The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
5 अब तिमी पर्खालले घेरियौ!
हामी घेरामा पर्यौं।
तिमीहरूले इस्रएलको न्यायकर्तालाई
फलामको लौरोले गालामा हिर्काउँनेछन्।
मसीह बेतलेहममा जन्मनेछन्।
2 तर हे बेतलेहम एप्रात,
तिमी यहूदाका बीचमा धेरै सानो छौ,
तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ,
तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ।
उहाँको सुरुवात प्राचीन कालदेखिनै छ,
धेरै-धेरै अघि देखि।
3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन,
तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ।
तब तिनका बाँचेका दाज्यू-भाइहरू चाहिँ
इस्राएलीहरूकहाँ फर्किएर आउनेछन्।
4 अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले
अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ।
तिनीहरू सुरक्षित हुनेछन्
किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।
5 यहीं शान्ति हुनेछ
जब अश्शूरी हाम्रो देशमा आउँछ
र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ
तब हामी त्यसको बिरूद्धमा सात गोठाला
र आठ अगुवाहरू खडा गर्नेछौं।
6 अनि तिनीहरूले अश्शूरमाथि तरवारले
र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्।
अब अश्शूरीहरू हाम्रो देश भित्र पस्छन्,
र हाम्रो सिमानामा पाईला टेक्छन्
तब उहाँले हामीहरूलाई अश्शूरीहरूको हातबाट बचाउँनुहुनेछ।
7 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
धेरै मानिसहरूका बिचमा परमप्रभुबाट आएको शीत
र घाँसमाथि पर्ने झरी झैं हुनेछन्,
जसले न त कुनै मानिसलाई,
न मानिसका कुललाई पर्खनेछ।
8 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
धेरै जनताको बीचमा
जङ्गलका पशुहरूका बीचमा सिंह
र जीव-जन्तुहरूको बिचमा
सिंहको बच्चा जस्तै हुनेछन्
जो तिनका बीचमा कुल्चँदै
र तिनीहरूलाई टुक्रा पार्दै जानेछन्,
र बचाउँने कोही पनि हुनेछैन।
9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्,
र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्।
मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्
10 परमप्रभु भन्नुहुन्छ,
“त्यसदिन म तिम्रा घोडाहरू खोस्नेछु
र म तिम्रा रथहरू नष्ट गरिदिनेछु।
11 म तिम्रो देशको सबै शहरहरू उजाड पारिदिनेछु।
म तिम्रो सबै गढीहरू भत्काई दिनेछु।
12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं,
फेरि तिमी ती मानिसहरूको भविष्य बताउँने प्रयास गर्नेछौनौ।
13 म तिम्रा झूटा देवताको, मूर्तिहरू नष्ट गरिदिनेछु।
ती झूटा देवताको मूर्तिहरूको ढुङ्गाको मूर्ति,
स्मृति, स्तम्भहरू सबै उखेलेर फ्याँकिदिनेछु,
जसलाई तिमीहरू स्वयंले आफ्नो हातले बनाएका थियौ,
तिमीहरू त्यसको पूजा गर्ने पाउनेछैनौ।
14 म अशेरा देवीका पूजाको खम्बाहरू नष्ट गरिदिनेछु।
अनि म सबै तिम्रो झूटो देवताहरू नष्ट गरिदिनेछु।
15 त्यहाँ केही जातिहरू छन् जसले मेरो कुरा सुन्दैनन्।
म तिनीहरूसित क्रोधित हुनेछु र म तिनीहरूसित बद्ला लिनेछु।”
परमप्रभुको आरोप
6 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
“उठ अनि पहाडको सामुन्ने खडा हौ,
अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ।
पहाडहरूलाई आफ्नो कथा सुनाऊ।
2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ।
पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन,
अटल रहने पृथ्वीका जगहरू हो,
परमप्रभुको आरोप सुन,
उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”
3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू!
के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें?
मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ?
मलाई भन मैले तिमीहरूलाई के गरें?
4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें,
मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ!
मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ।
मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”
5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो।
ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो।
तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।”
परमेश्वर हामीबाट के चाहानु हुन्छ?
6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ?
के परमप्रभुलाई एक बर्षको बाछो,
होमबलि चढाउन लिएर जाऊँ?
7 के परमप्रभु एक हजार भेंडा़
र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?
8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
त्यो बताउनु भएको छ।
मानिसहरूसँग तिमी साँच्चो बन,
अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।
इस्राएलका मानिसहरू के-के गरिरहेकाछन्?
9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः
उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ।
यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यन देऊ।
10 के अझै पनि दुष्टहरूले चोरेको धन सम्पत्ति
लुकाएर राखेको छ?
के दुष्टहरूले अझै पनि मानिसहरूलाई
टोकरीहरूले धोका दिइ रहेकोछ,
जुन टोकरीहरू सानो छ।
11 के मैले ती दुष्ट मानिसहरूलाई बेवास्ता गर्ने?
जसले अझै पनि कपट तराजु
र छलको ढकले मानिसहरूलाई ठगिरहेका छन्?
12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्।
त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्।
हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्।
13 यसकारण मैले तिमीहरूलाई दण्ड दिन शुरु गरें।
म तिमीहरूलाई तिमीहरूको पापको कारण नष्ट गरिदिनेछु।
14 तिमीहरूले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन।
अनि फेरि तिमी भोको हुनेछौ।
तिमीले मानिसहरूलाई बचाउने कोसिस गर्छौ
तर तिमीले जसलाई बचाउँछौ,
म त्यसलाई तरवारले काटिदिनेछु।
15 तिमीहरू आफ्नो बिऊ छर्छौ,
तर तिमीहरू बाली काट्ने छैनौ।
तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ
तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ।
तिमी दाख पेलेर दाखरस त निकाल्छौ
तर पिउँन पर्याप्त हुँदैन।
16 यस्तो किन हुन्छ?
किनकि तिमीहरू ओम्रीको कानूनहरू पालन गर्छौ।
तिमीहरू ती नराम्रा कुराहरू भन्छौ
जुन कुराहरू आहाब का घरानामा गर्छन्।
तिमीहरू उनीहरूको शिक्षा अनुसार चल्छौ।
यसकारण म तिमीहरूलाई नष्ट पर्नेछु।
तिम्रो शहरका मानिसहरू हाँसोको पात्र हुनेछन्।
तिमीहरू अन्य राज्यहरूको घृणाको पात्र बनिनेछौ।”
मानिसहरूको आचरणले मीका व्याकुल
7 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु,
जो टिपिसकिएको छ।
म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ।
अब त्यहाँ एउटा पनि दाख रहेकोछैन।
पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो,
त्यो एउटा पनि रहेको छैन।
2 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरू गइसकेकाछन्,
एउटै पनि धर्मी मानिसहरू यो भूमिमा रहेनन्।
हरेक मानिसहरू एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्।
हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
3 मानिसहरूको दुवै हातहरू नराम्रो काम गर्न तयार छन्।
शसकहरू काम गर्नलाई घुस माग्छन्।
न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्।
“मुख्य अगुवाहरू” साँचो र निष्पक्ष निर्णय लिंदैनन्।
तिनीहरू आफूलाई जस्तो मनपर्छ त्यस्तै काम गर्छन्।
4 तिनीहरूले असललाई पनि नोक्सान गर्ने छन्,
र काँढा घारीमा फ्याँक्ने छन्।
दण्डको दिन आइरहेछ
तिमीहरूका अगमवक्ताले भनेका थिए यस्तो दिन आउनेछ,
तिमीहरूका प्रहरीहरूको दिन आउँदैछ।
अब तिमीहरूलाई सजाय दिनेछन्।
तिमी अन्योलमा पर्नेछौ।
5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर।
तिमी आफ्नो साथीलाई विश्वास नगर।
आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ।
छोराले बाबुको आदर गर्दैनन्।
छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे।
बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।
परमप्रभु रक्षा गर्नुहोस्
7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु।
म परमेश्वरको प्रतिक्षा गर्नेछु,
उहाँले मलाई बचाउँनु भएकोछ।
मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
8 म लडेकेछु तर हे, मेरो शत्रु!
मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु।
यद्यपि आज अँध्यारोमा बसेकोछु,
परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
परमप्रभुले क्षमा गर्नुहुन्छ
9 मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ।
यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो।
तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ।
उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ।
फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ।
अनि म उहाँको उद्धार हेर्नेछु।
10 फेरि मेरो शत्रुहरूले
यो देखेर लज्जित हुनेछन्।
मेरो शत्रुहरूले मलाई सोधेको थियो,
“तेरा परमप्रभु परमेश्वर कहाँछन्?”
त्यस समय, म उसमाथि हाँस्नेछु।
मानिसहरूले उसलाई,
हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।
यहूदीहरू फर्कनेछन्
11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ,
त्यस समयमा तिम्रो देश विशाल हुनेछ।
12 तिम्रा मानिसहरू तिम्रो भुमिमा फर्केर आउनेछन्।
तिनीहरू अश्शूर र मिश्रदेशदेखि आउनेछन्।
तिम्रा मानिसहरू मिश्र र यूफ्रेटिस नदीको
अर्को भूमिबाट आउनेछन्,
समुद्रदेखि लिएर समुद्रसम्मका
र पर्वतदेखि पर्वतसम्मका मानिसहरू आउनेछन्।
13 पृथ्वी ती मानिसहरू जो यस पृथ्वीका निवासी थिए,
तिनीहरूको कर्महरू जुन तिनीहरूले गर्थे ती कारणले बर्बाद भएको थियो।
14 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर।
तिमी ती वथानहरूलाई शासन गर
जुन तिम्रो आफ्नो हो।
मानिसको वथान कर्मेलको पहाडमा एक्लै बस्थे।
यो बथान बाशानमा छ अनि गिलादमा छ
जसरि त्यो पहिला बसेको थियो।
इस्राएलले आफ्नो शत्रुलाई हराउने छ
15 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ,
मैले धेरै अचम्मको कामहरू गरेको थिएँ।
त्यस्तै अचम्मका कामहरू म तिमीलाई देखाउँनेछु।
16 ती अचम्मका कामहरू अन्य जातिहरूले देख्ने छन्,
अनि लज्जित हुनेछन्।
ती जातिहरूले देख्नेछन्,
तिनीहरूको शक्ति मेरो छेउमा केहि पनि होइन।
उनीहरू छक्क पर्नेछन्,
अनि आफ्नो मुख हातले छोप्नेछन्
अनि कान बन्द गर्नेछन्
र केही पनि सुन्ने छैनन्।
17 तिनीहरूले जमीनमा घस्रने सर्पले झैं
धूलो चाट्नेछन्, र तिनीहरू डरले काम्नेछन्।
तनीहरू परमप्रभु हाम्रा परमेश्वरकहाँ
घस्रने किरा झैं तिनीहरूका किल्लाहरूबाट आउँनेछन्।
तिनीहरू तिमीहरूसित डराउँनेछन्।
परमप्रभुको निम्ति स्तुति
18 तपाईं जस्तो परमेश्वर अरू छैनन्।
तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ।
तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ।
तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न
किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ।
19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्,
फेरि हामीलाई सुख चैन दिनुहोस्,
हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।
20 तपाईं याकूबप्रति साँच्चो हुनुहुन्छ,
अब्राहम प्रति दयालु हुनुहुन्छ।
तपाईंले यस्तो शपथ धेरै अगाडी,
हाम्रो पिता-पुर्खाहरूसँग गर्नुभएको थियो।
इस्राएलका एकलाख चवालीस हजार मानिसहरू
7 यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। 2 त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, 3 “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”
4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:
5 यहूदाको कुल समूहबाट | 12,000 |
रुबेनको कुल समूहबाट | 12,000 |
गादको कुल समूहबाट | 12,000 |
6 आशेरको कुल समूहबाट | 12,000 |
नप्तालीको कुल समूहबाट | 12,000 |
मनश्शेको कुल समूहबाट | 12,000 |
7 शिमियोनको कुल समूहबाट | 12,000 |
लेवीको कुल समूहबाट | 12,000 |
इस्साखारको कुल समूहबाट | 12,000 |
8 जबूलूनको कुल समूहबाट | 12,000 |
यूसुफको कुल समूहबाट | 12,000 |
बेन्यामीनको कुल समूहबाट | 12,000 |
विशाल भीड
9 त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”
11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?”
14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”
अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। 17 सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर!
परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!
2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा,
र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
4 परमप्रभुले याकूबलाई रोज्नु भयो,
इस्राएल परमप्रभु कै हो।
5 म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!
हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
6 परमप्रभुले चाहेका जे पनि,
आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।
परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ।
परमेश्वरले हावा ल्याउनुहुन्छ।
8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू,
अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो।
परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!
हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो,
तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।
तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16 ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे।
ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे।
17 ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे।
ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे।
18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर!
हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
हे यरूशलेम र उहाँको वास-स्थानबाट।
परमप्रभुको प्रशंसा गर।
5 परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ। 6 यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूटा प्रमाणित हुनेछौ।
© 2004, 2010 Bible League International