The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो। 19 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”
बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”
20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।
आइमाई एलीशालाई भेट्न जान्छे
21 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई। 22 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”
23 आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।”
उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीक-ठाक हुनेछ।”
24 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुन्जेल सम्म ढीलो नगर।”
25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।
परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा! 26 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?’”
गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”
27 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”
28 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।’”
29 तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”
30 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।”
यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।
31 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”
शुनैमेली आइमाईको छोरा फेरि जिउँदो हुन्छ
32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो। 33 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे। 34 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।
35 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।
36 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!”
गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”
37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।
एलीशा अनि विषालु सेरूवा
38 एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सेरूवा बनाऊ।”
39 एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द-मुल हो चिनेन्।
40 त्यसपछि तिनीहरूले केही सेरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सेरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।
41 तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सेरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।”
अनि सेरूवामा कुनै विष थिएन।
एलीशाले अगमवक्ताहरूको दललाई खुवाउँछन्
42 बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”
43 एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?”
तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।’”
44 तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।
नामानको समस्या
5 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
2 अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। 3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
4 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
5 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”
यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए। 6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
7 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”
8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ। 12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”
14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
16 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।”
नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे र भने, “यदि उपहार स्वीकार गर्नु हुन्न भने मेरो निम्ति यति काम गर्नुहोस्। 17 मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहोस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु। 18 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”
19 तब एलीशाले नामानलाई भने, “शान्तिसँग जाऊ।”
यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे। 20 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।” 21 यसकारण गेहजी नामानतिर दगुरे।
नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजीसँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीक-ठाक छ?”
22 गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीक-ठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।’”
23 नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए। 24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।
25 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?”
गेहजीले भने, “म कत्तै गएको थिइन।”
26 एलीशाले गेहजीलाई भने, “त्यो साँच्चो होइनँ! मेरो मुटु तँसँगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेंडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन। 27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सधैँका लागि कुष्ठ हुनेछ।”
जब गेहजीले एलीशालाई छोड्यो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।
यरूशलेममा सभा
15 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।” 2 पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहश गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।
3 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। 4 पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने। 5 यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”
6 तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले। 7 यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे। 8 परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ। 9 परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो। 10 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं! 11 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”
12 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए। 13 तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। 14 शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो। 15 अगमवक्ताहरूको वचनहरू यो सँग सहमत छः
16 ‘त्यसपछि म फर्की आउँने छु।
म दाऊदको घर फेरि बनाउने छु,
जुन ढलेको छ।
उसको घरको भागहरू फेरि बनाईदिने छु।
जुन ध्वंश भएको छ,
अनि म उसको घर नयाँ बनाउनेछु।
17 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-
यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्।
प्रभुले त्यसै भन्नु भयो।
अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’(A)
18 ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’
19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्। 20 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः
मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ।
कुनै व्यभिचार नगर्।
रगत नखाऊ।
निमोठेर मारिएका पशुहरू नखाऊ।
21 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”
गैर-यहूदी विश्वासीहरूलाई चिट्ठी
22 तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यू-भाइहरूले खुबै सम्मान गर्थे। 23 मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।
एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका
गैर-यहूदी दाज्यू-भाइहरूलाई तिमीहरूका दाज्यू-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः
प्रिय दाज्यू-भाइहरू,
24 हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं! 25 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्। 26 तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्। 27 त्यसैले हामीले उनीहरूसँग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्। 28 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः
29 मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ।
रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु,
कुनै प्रकारको यौन पापहरू नगर्नु।
यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ।
अब हामी बिदा माग्छौं।
30 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए। 31 विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए। 32 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे। 33 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यू-भाइहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के। 34 [a]
35 तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।
दाऊदको स्तुति-गान।
1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें।
मेरो प्रार्थना सुनि दिनुहोस्।
चाँडो आएर मलाई साथ दिनुहोस्।
2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्,
यो जलिरहेको धूपको उपहार जस्तो होस्
यो साँझको बेलाको बलिदान जस्तो होस्।
3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्।
म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।
4 मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,
दुष्ट मानिसहरूले अनुचित काम गर्छन्,
मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्।
मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस,
जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
5 यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि,
म त्यसलाई दया सम्झने थिएँ।
तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्।
तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो।
म ती कुराहरू स्वीकार गरौंला।
तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।
6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्
तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।
7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए।
यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।
8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें
म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।
मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन्
ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।
23 एकजना दुष्ट मानिसले न्याय बिगार्नको लागि गोप्य तरिकाले घूस दिन्छ।
© 2004, 2010 Bible League International