The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
यो मन्दिर निर्माणको समय हो
1 फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
3 फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। 4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? 5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। 6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! 8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ। 10 यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।”
नयाँ मन्दिरको कार्य आरम्भ
12 तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले।
13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले। 15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो बर्षको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।
परमप्रभुले मानिसलाई उत्तेजित पार्न थाल्नुभयो
2 सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो। 2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन, 3 ‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’ 4 तर यरूबाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।
5 परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’ 6 किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई थर्रथर्र कमाउँनेछु। 7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसँगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, 8 ‘तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, 9 ‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।’” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
आज आशिषको कार्यको आरम्भ
10 फारसका राजा दाराको दोस्रो बर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो। 11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ। 12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”
पूजाहारीले उत्तर दियो, “अँहँ।”
13 त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”
अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”
14 तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।
15 “‘तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो? 16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो। 17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”
18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच। 19 के बीऊहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ, छैन। तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”
20 अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो: 21 “यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु। 22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।” 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।”
सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।
दुइ साक्षीहरू
11 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। 2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। 3 अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।”
4 यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। 5 यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। 6 यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्।
7 जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। 8 ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। 9 हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। 10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।
11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। 12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।
13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।
14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।
सातौं तुरही बज्यो
15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,
“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”
16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,
“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।
1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।
तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
4 हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
5 हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
“दिन रातमा परिर्वतन भएको छ।
निश्चय रातले मलाई लुकाउनेछ।”
12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
तपाईंको निम्ति रात र दिन उस्तै हो।
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।
15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्।
त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे
तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।
21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु,
ज-जसले तपाईंलाई घृणा गर्दछन्।
म ती मानिसहरूलाई घृणा गर्दछु,
जो तपाईंको विरूद्धमा उठ्दछन्।
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु।
तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।
मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,
अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।
15 जूकाका दुइ जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन्। चौथोले कदापि प्रयाप्त भयो भन्दैन। 16 चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”
© 2004, 2010 Bible League International