु, तपाईंको नाउँको लागि
    हामीलाई तिरस्कार नगर्नुहोस्।
महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्।
    हामीसित रहेको तपाईंको करार भङ्ग नपार्नुहोस्।
22 विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन।
    आकाशले पानी बर्षाउने शक्ति पाउँदैन।
हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ।
    तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।

15 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइनँ। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन। ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ:

“‘मैले कसैलाई मर्नको लागी छानेको छु,
    ती मर्नु पर्नेहरू मरून्,
जसलाई मैले तरवारले मारिन छानेको छु,
    तिनीहरू तरवारले नै मारिउन,
अनिकालमा पर्नु पर्नेहरू अनिकालमा नै परून्,
    अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
म चार प्रकारको बिनासकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’
    यो परमेश्वरबाट आएको सन्देश हो।
‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु।
    तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु।
म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर
    आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
यहूदाका राजा हिजकियाहका छोरो
    मनश्शेले यरूशलेममा जे गरेको छ।
त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति
    यहूदाका मानिसहरूलाई
म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

“यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन।
    कुनै मानिस पनि तिम्रो निम्ति दु:खी साथै रूने छैन
    कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
यरूशलेम, तिमीले मलाई त्याग्यौ।”
    यो सन्देश परमप्रभुबाट आएको छ।
“तिमी जाऊ।
    यसकारण म तिमीलाई नष्ट पार्छु।
    तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले
    यस ठाउँको शहरका फाटकहरूमा
तितर-बितर पारिदिनेछु।
    मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु।
    म तिनीहरूका नानीहरू लैजानेछु।
धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्।
    त्यहाँ बेशी विधवाहरू हुनेछन्
म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु,
    त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ।
म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु,
    म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ,
    अनि मानिसहरूलाई मार्ने छ।
तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ।
    सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे।
उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ।
    उसलाई अपमानित र लज्जित पारिनेछ।
बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,”
परमप्रभु भन्नुहुन्छ।

यर्मियाले फेरि परमप्रभुलाई गुनासो प्रकट गर्दछ

10 हे मेरी आमा, मलाई तपाईंले
    जन्म दिनु भएको निम्ति म दु:खी छु।
यस देशमा म त्यो मानिस हुँ
    जो दोष र घृणाको पात्र बनिएको छ,
मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन।
    तर प्रत्येक मानिसले मलाई सराप्छन्।
11 परमप्रभुले भन्नुभयो,
    “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु।
    मैले तिम्रा निम्ति सङ्कटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”

यर्मियालाई परमप्रभुले जवाफ दिनुहुन्छ

12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन
    न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा
    तिम्रो भण्डारको सम्पत्ति
    लूटको समान झैं गरी अरूलाई दिनेछु।
14 हे यहूदाका मानिसहरू!
    म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु।
तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ
    जुन तिमीहरू कहिल्यै जानेका छैनौ।
    मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”

15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस्
    र मेरो हेरचाह गर्नुहोस्।
मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस्
    ज-जसले मेरो खेदो गर्छन्।
तिनीहरूसित धैर्य-धारण नगर्नु होस्।
    जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने
मलाई नलानु होस्।
    हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
16 तपाईंको सन्देश मकहाँ आयो।
    हे सेनाहरूका परमप्रभु
तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो।
    तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
17 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए
    म कहिल्यै भीडमा बसिन।
म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो
    अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
18 किन मलाई कष्ट भइरहन्छ?
    मेरो घाउ गहिरो छ
जुन निको हुनलाई गाह्रो मानिरहेको छ?
    मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ,
    एउटा खोल्सा जसमाथि भरोसा नै छैन।

19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने,
    म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ।
यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ,
    अनि महत्वहीन शब्दहरू बोलेनौ भने,
तिमी मेरा प्रवक्ता हुन सक्छौ।
    यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ
अनि तिमीकहाँ आउँनु पर्छ
    तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
20 म तिमीलाई बलियो बनाउनेछु
    र ती मानिसहरूले तिमीहरूलाई
    काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्।
यहूदाका मानिसहरू तिमीसित लडनेछन्।
    तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन
कारण म तिमीसित रहनेछु,
    म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु।”

परमप्रभु भन्नुहुन्छ।
21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु।
    ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”

महा-बिपद्को दिन

16 परमप्रभुको यो सन्देश मकहाँ आयो: “यर्मिया, यहाँ तिमीले विवाह गर्नु हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”

परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो, “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”

यसर्थ परमप्रभु भन्नुहुन्छ, “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशीर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।

“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्। शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।

“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

10 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौं? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’ 11 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुशरण गरी तिनीहरूको सेवा गरे अनि आरधना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे। 12 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ। 13 यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’

14 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो। 15 मानिसहरूले शपथ ग्रहण गर्नेछन्, “परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।” मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।

1 थिस्सलोनिकी 2:9-3:13

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।

13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं। 15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। 16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।

तिनीहरूलाई फेरि भेट्ने पावलको इच्छा

17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। 18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। 19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। 20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।

1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं। हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्। जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो। त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो।

तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।

तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। 10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।

11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। 12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। 13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।

भजनसंग्रह 80

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नु भयो।
    तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो।
तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो,
    अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।
    तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो।
    चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
10 यसले पर्वतहरू ढाकेर गयो।
    यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।
11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।
    यसको लहराहरू युफ्रेटिस् नदी तर्फ फैलिएर गए।
12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?
    अब बाटो हिँड्नेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ।
    जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।
14 हे, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्।
    स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।
15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।
    तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।
    तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।

17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
    तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
    उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
    हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।

हितोपदेश 25:1-5

सुलोमानका केही अरू हितोपदेशहरू

25 सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।

परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।

जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।

यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्। यस्तै प्रकारले, यदि दुष्ट अनि बेईमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International