The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। 14-15 याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो। 16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।” 17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’ 18 तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’”
19 याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु। 20 तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।’”
याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।” 21 यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।
22 त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो। 23 उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो।
परमेश्वरसित लडाइँ
24 याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो। 25 त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुश्ती लड़दै थियो।
26 तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”
तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
27 अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?”
अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
28 तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
29 तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”
तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
30 यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।” 31 उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो। 32 यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।
याकूबको साहस प्रदर्शन
33 याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसँग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा। 2 याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।
3 याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।
4 एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए। 5 त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”
याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएको हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”
6 त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए। 7 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।
8 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”
याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”
9 तर एसावले भने, “भाइ, तैंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”
10 याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार गर्नु पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ। 11 यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
12 त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस् र म तँसँगै जानेछु।”
13 तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेंडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्। 14 यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”
15 यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”
तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।” 16 यसकारण त्यो दिन एसाव सेइर फर्कियो। 17 तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
18 यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो। 19 उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो। 20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।”
दीनाको बलात्कार
34 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्। 2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। 3 शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो। 4 शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
5 याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्। 6 त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
7 जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
8 तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्। 9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्। 10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”
11 शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु। 12 यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो। 14 यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ। 15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ। 16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। 17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
18 यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए। 19 दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।
आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो। 20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने, 21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ। 22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ। 23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।” 24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए। 26 दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए। 27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन। 28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे। 29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”
31 तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अँहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”
7 यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? 8 वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। 9 यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। 10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ:
‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु।
उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’(A)
11 “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। 13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। 14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। 15 मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं,
तर तिमीहरू नाचेनौ;
हामीहरूले दु:खका गीत गायौं,
तर तिमीहरू दुःखी भएनौ।’
18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ 19 मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
येशू विश्वास नगर्नेहरूलाई सर्तक गराउनु हुन्छ
(लूका 10:13-15)
20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। 21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। 22 तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
23 “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। 24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ
(लूका 10:21-22)
25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।”
मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्।
ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।
2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर
स्वर्गबाट तल हेर्नुहुन्छ।
ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए
र दुष्ट भइसके।
कुनै एकजना मानिसले पनि
राम्रो काम गरेको छैनन्।
4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्।
दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ,
तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।
5 दुष्ट मानिसहरू प्रशस्त भयग्रस्त छन्।
किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्।
6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्।
तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ।
7 सियोनमा इस्राएललाई बचाउने को छ?
परमेश्वर बाहेक कोही पनि छैन!
परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो।
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ,
तब याकूब (इस्राएल) खुशी हुनेछ।
19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। 20 उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
© 2004, 2010 Bible League International