Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 37-38

सुकेका हाडहरूको दर्शन

37 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।

त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?”

मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”

परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ। म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।’”

यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले। मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।

तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।’”

10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।

11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन्। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ 12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। 13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। 14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।

यहूदा अनि इस्राएल फेरि एक हुने

15 परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ 17 त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिम्रो हातमा एउटा लौरो हुनेछ।

18 “तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो? 19 तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’

20 “तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं। 21 मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। 22 म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुइवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्। 23 तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैंलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।

24 “‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन् तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्। 25 तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ। 26 म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैँ रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु। 27 मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्। 28 तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैँ इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।’”

गोगको विरूद्धमा समाचार

38 परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन। उसलाई भन कि स्वामी परमप्रभु भन्नुहुन्छ, ‘गोग तिमी मेशेक अनि तूबल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हौं। तर म तिम्रो विरूद्धमा छु। म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्। फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ। त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।

“‘तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहनु पर्छ। लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम बर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्। तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।’”

10 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिम्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ। 11 तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्‌छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन। 12 म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लड्छु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’

13 “शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?’”

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्। 15 तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ। 16 तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने गर्जिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।’”

17 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिम्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरें। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरूद्ध युद्ध गर्न ल्याउँछु।”

18 परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरूद्ध युद्ध गर्नु आउँनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु। 19 क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ। 20 त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जङ्गली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”

21 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्। 22 म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको बर्षा बर्षाउनेछु। 23 त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।

याकूब 1:19-2:17

सुन्नु अनि पालन गर्नु

19 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर। 20 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन। 21 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ।

22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। 23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। 24 यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। 25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

परमेश्वरको आराधना गर्ने साँच्चो तरिका

26 कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन। 27 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

सबै मानिसहरूलाई प्रेम गर

मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशू ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्। मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ। तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्” तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो। तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्। अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।

बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”(A) यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ। तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

10 कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ। 11 परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।”(B) उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।”(C) यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ।

12 तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ। 13 यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ।

विश्वास अनि असल कार्यहरू

14 मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अँहँ! 15 परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ। 16 अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्। 17 यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।

भजनसंग्रह 117

हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
    हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ।
    अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 28:1

28 दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International