Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 20

20 एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं बर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।

त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’ हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए। तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिएँ। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।

“‘मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें। तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई भित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाहँदिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ। 10 मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरुभूमिमा लिएर गएँ। 11 त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ। 12 मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।

13 “‘तर इस्राएलको परिवार मरुभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुशरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरुभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें। 14 तर मैले तिनीहरूलाई नष्ट गरिनँ। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिनँ। 15 मैले मरुभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।

16 “‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुशरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए। 17 तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिन्। 18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुशरण नगर। तिनीहरूको आदेशहरू पालन नगर। 19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु। 20 यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”

21 “‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरुभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्। 22 तर मैले आफैंलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिनँ। 23 यसकारण मैले मरुभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।

24 “‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे। 25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्। 26 मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’ 27 यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए। 28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी[a] ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए। 29 मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ।’”[b]

30 परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैंलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे। 31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन। 32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि ढुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।’”

33 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु! 34 म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु। 35 म तिमीलाई मरुभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ। 36 म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरुभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

37 “म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु। 38 म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”

39 हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”

40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाउँ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ। 41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्। 42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहा पाउँछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ। 43 त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ। 44 हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

45 तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 46 “हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको[c] विरूद्ध अगमवाणी गर। 47 नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ। 48 त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउन सक्तैंन।’”

49 त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँच्चो हुनेछ।”

हिब्रू 9:11-28

नयाँ करार अनुसार आराधना

11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। 12 ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो।

13 अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो। 14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।

15 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।

16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ। 17 मानिस जीवित रहुन्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ। 18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो। 19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे। 20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुशरण गर्न भनी दिनुभएको नियमको रगत हो।”(A) 21 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि छर्किथ्ये। 22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।

येशूको बलिदानले पापहरू पखालिन्छ

23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ। 24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।

25 प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढ़ाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढ़ाउन होइन। 26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैँ भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैंलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।

27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ। 28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।

भजनसंग्रह 107

पाँचौं भाग

(भजनसंग्रह 107–150)

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
    उहाँको प्रेम सधैँ रहन्छ।
यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
    परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
    उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।

तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए।
    तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
    तर तिनीहरूले कुनै शहर भेट्टाएनन्।
तिनीहरू भोका र प्यासा थिए
    अनि कमजोर हुँदै गइरहेका थिए।
त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
    अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो,
जहाँ तिमीहरू बस्न पाउँथे।
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ।
परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो।
    परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
    झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए।
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
    तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12 परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा
    उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
    अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13 ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो।
यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे
    अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
    तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो,
परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
    परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
    उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।
18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
    अनि तिनीहरू प्रायः मर्छन्।
19 तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
    र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो।
20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
    यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
21 परमप्रभुको अनन्त प्रेम
    अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
    अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर।
    खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
    तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
    तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
    छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
    अनि गहिरो समुद्रमा झारिदिए।
    तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो।
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
    माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28 तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
    अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
    अनि छालहरूलाई शान्त पार्नुभयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
    अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32 महासभामा परमेश्वरको प्रशंसा गर।
    बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।

33 परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो।
    किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।
35 परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
    अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
37 ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे,
र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
    अनि तिनीहरूले असल बाली पाउन सके।
38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो।
तिनीहरूका सन्तानहरू बढे।
    तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
39 घोर विपत्ति र सङ्कटहरूले गर्दा
    तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो।
    उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
    अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए।
42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
    तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।
    परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।

हितोपदेश 27:11

11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International