The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
परमप्रभुको प्रतिज्ञा
10 वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
2 मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेंडा़हरू जस्तै सहायताको निम्ति यता उता भट्की हिँड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
3 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)
4 “कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ। 5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्। 6 म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु। 7 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसँग आनन्द मनाउँनेछन्।
8 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ। 9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्। 10 म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।” 11 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति नष्ट गरिदिनुभयो। 12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
परमेश्वरले यहूदाको चारैतिर भएका देशहरूलाई दण्ड दिनुहुनेछ
11 लबानोन, आफ्नो दैलोहरू खोल! किनभने आगो भित्र आउँछ,
अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
2 बाशानका सल्लोको रूखहरू रूनेछन्,
किनकि देवदारका रूखहरू लडे।
महान् रूखहरू नष्ट गराइए।
बाशानका फलाँटका रूखहरू
त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
3 गोठालाहरू रूएको सुन!
तिनीहरूको महिमा नष्ट भएको छ।
जवान सिंहको गर्जन सुन,
यर्दन नदीको किनारको तिनीहरूको
बाक्लो जङ्गल उजाड़ गराइएको छ।
4 परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेंडा़हरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ। 5 तिनीहरू जसले भेंडा़ किन्छन् तिनीहरूले भेंडा़लाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेंडा़लाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेंडा़हरूका निम्ति शोक मनाउँदैनन्। 6 अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन।” परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोक्नेछैन।”
7 त्यसरी मैले ती भेंडा़हरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेंडा़हरूको रेखदेख आरम्भ गरें। 8 मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेंडा़हरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले। 9 त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो नष्ट हुन चाहन्छन् नष्ट होऊन्। अनि जो बाँच्छन् तिनीहरूले एक-अर्काको मासु खानेछन्।” 10 त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसँग मेरो करार रद्द गर्न यसो गरें। 11 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
12 तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए। 13 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ। 14 तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
15 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर। 16 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेंडा़हरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेंडा़हरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेंडा़हरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
17 हे मेरो बेक्कामको गोठालो तिमीले
मेरा भेंडा़हरूलाई त्यागिदियौ।
एउटा तरवारले उसको दाहिने पाखुरा
अनि उसको दाहिने आँखामा हिर्काउनेछ।
उसको पाखुरा बेक्कामको हुनेछ
अनि उसको दाहिने आँखा अन्धा हुनेछ।
बेबीलोन ध्वंशभयो
18 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। 2 त्यो स्वर्गदूत जोडले करायो,
“उसको संहार भयो!
बेबिलोन महानगर संहार भयो!
ऊ अशुद्ध आत्माको बासस्थान बनियो।
ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो।
ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो।
ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।
3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको
अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।
पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।
अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,
“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।
5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।
उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई,
त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ।
ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,
म विधवा होइन,
मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’
8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,
मृत्यु, शोक, अनि अनिकाल,
किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,
जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”
9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। 10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,
‘हे! शक्तिशाली नगर बेबिलोन!
दु:खै-दु:ख होस्! तिमीलाई
एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। 12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। 13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,
14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे,
तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।
तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’
15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। 16 तिनीहरूले भन्नेछन्:
‘कष्ट! कष्ट महानगरलाई,
ऊ मिहीन मलमल, बैजनी,
अनि रातो बस्त्रको पहिरनमा थिई।
ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!
17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’
“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। 18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ 19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,
‘कष्ट! महानगरको निम्ति कति कष्ट!
सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”
21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:
“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।
अनि फेरि कहिल्यै पाइनेछैन।
22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी
अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्।
तेरोमा फेरि कुनै व्यवसायको
कर्मी पाइने छैन।
तेरोमा कहिल्यै जाँतोको
आवाज सुनिने छैन।
23 तेरोमा बत्तीको ज्योति
फेरि कहिल्यै चम्कने छैन।
वेहुला-वेहुलीको स्वर
तेरोमा सुनिने छैन।
तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,
समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।
24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,
तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
1 परमप्रभुको प्रशंसा गरौं!
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
4 मानिसहरू मर्दछन् र गाडिन्छन्,
अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।
परमप्रभुको प्रशंसा गरौं!
33 जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ।
© 2004, 2010 Bible League International