The Daily Audio Bible
Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.
वृक्षको विषयमा नबूकदनेस्सरको सपना
4 सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेले यो पत्र पठाए।
अभिवादन्:
2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु।
3 उहाँका चिन्हहरू महान छन्।
उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्।
उहाँको राज्य सदा-सर्वदा रहिरहने छ।
राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।
4 म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ। 5 मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो। 6 यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें। 7 जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्। 8 तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ। 9 मैले भनें, “बेलतसजर (दानियल) तिमी सबै ज्ञानी मानिसहरू मध्ये सर्व-श्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें। 10 म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिब्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें। 11 यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो। 12 यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।
13 “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें। 14 उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट! त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चारैतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस्। 15 तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र खर्कमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्। 16 त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तैं बितोस्।’
17 “एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति नम्र मानिसलाई छान्नु हुन्छ।
18 “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानी मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”
19 त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”
यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खास यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्। 20-21 जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।
22 “हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।
23 “अब तपाईंले एकजना पवित्र स्वर्गबाट स्वर्गदूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूइँमानै छोडिदेऊ जुन तिमीले भूइँमा छोडेको थियौ त्यसलाई फलाम र काँसाको साङ्गलोले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्नेछ।’
24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ। 25 राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाढा पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात बर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।
26 “जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ। 27 यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”
28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो। 29 बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए। 30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ। 32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात बर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”
33 फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाँख जस्तो भयो अनि उनको नङ्ग्राहरू चीलका नङ्गा जस्तै लामा लामा भए।
34 तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।
परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ!
उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।
35 यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन्
परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ
स्वर्गको शक्ति भन्दा ठूलो कोही पनि छैन।
उहाँले भन्नुहुन्छ, “स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन।
उहाँको सशक्त हातले जे गर्छ,
यसमाथि कुनै प्रश्न नै उठ्दैन्।”
36 त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ। 37 त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सधैँ न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहंकारीहरूलाई नम्रता प्रदान गर्ने क्षमता छ।
1 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।
तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।
हामीलाई चाहिएका हरेक चीज परमेश्वरले प्रदान गर्नु भएको छ
3 येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। 4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।
5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। 6 अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।
7 अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। 8 यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। 9 तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।
10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। 11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु। 13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।
14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ। 15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।
हामीले ख्रीष्टको महिमा देख्यौं
16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” 18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी[a] कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।
मेम्
97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
नुन्
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
अनि तपाईंका नियमहरू सिकाउनु होस्।
109 मेरो प्राण अनवरत विपदमा परेको छ
तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
111 हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु।
यसले मलाई खुशी पार्दछ।
112 म मेरो जीवनको अन्त सम्म नै,
सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
17 मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।
© 2004, 2010 Bible League International