The Daily Audio Bible
सामूहिक भोजनको नियम
11 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः 3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
4-6 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको छैन, भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन। खरायो यद्यपि यो उग्राउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्। 7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ। 8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
समुद्री खाद्य विषयमा नियम
9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ। 10-11 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेंटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु। यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन। 12 जलचर प्राणीहरू मध्ये जसको पखेंटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
चराहरू जो खानु हुँदैन
13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध, 14 रातो चील र सबै प्रकारका कालो चील, 15 सबै थरीका कागहरू, 16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू, 17 सानो लाटोकोसेरो, पानी काग, भुल्का, 18 सेतो लाटोकोसेरो, मरुभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील, 19 साँरस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।
किराहरूको मासु खाने नियम
20 “तिमीहरूले प्रत्येक पखेंटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ। 21 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पखेंटा भएका किराहरू खान सक्छौ। 22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेंटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।
23 “चार खुट्टे तर पखेंटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ। 24 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ। 25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
पशुहरूको विषयमा धेरै नियमहरू
26-27 “कुनै प्राणी जसको चिरिएको खुर त छ तर उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ। चार खुट्टाले हिंड्छ तर पन्जाले टेकेर हिंड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ। 28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
घस्रने पशुहरूको विषयमा नियमहरू
29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू, 30 माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो। 31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
अशुद्ध पशुहरूको विषयमा नियमहरू
32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा), अथवा कुनै काम आउने भाँडो किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ। 33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाँडोमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ। 34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ। 35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ। 37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ। 38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
39 “यदि तिमीहरूलाई खानको निम्ति अनुमति दिइएको पशुहरू मध्ये कुनै पशु मर्यो भने, र जसले त्यो मृत पशुको शरीरलाई छोयो भने त्यो व्यक्ति साँझसम्म अशुद्ध हुनेछ। 40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन। 42 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ। 43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन। 44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन 45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्। 47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।
सुत्केरीका नियमहरू
12 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः
“यदि कुनै स्त्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे। 3 अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ। 4 सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन। 5 यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुइ हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।
6 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। 7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो। 8 यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”
येशूद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी स्त्रीलाई आरोग्य प्रदान
(मत्ती 9:18-26; लूका 8:40-56)
21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। 22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”
24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।
27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”
31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’”
32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”
35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।”
36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। 39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।” 40 तर तिनीहरूले येशूमाथि हाँसो गरे।
येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) 42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।
सम्झनाको निम्ति दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
3 तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
5 मैले मूर्ख कामहरू गरें।
अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
6 म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
म दिनभरि हताश-हताश हुन्छु।
7 मलाई ज्वरो आएको छ,
अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ।
मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!
8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।
9 ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
© 2004, 2010 Bible League International