Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 48:1-49:22

मोआबको बारेमा सन्देश

48 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

“नबो पर्वतको दुर्भाग्य सामुन्ने छ।
    यो नष्ट हुनेछ।
किर्यातैमको शहर लज्जित हुनेछ
    अनि कब्जामा पर्नेछ।
ती बलिया किल्लाहरू लज्जित
    तथा हतोत्साही हुनेछन्।
मोआबलाई फेरि प्रशंसा गरिने छैन।
    हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे।
तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्ट पारौं,
    ताकि अब उसो एउटा जाति नरहोस्।’
हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ।
    तरवारले तिम्रो खेदो गर्नेछ।
होरोनैमबाट आएको चिच्याहट सुन।
    तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
मोआब नष्ट हुने नै छ।
    उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
मोआबका मानिसहरू रूँदै
    लूहीतको उकालो बाटो जान्छन्।
होरोनैम तिर जाने ओह्रालो बाटोमा
    नष्टको परितापमा क्रन्दन सुनिन्छ।
भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,
    मरुभूमिको जङ्गलमा हुने पोथ्रा झैं बन।

“तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ।
    यसकारण तिमीहरू कैदमा पर्यौ।
उसका अधिकारीहरू र पूजाहारीहरूसितै,
    कमोशलाई देश निष्कासन गरियो।
प्रत्येक शहर नष्ट पारिनेछ
    अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन।
हरेक खाल्टाहरू समतल पारिनेछ,
    समतल भुमी नष्ट हुनेछ।
परमप्रभुले भन्नु भएको कुरा पुरा हुनेछ।
    अनि समतल देश नष्ट पारिनेछ।
मोआबमा खेत बारि भरि नून छरिदेऊ
    किनभने यो निश्चय नष्ट हुनेछ
अनि बासिन्दा कोही नभएर
    मोआब शून्य मरुभूमि हुनेछ।
10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।
    धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।
    मोआब ढुङ्ग्रोमा रहेको र एउटा भाँडादेखि
अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ।
    ऊ कैदी भएर कहिले पनि बसेको छैन,
यसकारण ऊ पहिल्यै जस्तै ताजा नै छ,
    अनि उसको स्वादमा बद्ली आएको छैन।”
12 तब परमप्रभु भन्नुहुन्छ,
“हेर, समय आइरहेछ जब म,
    उसलाई तिम्रो भाँडाबाट खन्याउँन,
अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा
    परिणत गराउन मानिसहरू पठाउनेछु।”

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं
    अथवा हामी वीर योद्धाहरू हौं।’
15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्,
    र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्।
उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।”
यो सन्देश महाराजाको हो,
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
16 “मोआबको अन्त नजिकै छ।
    मोआबलाई चाँडै ध्वंस पारिनेछ।
17 मोआबका वरिपरि बस्ने मानिसहरू
    तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ।
    तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ।
यसर्थ त्यसको लागि रूनु
    ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।
    आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ
सुखा जमीनमा बस,
    किनभने विनाश आइरहेछ,
अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

19 “हे अरोएरमा बस्ने मानिसहरू हो।
    बाटोको किनारमा उभ र हेर,
पुरूष मानिसहरू भागिरहेका हेर,
    स्त्री मानिसहरू भागिरहेका हेर,
    तिनीहरूलाई के भयो सोध।

20 “मोआब धराशायी भएको छ
    लाजले पूर्ण भएको छ।
विलौना गर अनि रोऊ।
    अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
21 समतल देशमाथि न्याय हुने समय आएको छ।
होलोन, यहसा र मेपात शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
24 करियोत र बोज्रा र छेउ,
    टाढाका अनि नजिकका
मोआब सबै शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
25 मोआबको सिंग काटियो
    अनि मोआबको पाखुरा भाँचिएको छ।”
परमप्रभुले यो कुरा भन्नुभयो।

26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो।
अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ।
    मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ।
मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

27 “मोआब तिमीले इस्राएलको हाँसो उडायौ
    इस्राएललाई एउटा चोरका समूहले पक्रे।
प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ।
    अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ।
28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड।
    जाऊ ढुङ्गाहरूमा बस,
ढुकुर जस्तो होऊ,
    जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

29 “हामीले मोआबको घमण्ड सुनेकाछौं,
    ऊ अत्यन्तै घमण्डी थियो।
र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो।
    ऊ आफैं गर्वाम्बित थियो।
    ऊ अतिनै घमण्डी थियो।”

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ सो म जान्दछु,
    उसले आफ्नै प्रशंसाको गीत गाउँछ।
    तर ऊ झूटो अंहकार गर्छ
    ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,
    म सम्पूर्म मोआबको लागि रून्छु।
    म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।
32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।
    हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू
    चारैतिर फैलिंदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो।
तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।
    मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ।
यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्।
    स्वर छ तर आनन्दको स्वर होइन।

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो। 35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो। 37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ।[a] प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ। 38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ।
    यसले आफ्नो पखेंटाहरू मोआब भरि फैलाई रहेछ।
41 शहरहरू कब्जा गरिनेछ,
    बलिया किल्लाहरू घेरामा पर्नेछन्।
त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु,
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
42 मोआब देश नष्ट गराइनेछ।
    किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।”

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:
    “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
44 मानिसहरू डराउने छन् र भाग्ने छन्,
    तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्।
यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन्
    किनभने म मोआबमाथि दण्डको बर्ष ल्याउनेछु।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।
    तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो
र सिहोनबाट ज्वाला गएको छ।
    यसले मोआबको निधार र ती अहिले आनन्द
    मनाउँदै गर्नेहरूको शिरलाई काटेर
    नास पारिदिनेछ।
46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ!
    कमोशका मानिसहरू नष्ट भइरहेका छन्।
तिम्रा छोरा-छोरीहरूलाई,
    कैदी बनाएर लगिनेछ।
47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्।
    तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।”
    यो सन्देश परमप्रभुबाट थियो।

यसरिनै मोआबको सजाय पूर्ण हुनेछ।

अम्मोनवंशीहरूको बारेमा एउटा सन्देश

49 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ:

“अम्मोनवासी हो, के तिमीहरू ठान्छौ कि
    इस्राएलका मानिसहरूका नानीहरू छैनन्?
के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्?
    तब किन मल्कामले गादको जमीन लियो?
किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”

परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले,
    युद्धको स्वर सुन्ने समय आउनेछ।
रब्बा एउटा नष्ट पहाड हुनेछ।
    वरिपरिका सबै गाउँहरू जलाइनेछन्
    र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए
तिनीहरूलाई इस्राएलका मानिसहरूले,
    बाहिर निकाल्नेछन्।”
यो सन्देश परमप्रभुबाट थियो।

“हे हेशबोनका मानिसहरू! विलाप गर।
    किनभने ‘ऐ’ शहर नष्ट भएको छ।
हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ।
    विलाप गर अनि पर्खालतिर दगुर।
मल्कम आफ्नो पूजाहारी,
    र अधिकारीहरूसित निष्कासन हुन्छ।
तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ।
    तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ।
हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ,
    अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन।”
सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउँनेछु।
तिमीहरू सबैलाई खेदिनेछ,
    अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”

“त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

एदोमको बारेमा एउटा सन्देश

यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

“के तेमानमा केही ज्ञान बाँचेको छैन?
    के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो?
    के तिनीहरूले आफ्नो बिवेक हराए?
हे ददानका मानिसहरू हो, भाग, लुक!
    किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

“जब मानिसहरूले अङ्गुर बटुल्छन्,
    तिनीहरूले केही छाडछन्।
जब राती चोरहरू आउँछन्
    तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
10 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु।
    म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु
    अनि उ मबाट लुक्न पाउने छैन।
उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सड्नेछन्,
    अनि एसाव अस्तिवहिन हुनेछ।
11 आफ्ना अनाथहरूलाई छाडिदेऊ,
    म तिनीहरूलाई सुरक्षा दिनेछु।
तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।” 13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु:
    उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ,
उक्त संदेश यो होः
“आफ्ना सिपाहीहरूलाई भेला गर!
    र युद्धकोलागि तयार होऊ!
    अनि एदोम विरूद्ध अघि बढ!
15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु।
    प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।
16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ,
    अनि स्वयंलाई महान ठानेका छौं।
तर तिमीहरू आफैंलाई मूर्ख बनायौ।
    तिम्रा घमण्डले तिमीलाई धोका दियो।
    तिमी फुटेको चट्टानमा बस्छौ, उच्च पहाडहरूमा बस्छौ।
तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि,
    बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
यो परमप्रभुले भन्नुभएको हो।

17 “एदोम शोकको दृश्य बनिने छ
    अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन्,
    अनि यसका घाऊहरूमा खिसी गर्नेछन्।
18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन्
    अनि त्यहाँ कोही पनि बस्ने छैन्।”
परमप्रभुले यसो भन्नुभयो।

19 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेंडा़ र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

20 एदोमका मानिसहरूका निम्ति
    परमप्रभुले बनाउनु भएको योजना सुन।
सुन, तेमानका मानिसहरूका निम्ति
    परमप्रभुले के निर्णय लिनु भएको छ।
तिनीहरूले थुमाहरू घिसार्नेछन्।
    उसले सम्पूर्ण तिमीहरूको खेत नष्ट पार्नेछ।
21 एदोमको पतनको आवाजले पृथ्वी थर्किनेछ।
    तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

22 अक्कासिने चील उँभो बेगले तल झरी
    आफ्नो पखेंटा बोज्रामाथि फिँजाउनेछ।
त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

2 तिमोथी 4

परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।

समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।

मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु। अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।

व्यक्तिगत वचनहरू

जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर। 10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए। 11 अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ। 12 टाइकिकसलाई मैले एफिसस पठाँए।

13 म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।

14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ। 15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।

16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। 17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। 18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।

अन्तिम अभिवादन

19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। 20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। 21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।

युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।

22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।

भजनसंग्रह 95-96

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

आऊ, परमप्रभुको गुण-गान गरौं।
    चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
    उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
    अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
    परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
    जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
    अनि हामी उहाँका सन्तानहरू हौं।
    यदि हामीले उहाँको आवाज सुन्यौं भने,

आज हामी उहाँका भेंडाहरू हौं।
    परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
    अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
    तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10 चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
    अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
    तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11 यसैले मेरो रीसमा तिनीहरू
    ‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”

परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
    सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
    सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
“परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ” भनेर मानिसहरूलाई भन,
परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
    सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
    उहाँ अन्य सबै “देवताहरू” को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
    तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
    परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
    र महिमाको गीत गाऔं।
परमप्रभुको नाउँको प्रशंसा गर
    आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
    पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10     जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
ताकि संसार नष्ट नहोस्।
    परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
    यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
    जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,
    परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
परमप्रभुले संसारमा भएका राज्यहरूमा
    पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।

हितोपदेश 26:9-12

मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

11 कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

12 यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International