Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 14:1-15:24

यारोबामको छोरा को मृत्यु

14 त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो। यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्। अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”

यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए। तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?

यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्। अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्। फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ। दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैँ नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुशरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें। तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ। 10 यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु। 11 शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।’”

12 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ। 13 सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ। 14 परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घट्ना चाँडै नै हुनेछ। 15 तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे। 16 यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”

17 यारोबामकी पत्नी तिर्सा शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो। 18 सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।

19 राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 20 यारोबामले 22 बर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।

21 त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 बर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 बर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमाको नाउँ नामा थियो। उनी अम्मोनी स्त्री थिइन्।

22 यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईर्ष्यँलु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे। 23 मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए। 24 त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।

25 रहबामको शासनकालको पाँचौ बर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे। 26 शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढुकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए। 27 यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए। 28 हरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्थे, रक्षक कक्षको भित्तामा ढालहरू राख्नेगर्दथे।

29 राजा रहबामले जे कामहरू गरे त्यो सबै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लिखित छ। 30 रहबाम र यारोबाम सधैँ नै एका अर्कासँग युद्ध गरिरहन्थे।

31 रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरूसँगै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। (उनकी आमा नामा थिइन्। तिनी एक जना अम्मोनी थिइन्।) रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

यहूदाका राजा अबियाम

15 अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठाह्रौं बर्षमा यस्तो भयो। अबियामले यरूशलेममा तीन बर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।

उनले त्यस्तै सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्। दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो। दाऊदले सधैँ नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सधैँ नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।

रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो। अबियामले जे काम गरे सबै नै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो। जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

यहूदाका राजा आसा

इस्राएलमा यारोबाम राजा भएको बिसौं बर्षमा आसा यहूदाका राजा भए। 10 आसाले यरूशलेममा 41 बर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।

11 आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे। 12 त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।

13 आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए। 14 उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे। 15 आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।

16 राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैँ इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे। 17 इस्राएलका राजा बाशा यहूदाको विरूद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई साह्रै सुदृढ बनाए। 18 यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिशक बेनहददको राजधानी शहर थियो। 19 आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस् जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामीलाई अलग छोड्नेछ।”

20 राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका, गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए। 21 बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए। 22 तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।

23 राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो। 24 तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

प्रेरित 10:1-23

पत्रुस र कर्नीलियस

10 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”

स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।

अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। 10 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। 11 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। 12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। 13 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”

14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

15 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” 16 यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। 17 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।

यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। 18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”

19 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। 20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” 21 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” 23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।

अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए।

भजनसंग्रह 133

यात्राको एक गीत, दाऊदको भजन।

जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
    त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
    त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
    किनभने यो सियोनमा थियो,
    जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।

हितोपदेश 17:7-8

मूर्ख मानिसले धेरै बोल्नु असल हुँदैन, त्यसरी नै शासकले झूटो बोल्नु सुहाउँदैन।

घूस ग्रहण गर्ने मानिसलाई घूस महा-मन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ त्यहीं उसले सफलता पाए जस्तो लाग्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International