The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
एलीशा र बञ्चरो
6 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रो निम्ति ठाउँ साह्रै सानो भयो। 2 यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।”
एलीशाले उत्तर दिए, “राम्रो, जाऊ अनि त्यसै गर।”
3 एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।”
एलीशाले भने, “म आउनेछु।”
4 यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले। 5 तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”
6 परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?”
मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो। 7 एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो।
अराम इस्राएललाई फसाउने चेष्टा गर्छ
8 अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”
9 तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”
10 इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।
11 अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”
12 अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”
13 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।”
सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”
14 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे। 15 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।
एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”
16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”
17 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।”
परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।
18 ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसँग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।”
तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो। 19 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुशरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।
20 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।”
तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्। 21 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”
22 एलीशाले जवाफ दिए, “अँहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।”
23 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।
डरलाग्दो अनिकालले सामरियालाई कष्ट दिन्छ
24 यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए। 25 सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।
26 इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”
27 इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।” 28 इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?”
आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’ 29 यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं।’ तर उसले आफ्नो छोरा लुकाई।”
30 जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।
31 राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”
32 राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।”
33 जब एलीशा आफ्ना ठूला-बड़ा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
7 एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।’”
2 तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”
एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
कोरीहरू अरामी शिबिर खालि पाउँछन्
3 शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं? 4 सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”
5 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन। 6 परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”
7 अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।
कोरीहरू शत्रु शिबिरमा
8 जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए। 9 ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ-सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”
कोरीहरूले शुभ-समाचार भन्दछन्
10 यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”
11 तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए। 12 रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भोकै छौं। खेतमा लुक्नको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोच्दैछन्। ‘जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पस्ने छौं।’”
13 राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।”
14 यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निती गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”
15 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।
16 तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौं किन्न सक्ने थियो।
17 राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए। 18 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।” 19 तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।” 20 अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।
पावल र बर्णाबास छुट्टिए
36 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”
37 बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे। 38 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसँग एक साथ नलिन जोड गरे। 39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।
40 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए। 41 मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।
तिमोथी पावल र सिलाससँग गए
16 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। 2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। 3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। 5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो।
पावललाई एशियाबाट बोलाइयो
6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। 7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। 8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।
9 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस् अनि हामीलाई सहयोग गर्नुहोस्!” 10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
लिडियाको परिवर्तन
11 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं। 12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।
13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसँग बात गर्न लाग्यौं। 14 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँच्चो परमेश्वरको आराधना गर्थिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो। 15 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँच्चो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना।
1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
म परमप्रभुलाई पुकार्दछु।
2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
म त्याग्न तयार छु।
तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।
4 मैले वरिपरि हेरें,
अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ।
मेरो भाग्ने ठाउँ कतै छैन।
कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।
5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
मलाई तपाईंको अति खाँचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्,
तिनीहरू मभन्दा पनि बलिया छन्।
7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्,
ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ,
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
24 ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ।
25 मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।
© 2004, 2010 Bible League International