The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
फुटेको भाँडो
19 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ। 2 बेन-हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ। 3 अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ। 4 म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए। 5 आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनेको थिइनँ। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनेको थिइनँ। मैले यस्तो कुराहरू सोचेको पनि थिइनँ। 6 अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन। 7 यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु। 8 म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्। 9 शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’
10 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ। 11 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन। 12 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो। 13 ‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।’”
14 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने 15 “यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ, किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।’”
यर्मिया र पशूहरू
20 पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने। 2 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो। 3 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, ‘डरले घेरिएको।’ 4 यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ, ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्। 5 शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्। 6 तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।’”
यर्मियाको पाँचौ गुनासो
7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे।
तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो।
मानिसहरू मलाई देखेर हाँस्छन्।
अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्।
8 जब जब म बोल्छु, चिच्याउँछु,
म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु।
म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो।
तर मानिसहरूले सधैँ मसित खिसी गर्छन् र मेरो हाँसो उडाउँछन्।
9 कहिले काँही म स्वयंलाई भन्छु,
“म परमप्रभु विषयमा सबै भुल्नेछु
अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।”
तर जब म त्यसो भन्छु,
परमप्रभुको वचनहरू मेरो हड्डीभित्र
आगो जलिरहे झैं म भित्र बल्छ।
यसले मलाई थकाउँछ अनि म सहन सक्तिनँ।
10 म मेरो विषयमा मानिसहरू
जहीं-तहीं कानेखुशी गरेको सुन्छु,
तिनीहरू भन्छन्,
“चारैतिर आतंक छ!
यो घोषणा गरौं।
मेरा साथीहरू पनि मलाई
भ्रममा पार्न पर्खिरहेका छन्।
यी मानिसहरू भन्छन्
सायद उसलाई छक्काउनु
अनि हामी जित्न सक्छौ।
तब ऊ माथि हामी बद्ला लिनेछौं।”
11 तर परमप्रभु मसँग
बलियो सिपाही जस्तो हुनुहुन्छ।
यसकारण मानिसहरू,
जो मेरो पछि लागेकाछन्,
तिनीहरू लट्पटिनेछन्,
अनि मलाई जित्नु सक्ने छैनन्।
तिनीहरू हारको सम्मुख हुनु पर्नेछ,
लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।
12 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ,
अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ।
मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु।
तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।
13 परमप्रभुको स्तुति गाऊ।
परमप्रभुको प्रशंसा गर।
किनभने परमप्रभुले गरीब मानिसहरूलाई
दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
यर्मियाको छैटौ गुनासो
14 म जन्मेको दिन श्रापित होस्।
त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
15 त्यो मानिस श्रापित होस्
जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो
उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।”
उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो
जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
16 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्।
ती शहरहरूमाथि परमप्रभुको दया छैन।
त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्,
अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
17 किनभने जब म आमाको गर्भमा थिएँ,
त्यस मानिसले मलाई मारेन।
यदि त्यसले मलाई त्यस बेला मारेको भए,
मेरो चिहान मेरी आमाहुनै हुने थिइन्।
अनि म संसारमा जन्मनु पर्ने थिएन।
18 यी सब शोकहरू र सङ्कटहरू भोग्न,
अनि लज्जित भएर दिन बिताउन,
मेरी आमाको गर्भबाट म किन जन्मे?
परमप्रभुले राजा सिदकियाहको बिन्ती रद्द गरीदिनु भयो
21 यो सन्देश परमप्रभुबाट यर्मियाकहाँ आएको हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए। 2 पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
3 तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन 4 ‘यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ: तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।
“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु। 5 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु। 6 म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा-रूढीले मर्नेछन्।’” 7 यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
8 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु। 9 ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफैं सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्। 10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिनँ।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’”
11 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन,
‘परमप्रभुका वचनहरूलाई महत्व देऊ।
12 हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ:
मानिसहरूलाई निष्पक्ष न्याय गर
र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर।
यदि तिमीहरूले त्यसो गरेनौ भने
रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु।
यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’
13 “हे यरूशलेम! म तिम्रो विरूद्धमा छु।
तिमी मैदानमा भन्ज्याङ्ग माथिको पहाडमाथि बस्छौ।
तिमी यरूशलेमका मानिसहरू भन्छौ,
‘कसैले तिमीहरूलाई आक्रमण गर्न
र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’
तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।”
14 “तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ।
म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु।
त्यो आगोले तिमीहरू वरिपरि भएका
सारा चीजहरू जलाई दिनेछ।”
4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। 5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। 6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। 7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। 8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।
9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
अन्तिम निर्देशन र अभिवादन्
12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। 13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।
परस्परमा शान्तिपूर्वक बस। 14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। 15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।
16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।
23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। 24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।
25 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर। 26 जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर। 27 प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। 28 हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।
आसापको एउटा भजन।
1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।
उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?
कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर।
ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।
दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ।
5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।
तिनीहरू बुझ्दैनन्!
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्,
तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
6 म सर्वशक्तिमान परमेश्वर भन्दछु,
“तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
7 तर तिमीहरू मर्नेछौ
जसरी अन्य अगुवाहरू मर्दछन्।”
8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्।
तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
9 तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन। 10 यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।
© 2004, 2010 Bible League International