The Daily Audio Bible
Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.
परमेश्वर सुलेमान कहाँ फेरि आउँनु हुन्छ
9 यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे। 2 तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो। 3 परमप्रभुले उनलाई भन्नुभयोः
“मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सधैँ विचार राख्ने छु। 4 तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र ईमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ। 5 यदि तिमीले यी सब कामहरू गर्यौ भने म तिम्रो परिवारबाट एक जनालाई सधैँ इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो सन्तानहरूबाट एक जनाले चलाउने छ।
6 “तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुशरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने, 7 तब म इस्राएललाई त्यो भूमि छोड्न वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुशरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु। 8 यो मन्दिर ध्वंस हुनेछ। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’ 9 अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुशरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।’”
10 परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस बर्ष लाग्यो। 11 अनि बीस बर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए। 12 यसर्थ हीरामले सोरबाट शहरहरू र्हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्। 13 उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ। 14 हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।
15 राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।
16 कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म पारेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बस्ने गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए। 17 सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए। 18 राजा सुलेमानले यहूदा मरुभूमिमा बालात र तामार शहर पनि बनाए। 19 राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।
20 ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए। 21 इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्। 22 सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए। 23 सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ता-कर्ता थिए जो काम गर्दथे।
24 फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।
25 सुलेमान बर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।
26 राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ। 27 राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनग्गे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरू सँग काम गर्न पठाए। 28 सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।
शबाकी रानीको सुलेमानसँग भेट
10 शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्। 2 तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्। 3 सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन। 4 शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए। 5 रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, लामो सास फेर्ने बनाइ दिए।
6 यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ! 7 मैले तबसम्म विश्वास गरेकी थिइनँ जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइनँ। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ। 8 तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो। 9 परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”
10 तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।
11 हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए। 12 सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।
13 तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।
14 राजा सुलेमानले प्रत्येक बर्ष तौल 666 तोडा[a] सुन प्राप्त गर्दथे। 15 व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।
16 राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो। 17 तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।
18 राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके। 19 सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू। 20 छःवटा सिंढीहरूमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।
21 सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चाँदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।
22 राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन बर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको बाँदरहरू र मजुरहरू ल्याउने गर्थ्यो।
23 सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए। 24 सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे। 25 प्रत्येक बर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।
26 यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्राएललाई समृद्ध बनाएका थिए। 27 राजाले इस्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तैं सामन्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उम्रने प्रशस्त अञ्जीरको रूख जस्तैं सामान्य थियो। 28 सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्राएलमा ल्याए। 29 मिश्रको एउटा रथको मोल लगभग 15 पौड़ चाँदी थियो अनि एउटा घोडाको मोल पौने 4 पौड़ चाँदी थियो। सुलेमानले हित्ती र अरामीका राजाहरूलाई घोडा र रथहरू बिक्री गरिदिए।
14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। 15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। 16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। 17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।
18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। 19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”
20 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ। 21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। 22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। 23 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”
24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”
25 त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।
एथियोपियावासीलाई फिलिपले शिक्षा दिए
26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”
27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। 28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” 30 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”
31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। 32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः
“जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ,
त्यसरी नै उनी रहे।
त्यसरी नै उहाँ उभिई रहनु भयो।
33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।
पृथ्वीमा उहाँको जीवन समाप्त भयो।
अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”(A)
34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” 35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।
36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” 37 [a] 38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। 40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
यसैकारण म तपाईंलाई गुहार मान्छु।
2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
मेरो गुहार प्रति ध्यान दिनु होस्।
3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
कुनै मानिस पनि जिउँदो हुने थिएन।
4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
मेरो आत्माले उहाँलाई पर्खिन्छ,
परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
6 म मेरो स्वामीलाई पर्खिरहेछु।
म एकजना पहरेदार जस्तै छु,
जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
8 अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
2 एकजना बुद्धिमान नोकरले एकजना हड़बडाउँने छोरामाथि शासन गर्छ, अनि उसले एउटा दाज्यू-भाइ झैं पैतृक धन प्राप्त गर्छ।
3 सुन अनि चाँदीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाँचिन्छ।
© 2004, 2010 Bible League International