The Daily Audio Bible
Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.
परिचय
1 1-3 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)
परमप्रभुको रथ अनि उहाँको सिंहासन
4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु[a] झैं केही देखिन्थ्यो। 5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। 6 तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेंटाहरू थिए। 7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। 8 तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो। 9 पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।
10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। 11 प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। 12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। 13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो।
यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे।
15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। 17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए।
18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।
19 पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। 20 तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। 21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।
22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। 23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो।
24 जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो।
25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। 26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
2 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा़ होऊ र म तिमीसित कुरा गर्नेछु।”
2 जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें। 3 उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्। 4 म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’ 5 तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्।
6 “हे मानिसको छोरो! तिनीहरूसँग नडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँच्चो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउनँ चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्। 7 तिमीले तिनीहरूसँग यी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँग भन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।
8 “हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू पालनगर।”
9 अनि जब मैले एउटा हात आफूतिर बढ़दै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेह्ररिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो। 10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दु:खका गीत, कथाहरू अनि चेताउनीहरू थिए।
3 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेह्ररिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”
2 यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेह्ररिएको पत्र मेरो मुखमा राखिदिनु भयो। 3 तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेह्ररिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”
यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।
4 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन। 5 मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। 6 मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्। 7 अँहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। 8 तर म तिमीलाई त्यति नै हठ्ठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। 9 हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठ्ठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैँ मेरो विरूद्धमा गएका छन्।”
10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ। 11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”
12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।” 13 अब ती प्राणीहरूले तिनीहरूको पखेंटा हल्याउन शुरू गरे। जब पखेंटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे। 14 आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडें। म साह्रै दु:खी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो। 15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमा[b] बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा शान्तसँग खिन्न भएर बसिरहें।
मोशाभन्दा येशू महान हुनुहुन्छ
3 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ। 2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो। 3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ। 4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। 6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
हामीले परमेश्वरको अनुशरण गरिरहनु पर्छ
7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ,
“आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ,
त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें,
त्यो तिम्रा पिता-पुर्खाहरूले देखे।
तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
10 त्यसैले म तिनीहरूसित रिसाएँ
र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन्
तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
11 त्यसैले म रिसाएँ र शपथ लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्,
र मसित विश्रान्ति पाउने छैनन्।’”(A)
12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। 13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्। 14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ। 15 धर्मशास्त्रले भनेको छ,
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”(B)
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए। 17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे। 18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्। 19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
1 हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
2 तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
3 परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो,
अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढ्नुभयो।
4 परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता
अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै[a] बनाउनु भयो।
5 हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
यसैले यो ध्वंश हुने छैन।
6 तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो।
पानीले पर्वतहरू छोपीए।
7 तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो।
परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
8 पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खाडीहरूमा झर्दै,
र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
9 तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।
10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11 नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो
अनि यहाँसम्म कि जंङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्।
12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्।
तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13 परमेश्वरले बर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो।
जसलाई हामी हुर्काउने काम गछौं।
ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15 परमेश्वरले हामीलाई दाखरस दिनुहुन्छ, जसले हामीलाई खुशी तुल्याउँछ,
तेल जसले हाम्रो छाला नरम पार्दछ,
अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
16 लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18 उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्।
विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन
जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
अनि विश्राम गर्दछन्।
23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
अनि साँझ सम्म काम गरि रहन्छन्।
24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ। 25 उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्। 26 उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापनी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।
© 2004, 2010 Bible League International