Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
हबकूक 1-3

हबकूकद्वारा परमेश्वरलाई उजूरी

यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।

हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।

हबकूकलाई परमेश्वरको उत्तर

परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ। म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउँनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरूले त्यो घरहरू अनि शहरहरूमा दखल गर्नेछन् जुन तिनीहरूका होइनन्। कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयभित पार्नेछन्। कल्दी मानिसहरू आफू जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्। तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ। तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।

10 “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउँनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बन्नेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउँनेछन्। 11 फेरि उनिहरू अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अगाडी बढेर जान्छ, कल्दी मानिसहरू आफ्नो शक्तिको पूजा गर्छन्।”

परमेश्वरलाई हबकूकको दोस्रो उजूर

12 हबकूकले फेरि भने, “हे परमप्रभु तपाईं,
अनन्त सम्म जीवित हुनुहुन्छ,
    परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ,
    जो कहिल्यै मर्नु हुँदैन।
हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरूलाई
न्याय गराउन सृष्टी गर्नुभयो।
    हे हाम्रो चट्टान! तपाईले अरू राष्ट्रहरूलाई सजाय दिन,
    तिनीहरूलाई नियुक्त गर्नुभयो।
13 तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्।
    तपाईंले ती मानिसहरूले पाप गरिरहेको हेर्न सक्नु हुन्न।
यसकारण तपाईले ती पापीहरूको बिजय कसरी हेर्नु हुन्छ?
    दुष्टले धर्मी मानिसलाई जितेको देख्दा,
    तपाईं किन प्रतिक्रिया गर्नुहुन्न?

14 “तपाईंले मानिसहरूलाई समुद्रको
अनगन्ती माछाहरू जस्तै बनाउनु भयो,
    तिनीहरू समुद्रको जीव-जन्तु जस्तै छन्,
    जसको कुनै शासक छैन।
15 शत्रुहरूले तिनीहरूलाई बल्छी,
    अनि जाल लगाएर पक्रिन्छन्।
तिनीहरूले तिनीहरूलाई जालमा पक्रिन्छन्,
    अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
16 बल्छी अनि जालले माछा मार्छ,
    त्यसको कमाईले उसलाई मिठो खान,
र धनी हुन सहायता गर्छ।
    यसकारण ती शत्रुहरूले जालको पूजा गर्छन्।
तिनीहरूले जालका निम्ति बलिदान चढाउँछन्
    अनि ती चिजहरूको सम्मानमा धूप जलाउँछन्।
17 के यसरी तिनीहरू आफ्ना जालहरूले धन कमाई रहेछन्?
    के तिनीहरू लगातार कुनै दया नदेखाई,
    मानिसहरूलाई नष्ट पारिरहने छन्?

“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु।
    परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु।
म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि,
उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”

हबकूकलाई परमेश्वरको जवाफ

परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्। यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसँग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन। यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”

परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैँ धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैँ हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरूलाई कैदी जस्तै लगिरहनेछ। निश्चय नै यी मानिसहरूले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’

“हे, मानिस, तिमीले मानिसहरूको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरू उठ्नेछन्। उनीहरूले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरूले ती सबै कुराहरू तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ। तिमीले धेरै देशहरू लुट्यौ। तर बाँकी रहेका जातिहरूले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरूको हत्या गर्यौ तिमीले खेतहरू र शहरहरू नष्ट पार्यौ र बासिन्दाहरूलाई मार्यौ।

“हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरू हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरू मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ। 10 तिमीले धेरै मानिसहरूको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरूले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ। 11 तिम्रो घरको पर्खालहरू तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरूले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।

12 “ती दुष्ट शासकहरूलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरूलाई मारेर शहरको निर्माण गर्छन् अनि दुष्ट्याईंद्वारा शहरहरू स्थापित गर्छन् तिनीहरूलाई नराम्रो हुनेछ। 13 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरूले निर्माण गरेको शहरहरू सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरूको सबै मेहनत बेकामको भएर जानेछ। 14 तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ। 15 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरूलाई तिनीहरूलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरू नाङ्गो लड्छन् तब हेर्छौ।[a]

16 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।

“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ। 17 लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरू लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरू अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरू अनि त्यहाँका मानिसहरूलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”

मूर्तिहरूको विषयमा समाचार

18 उसका झूटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन। 19 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।

20 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँप्रति सम्मान प्रकट गर्नु पर्छ।

हबकूकको प्रार्थना

शिग्गिओनोथ[b] रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।

हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।
    हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें।
अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।
    म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्
तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।

परमेश्वर तेमानवाट आउँनु हुँदैछ।
पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ,

आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
    अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

उहाँको गौरम चम्कन्छ,
उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
    अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
उहाँको अघि रूढी फैलिंदै गयो
    अनि विनाशक उहाँको पछि-पछि गयो।
परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
    उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो,
र तिनीहरू डरले काम्न थाले
    अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे,
परमेशवर सदा यस्तै हुनुहुन्छ।

मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें।
    मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।
हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो?
    के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?
के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
    जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो,
    के तपाईं क्रोधित हुनुहुन्थ्यो?

तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो।
    यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।

तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।
10     तपाईंलाई देखेर पहाडहरू काम्न थाले,
पानी पृथ्वीमा बग्न शुरु गर्यो।
    जव गहिरो समुद्र भूमिबाट झर्यो
    यसले ठुलो हल्ला गर्यो।
11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो।
जव तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
    तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरू,
    अथवा काँडहरू जस्तै थियो।
12 क्रोधमा तपाईं पृथ्वीमाथि हिँड्नुभयो,
    अनि देशहरूलाई दण्ड दिनु भयो।
13 तपाईं आफैंले आफ्ना मानिसहरूलाई बचाउँन आउनुभयो।
    जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो।
    पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
    परिवारका प्रत्येक दुष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।

14 शत्रुका सेनाहरू जसले हामीलाई
    शक्तिशाली आँधीले झैं पछ्याए।
हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले
    मोशाको लौरो प्रयोग गर्नु भयो।
गुप्तरूपले गरीबलाई लुटे झैं
    तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं।
15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
    आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।
16 मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो।
    मैले जोडसँग सुस्केरा हालें।
मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें।
    म त्यहाँ थर-थर काम्दै उभिरहें।
यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्,
म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।

परमप्रभुमा सधैँ आनन्दित बस

17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
    दाखको बोटमा फल लागोस् अथवा नलागोस्,
भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्,
    अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्,
खोरमा केही भेंडाहरू होस् अथवा नहोस्,
    गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।
18 तर म अझै परमप्रभुमा आनन्दित रहने छु।
    म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ,
    उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ।
    उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ।

संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरूमा बजाइने राग।

प्रकाश 9

पाँचौं तुरही बज्छ

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन[a] थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

छैठौं तुरही बज्यो

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

भजनसंग्रह 137

हामी बाबेल नदीहरूका किनारमा बसेर
    सियोनलाई सम्झेर रोयौं।
हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
    तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
    तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
तर कसरी विदेशमा हामीहरू
    परमप्रभुका गीतहरू गाउन सक्छौं?
हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
    मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
यरूशलेम यदि मैले तिमीलाई भुलेको भए,
    तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन।
म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ।
    हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
    त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
हे बेबिलोन, तिमी नाश हुनेछौ!
    त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ,
    जुन दण्डको निम्ति तिमी योग्य थियौ।
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते,
    र तिनीहरूलाई ढुङ्गामा थेचारे।

हितोपदेश 30:10

10 मालिकको अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International