Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 22

मीकाया आहाबलाई चेताउनी दिन्छन्

22 दुइ बर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो। तब, तेस्रो बर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।” यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोतामा युद्ध गर्ने छौं?”

यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्। तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।”

यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लड्नु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?”

अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।”

तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”

इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”

यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”

यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्‌कालै खोज्नु भनी अह्राए।

10 त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए। 11 अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।’” 12 सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाईँमा विजयी होऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।”

13 यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”

14 तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”

15 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?”

मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।”

16 तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँच्चो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भन्नुहुन्छ!”

17 यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेंडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।’”

18 तब इस्राएलका राजाले यहोशापातलाई भने, “सुन्नुहोस्, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।”

19 तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए। 20 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे। 21 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’ 22 र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूटो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूटो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फँसाऊ। तिमी सफल हुनेछौ।’”

23 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूटो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो सङ्कट आउँने छ।”

24 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसँग बोल्नलाई जानुभयो?”

25 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”

26 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्र अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ। 27 तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किन्जेल सम्म उनलाई त्यहीं राख।”

28 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले मद्वारा बोल्नु भएको होइन। उसले यो पनि भने, ‘मानिसहरू तिमीहरू सबैले सुन!’”

29 तब इस्राएलका र यहोशापात यहूदाका राजा रामोत गिलादमा गए। 30 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।

31 त्यहाँ अरामको राजासित 32 वटा रथ र सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो। 32 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले। 33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।

34 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहार भयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

35 डरलाग्दो लडाईँ भइरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो। 36 सूर्यअस्त भए पछि एउटा आवाजद्वारा इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।

37 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे। 38 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।

39 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए। 40 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।

यहूदाका राजा यहोशापात

41 आहाब इस्राएलका राजा भएको समयमा चौथो बर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए। 42 जब यहोशापात 35 बर्षका थिए ऊ राजा भएका थिए। उसले यरूशलेममा 25 बर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 43 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।

44 तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए। 45 यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे यहूदाका राजाको इतिहासको पुस्तकमा लेखिएको छन्।

46 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।

47 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपालद्वारा शासन गरिएको थियो।

48 राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो। 49 अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।

50 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

इस्राएलका राजा अहज्याह

51 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं बर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ बर्ष शासन गरे। 52 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे। 53 अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।

प्रेरित 13:16-41

16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! 17 इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। 18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। 19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। 20 यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो।

“त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। 21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। 22 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’

23 “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। 24 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ 25 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। 27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। 28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

29 “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! 31 यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।

32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। 33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं:

‘तिमीहरू मेरा पुत्र हौ।
    आज म तिमिहरूका पुर्खा भएँ।’(A)

34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,

‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’(B)

35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ,

‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’(C)

36 “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। 37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। 38-39 दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। 40 अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः

41 ‘जसले शंका गर्छौ, सुन्!
    तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर;
किनभने तिमीहरूको अवधिमा,
    म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ।
यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”(D)

भजनसंग्रह 138

दाऊदको भजन।

हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

हितोपदेश 17:17-18

17 असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

18 समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International