The Daily Audio Bible
Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.
ज्ञानले के गर्छ
28 “त्यहाँ सुन र चाँदीका खानीहरू छन्
र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
2 मानिसहरूले जमीन खनेर फलाम निकाल्छन
ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
3 कर्मीहरूले गुफामा प्रकाश लैजान्छन्।
तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्।
ऊ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
4 मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा,
अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा,
कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्।
तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
5 जमीन माथि अन्न उम्रन्छ।
तर जमीन मुनि भिन्नै छ,
मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
6 जमीन मुनि बहुमूल्य धातुहरू
अनि काँचो सुनको कणहरूछन।
7 जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मुनिको बाटोहरूको बारेमा जान्दैनन्।
बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
8 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिँडेका छैनन।
सिंहले पनि त्यो बाटो हिडेको छैन्।
9 कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्।
तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन्।
10 कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्।
तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
11 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन्।
तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
12 “तर मानिसहरूले ज्ञान कहाँ पाउनँ सक्छन्?
बुद्धि पाउन हामी कहाँ जान सक्छौं?
13 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो।
पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
14 गहिरो महासागरले भन्छ, ‘ज्ञान यहाँ मसित छैन।’
समुद्रले भन्छ ‘ज्ञान यहाँ मसित छैन।’
15 तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ।
यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
16 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा
अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
17 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो।
सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिंन्दैन।
18 ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो।
ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
19 कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन।
तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।
20 “यसकारण ज्ञान कहाँबाट आउँदछ?
हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
21 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ।
आकाशमा उड्ने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
22 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन।
हामीले त्यसका विषयमा उड़न्ता कुराहरू मात्र सुनेका छौं।’
23 “केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ।
परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
24 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ
परमेश्वरले आकाश मुनि सबै थोक देख्नुहुन्छ।
25 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ।
र समुद्रको सीमाना बाँधि दिनुभयो।
26 पानी कहाँ बर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ।
अनि कहाँ चट्याङ्गहरू फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
27 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो।
ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।
28 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो।
खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।’”
अय्यूबले क्रमशः आफ्नो कुरा भन्दछन्
29 अय्यूबले क्रमशः आफ्नो कुराहरू भनिरहेछः
2 “केही महीना अघि वितेको जीवन म चाहन्छु।
त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
3 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें।
परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
4 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो।
ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
5 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो
अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
6 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो।
म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
7 “त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें
अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
8 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे।
आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
9 जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे
अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे।
हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे।
मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
12 किनभने जब गरीब मानिसले गुहार्थ्यो, म सहायता गर्थें।
अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे
दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
14 धार्मिकता मेरो लागि पोषाक थियो,
निष्पक्षता मेरो लुगा र फेटा थियो।
15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ,
तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोर्याउँथे।
म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ,
तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
16 म गरीबहरूको लागि पिता समान थिएँ।
यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए,
मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें
अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो,
त्यो फर्काउन लगाउथें।
18 “मेरै परिवार भित्र बुढो हुँदै म
धेरै लामो बाँचुला भनेर सधैँ सोच्दथें,
19 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हुँ,
स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै,
अनि शीतले भिजेका हाँगाहरू जस्तो हुँ।
20 प्रत्येक नयाँ दिन उज्जवल,
नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।
21 “बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे।
तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे।
बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे तिनीहरू अरू केही भन्ने थिएनन्।
मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले बर्षालाई पर्खिरहेछन्।
तिनीहरूले मेरो शब्दहरू बसन्तको बेलामा बर्षाको पानी पिए झौं पिउँथे।
24 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्।
मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
25 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें।
दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
30 “तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।
अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि,
म तिनीहरूलाई कुकुरहरूसँग मेरो भेंडाको रक्षा गर्नलाई राख्थें।
2 ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि,
तिनीहरूले मलाई सघाउन सक्थेनन्।
तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कमजोर भइसकेका थिए।
3 तिनीहरू मृत मानिसहरू जस्ता थिए,
तिनीहरू खान नपाएर भोकै थिए।
यसैले तिनीहरू मरुभूमिको सूख्खा धुलोहरू खान्थें।
4 तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्दथिए,
तिनीहरूले काँसका जराहरू खान्थे।
5 तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।
मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
6 तिनीहरू सूख्खा नदीका किनारहरूमा,
पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
7 झाडीहरूमा तिनीहरू चिच्याउँछन्,
अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
8 तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन्,
जो आफ्नो देशबाट जबरजस्ती निकालिए।
9 “अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।
मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन।
तिनीहरू सोच्छन् कि तिनीहरू म भन्दा राम्रा छन्।
तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
11 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।
ती मानिसहरूले आफैं थामिदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्।
म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु
तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
13 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन।
तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए।
तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
14 तिनीहरूले भित्तामा प्वाल बनाउँछन् तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन
अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।
मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।
16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।
पीडित दिनहरूले मलाई पक्रेकोछ।
17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।
मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ
अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
र म धूलो र खरानी जस्तै भएकोछु।
20 “हे परमेश्वर,
सहायताको लागि मैले पुकारें,
म उठें र प्रार्थना गरें,
तर तपाईंले मलाई ध्यान दिनु भएन।
21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।
मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
24 “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ।
तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।
जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27 म भित्र कष्ट कहिल्यै रोकिँदैन
अनि दुःख भर्खरै शुरू भएको छ।
28 म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन।
म सहायताको लागि सभामा उभिन्छु।
29 म जङ्गली कुकुर जस्तै
र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु।
30 मेरो छाला जलेकोछ र उप्किँदैछ।
ज्वरोले मेरो शरीर तातो छ।
31 मेरो वीणाले करूणाको लय निकाल्छ
मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
परमेश्वरले हामीहरूलाई समस्याहरूमा बिजय दिनुहुन्छ
12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। 13 तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें।
14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ। 15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं। 16 मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ? 17 हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।
दोस्रो भाग
(भजनसंग्रह 42–72)
प्रमुख संगीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँको भजन।
1 हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।
त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
2 मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ।
म उहाँलाई भेट्न कहिले जान सक्छु?
3 मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ।
ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ।
आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।
4 जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु
मेरो हृदय चर्किएर आउँछ।
तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु।
ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।
5-6 म यति उदास किन हुनु पर्ने?
म किन यति साह्रो विचलित हुने!
म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु।
फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु।
उहाँले मलाई बचाउनु हुन्छ!
किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ,
यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
7 पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै
खोला बगेको आवाज म सुन्छु।
हे परमप्रभु, तपाईंका छालहरूले,
मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।
8 प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ
अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
9 म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु,
“हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो?
शत्रुको क्रूरताको कारणले गर्दा?
त्यस्तो उदासीनता मैले किन खप्नु?”
10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछन्,
अनि मलाई सोध्दछन्, “तेरो परमेश्वर कहाँ छन्?
के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”
11 मैले यति उदास किन हुन पर्छ?
किन मैले यति विरक्तिनु पर्छ?
मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ।
म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु।
उहाँले मेरो रक्षा गर्नु हुनेछ!
7 धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
© 2004, 2010 Bible League International