Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 5-6

सुलेमान द्वारा मन्दिरको निर्माण

हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए। सुलेमानले राजा हीरामलाई जे भने, यो होः

“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन। तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्।

“परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु। यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू र लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”

जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!” तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो:

“तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु। मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ। बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”

10 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।

11 सुलेमानले हीरामलाई 20,000 मुरी[a] गहुँ र 20,000 मुरी[b] भद्राक्षको तेल प्रत्येक बर्ष उसको परिवारको निम्ति जुटाए।

12 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।

13 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए। 14 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए। 15 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए। 16 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए। 17 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो। 18 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।

सुलेमानद्वारा मन्दिरको निर्माण

तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 बर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो बर्ष थियो। यो बर्षको दोस्रो महीना, जिबको[c] महिना थियो। मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौंडाईको बराबर थियो। त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो। तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो। कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौंडा थिए। माझका कोठाहरू छः हात चौंडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए। कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।

मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।

यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो। 10 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।

11 परमप्रभुले सुलेमानलाई भन्नुभयो, 12 “यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ। 13 अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”

14 यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। 15 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूईंदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूईंमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए। 16 तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा-पवित्र स्थान भनिन्थ्यो। 17 महा-पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात लामो थियो। 18 तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।

19 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो। 20 यो कोठा 20 हात लामो, 20 हात चौंडा अनि 20 हात अग्लो थियो। 21 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा-पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए। 22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा-पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।

23 कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पखेंटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा-पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए। 24-26 दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेंटा थिए। पखेंटा पाँच हात लामा थिए। एउटा पखेंटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए। 27 यी करूब स्वर्गदूतहरूलाई महा-पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेंटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेंटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेंटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो। 28 दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।

29 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो। 30 दुवै कोठाको भुइंमा सुन जडिएको थियो।

31 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा-पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो। 32 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।

33 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोग गरे। 34 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए। 35 तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।

36 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।

37 तिनीहरूले मन्दिरको निर्माण कार्य बर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो बर्ष बितेको थियो। 38 मन्दिर बर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं बर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात बर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।

प्रेरित 7:1-29

स्तिफनसको भाषण

प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?” स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’

“यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ। तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।

“परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुव्यवाहर गरेर राख्नेछन्। तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’

“परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।

“त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। 10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। 11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।

12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। 13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। 14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। 15 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। 16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।

17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। 18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। 19 ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।

20 “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले। 21 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्। 22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

23 “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। 24 मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो। 25 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।

26 “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’ 27 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? 28 जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?’(A) 29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

भजनसंग्रह 127

सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।

यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
    घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
    प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।

जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
    राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
    मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।

शिशुहरू परमप्रभुकै उपहार हुन्।
    आमाको शरीरबाट पुरस्कार हो।
आफू जवान रहेको समयमा जन्मेका छोराहरू
    सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
    त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
    उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
    उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।

हितोपदेश 16:28-30

28 एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।

29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।

30 जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International