Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 28-29

हनन्याह झूटो अगमवक्ता

28 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो बर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने, “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु। दुइ बर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु। म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।’”

तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए। अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।

“हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन। हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए। तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”

10 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए। 11 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ, ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ बर्ष भित्रमा भाँचि दिन्छु।’”

त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।

12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो। 13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन, ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु। 14 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, म सारा जातिहरूका काँघमा फलामको जुवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून्। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जनावर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।’”

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह! परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ। 16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’”

17 अगमवक्ता हनन्याह त्यही बर्षको सातौं महीनामा मरे।

बाबेलका कैदीहरूलाई एक पत्र

29 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए। (यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।) यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो:

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो “घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ। विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ। शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।” सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रगर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ। तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।

10 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी बर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु। 11 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। 12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। 13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। 14 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”

15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” 16 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु। 17 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु। 18 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु। 19 यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नँदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति हुन दिएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो। 20 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

21 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्। 22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’ 23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफैं साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।

शमायाहलाई परमप्रभुको सन्देश

24 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ। 25 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ। 26 शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ। 27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने? 28 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।’”

29 पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए। 30 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो 31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, ‘शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो। 32 यसकारण परमप्रभु भन्नुहुन्छ म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।’” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।’”

1 तिमोथी 1

ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।

तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।

झूटो शिक्षाहरूको विरूद्ध चेतावनी

जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ। तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ। कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे। त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।

हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ। हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्। 10 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन। 11 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।

परमेश्वरलाई उहाँको कृपाको निम्ति धन्यवाद

12 हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो। 13 अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन। 14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।

15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ। 16 तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो। 17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।

18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड। 19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।

भजनसंग्रह 86

दाऊदको प्रार्थना।

म दरिद्र र असहाय मानिस हुँ।
    हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
    म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
    मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
    म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
    मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
    तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
    कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
    म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
    तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
    तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
    तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
    तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
    अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
    तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
    मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
    तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
    निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
    तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
    म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
    म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
    मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
    त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

हितोपदेश 25:17

17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International