Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 44:24-47:7

24 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन, 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउँछौं।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’ 26 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन। 27 म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर नष्ट पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्। 28 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँच्चो हुनेछ? 29 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’ 30 परमप्रभु भन्नुहुन्छ, ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।’”

बारूकलाई एउटा सन्देश

45 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो बर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो। “परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बारूक, तिमीले भनेका छौ, यो मेरो लागि अति नराम्रो हो। ‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’ यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’ परमप्रभुले भन्नुभयो, ‘बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।’”

राष्ट्रबरूकालागि परमेश्वरको सन्देशहरू

46 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

मिश्रका बारेमा सन्देशहरू

यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार बर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश होः

“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।
    युद्धको लागि अघि बढ।
घोडाहरू तैयार पार सिपाहीहरू,
    आफ्नो घोडाहरूमाथि चढेर,
युद्धभूमिमा जाऊ।
    लडाइँको टोपहरू लगाऊ।
भालाहरू तीखो पार,
    र झिलम लगाऊ।
मैले के देखें?
    सिपाहीहरू भयभीत छन्,
अनि भागिरहेका छन्।
    ती वीर सेनाहरू,
परास्त भइरहेका छन्।
    पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्।
    त्यहाँ वरिपरि त्रास छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

“फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्।
    बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्।
तिनीहरू सबै ठेस लागेर लड्ने छन्।
    उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
नील नदी जस्तै को आइरहेछ?
    को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
यो मिश्र हो जो नील नदी झैं आइरहेछ।
    यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ।
मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु।
    म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
हे घोड-सवार सिपाहीहरू, अघिबढ!
    हे रथ हाँक्नेहरू चाँडो हाँक!
हे वीर सिपाहीहरू, अघि बढ!
    कूश र पूटबाट आएका सिपाहीहरू,
तिमीहरू आफ्ना ढालहरू बोक।
    लूदबाट आएका सिपाहीहरू,
    तिमीहरू धनु समाल।

10 “तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले
    आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ।
    त्यो बद्ला लिने दिन हुनेछ।
तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ।
    तिनीहरूको रगतले तरवार भरिनेछ।
यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक,
    सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।
    अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्।
    तिमी निको हुने छैनौ।
12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।
    तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ।
एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ
    अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।”

13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस
    र तहपन्हेसमा घोषणा गर,
र यसो भन्, ‘युद्धको लागि तैयार होऊ।
    किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
15 तिम्रो गोरू किन फ्याँकिएको छ?
    के त्यो उभिन सक्तैन?
    किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
16 धेरै सिपाहीहरू ठक्करखानेछन् अनि लड्नेछन्।
    तब तिनीहरू परस्परमा भन्नेछन्,
‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ।
    हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा,
टाढो आफ्ना देशमा फर्कौ, हामी भाग्नै पर्छ
    किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
17 उनीहरूको आफ्नै शहरमा, ती सैनिकहरूले भन्ने छन्,
    ‘मिश्रको राजा फिरऊन एक चर्को हल्ला मात्र हो।
    उसको महिमाको समय सक्किएको छ।’”
18 जस्तो म जीवित छु।
    राजा भन्छन्, “यो राजाको नाउँ हो,
सेनाहरूका परमप्रभु आउनु हुनेछ।
    उनी याबेर पर्वत अनि समुद्रको किनारको,
    कर्मेल पर्वत जस्तै महान हुनेछ।
19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,
    दासत्वको लागि तैयार हौं,
किनभने मेमफिस शहर नष्ट हुनेछ,
    ती सहरहरू नष्टहुनेछन्।
    जन शून्य बेकामे भूमि हुनेछ।

20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,
    तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं,
    तिनीहरू सबै पीठ फर्काएर भागे।
    तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्।
तिनीहरूको नाशको समय आईरहेछ।
    तिनीहरू दण्डित हुनेछन्।
22 मिश्र सर्पको झैं आवाज गर्दै
    सुल्किरहेको छ।
किनभने उसको शत्रुहरू तेजले आएकाछन्।
    शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”

23 परमप्रभु भन्नुहुन्छ:
    “तिनीहरूले उसको जङ्गल,
बाक्लो भए पनि फाँड्नेछन्।
    शत्रुका सेनाहरू सलह झैं छन्,
अनि कसैले गन्न सक्तैन।
24 मिश्रकी छोरी लज्जित हुनेछ।
    उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु। 26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”

“यस नष्ट पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

उत्तर इस्राएललाई सन्देश

27 “हे याकूब, मेरो दास! नडराऊ।
    हे इस्राएल, होतोत्साही नबन।
म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर,
    र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु।
याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ,
    अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
28 परमप्रभु भन्नुहुन्छ,
“हे याकूब, मेरो दास! नडराऊ।
    म तिमीसँग छु।
मैले तिमीलाई जहाँ पठाएको थिएँ,
    ती जाति-जातिहरू सबै नष्ट पार्नेछु।
    तर म तिमीलाई पूर्णरूपले नष्ट गर्ने छैन।
तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पर्छ,
    आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु
    र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

पलिश्ती मानिसहरूका बारेमा सन्देश

47 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।

परमप्रभु भन्नुहुन्छ:
“हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्।
    तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्।
तिनीहरूले बाढीले झैं सारा देश शहरहरू
    र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्।
त्यस देशका मानिसहरूले विलौना गर्नेछन्
    तथा गुहार माग्नेछन्।
तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्,
    तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्,
    तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्।
बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्।
    तिनीहरू अति नै कमजोर हुनेछन्।
सोर अनि सिदोनलाई सहायता गर्न सक्ने
    त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि
पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ।
पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई
    परमप्रभुले नष्ट गर्नु हुनेछ।
गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्।
अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्।
    हे बेंसीमा बाँच्नेहरू हो!
    कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?

“हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ।
    कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ?
आफ्नो छापभित्र फर्केर जाऊ।
    रोक शान्त हौ।
तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ?
    परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।
उहाँले अश्कलोन र समुद्री किनारमा भएका
    शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।”

2 तिमोथी 2:22-3:17

22 जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर। 23 मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। 24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ। 25 आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्। 26 त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

अन्तिम दिनहरू

यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।

त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्। ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।

जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।

अन्तिम सल्लाह

10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। 12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। 13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।

14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। 15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। 16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्। 17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।

भजनसंग्रह 94

हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ,
जसले मानिसहरूलाई दण्ड दिन्छ।
    तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
    अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?
    कहिले सम्म परमप्रभु?
कहिलेसम्म ती दुष्टकर्मीहरूले
    भयङ्कर कामहरू गर्नेछन्?
हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
    तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे।
    तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।
    तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।

तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ?
    हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ।
    तिमीहरूले बुझ्नै पर्छ।
परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
    निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
    निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
    ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
    परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
    परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ,
जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ।
    जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन,
    त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,
    उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न।
15 न्याय फर्केर निर्मलतासित आउने छ।
    अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।

16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्।
    कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्।
17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए,
    मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18 म जान्दछु कि म पतन हुन लागेको थिएँ,
    तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19 म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ
    तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!

20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।
    ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि,
    कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
    तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
23 परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
    परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।

हितोपदेश 26:6-8

मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुँयेत्रोमा ढुङ्गा बाँध्नु हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International