Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 16:21 - 2 राजा 4:37

ओम्री इस्राएलका राजा

21 इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुशरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुशरण गरे। 22 तर ओम्रीका अनुशरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुशरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए।

23 आसा यहूदाको राजा भएको समयको एकतीसौं बर्षमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 बर्ष शासन गरे। 12 बर्षहरू मध्ये छः बर्ष उनले तिर्सा शहरमा शासन गरे। 24 तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।

25 ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए। 26 उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।

27 ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 28 ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए।

इस्राएलका राजा आहाब

29 आसा यहूदाका राजा भएको समयमा अठतीसौं बर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 बर्ष इस्राएलमा शासन गरे। 30 आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए। 31 आहाबका लागि त्यही पापको काम गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे। 32 आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए। 33 आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।

34 आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी नूनको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

एलिया र खडेरीको समय

17 एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।

पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”

10 यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” 11 जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”

12 स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

13 एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। 14 परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’”

15 यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। 16 पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

17 केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्नै छोड्‌यो। 18 तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”

19 एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे। 20 त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?” 21 तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”

22 परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो! 23 एलियाले बालकलाई बोकेर तल्लो तलामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”

24 स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”

एलिया र बालका अगमवक्ताहरू

18 खडेरी परेको तेस्रो बर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेट गर। म साँच्चै पानी पठाउने छु।” यस कारण एलिया आहाब सँग भेंट गर्न गए।

त्यस समयमा सामरियामा खाद्य थिएन। यसकारण राजा आहाबले ओबद्यालाई आफ्नो समक्ष बोलाए। ओबद्या राजाको महलको दायित्वमा थिए। (ओबद्या परमप्रभुको साँचो भक्त थिए।) एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए। राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौं। हुनुसक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौं। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।” प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एक्लै हिंडे। ओबद्या अर्को दिशातिर एक्लै हिंडे। ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया! के तिमी साँच्चै मालिक हौ?”

एलियाले उत्तर दिए, “हो म नै हुँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”

तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ? 10 परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए। 11 अहिले तपाईं चहानुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ। 12 यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुशरण गरें। 13 तिमीले थाह पायौ मैले के गरें! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ। 14 अहिले तपाईं चाहानुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन्!”

15 एलियाले उत्तर दिए, “परमप्रभु सर्व-शक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”

16 यसकारण ओबद्या राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।

17 जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा सङ्कट सृष्टि गरेको छ?”

18 तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा सङ्कट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो सङ्कट सृष्टि गरेको हुन्। तपाईंले सङ्कट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुशरण गर्नुभयो। 19 अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन गर्छिन्।”

20 यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए। 21 एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुशरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुशरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुशरण गर!”

मानिसहरूले केही बोलेनन्। 22 एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हुँ! यहाँ म एक्लै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्। 23 यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन। 24 बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।”

सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।

25 तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”

26 यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!” तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

27 दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्! अथवा हुन सक्छ उनी भ्रमण गर्दैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!” 28 अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन। 29 मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

30 तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे। 31 एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउँ दिनुभयोको थियो। 32 एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोग गरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौंडा र गहिरो थियो। 33 तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे। 34 तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।” 35 पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।

36 यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो। 37 मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”

38 यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो। 39 सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”

40 तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्र। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

पानी फेरि पर्छ

41 तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।” 42 यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे। 43 तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।”

सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो। 44 सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।”

एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”

45 केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे। 46 परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।

सीनै पर्वतमाथि एलिया

19 राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए। यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”

जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोडे। त्यसपछि एलिया दिनभरि नै मरुभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।”

तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!” एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!

त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।” यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुन्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए। त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलियासँग बोल्नु भयो।

परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?”

10 एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैँ मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”

11 तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूईंचालो शुरू भयो तर त्यो भूईंचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। 12 भूईंचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।

13 जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”

14 एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैँ तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।”

15 परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरुभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर। 16 तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्। 17 हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्। 18 म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्बन गरेको छैनन्।”

एलीशा एक अगमवक्ता बनिन्छन्

19 यसकारण एलियाले त्यो ठाउँ छोडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए। 20 तत्कालै एलीशाले गोरूहरू छोडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुशरण गर्नेछु।”

एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिनँ।”[a]

21 तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोग दाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुशरण गर्न थाले। एलीशा एलियाका सहायका बने।

बेन-हदद र आहाब लडाईंमा जान्छन्

20 बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्रमण गरे अनि त्यसको विरोधमा लडाईं गरे। राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए। संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।’”

इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”

तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै सुन, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ। भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।’”

यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद सङ्कट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”

तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”

यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।”

राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए। 10 तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”

11 राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”

12 राजा बेन-हदद अरू शासकहरूसँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।

13 त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।’”

14 आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?”

अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।’”

तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?”

अगमवक्ताले उत्तर दिए, “तपाईंले।”

15 यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।

16 राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो। 17 तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए। 18 यसकारण बेन-हददले भने, “तिनीहरू लडाईँ गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्र।”

19 राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुशरण गरिरहेका थिए। 20 तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे। 21 राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।

22 तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउँदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”

बेन-हदद फेरि आक्रामण गर्छन्

23 राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू त पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरूसँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं। 24 तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्। 25 अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।

26 यसकारण बेन-हददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।

27 इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।

28 परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।’”

29 सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे। 30 बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके। 31 उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”

32 तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।’”

आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”

33 बेन-हददका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाइ हुन्।”

आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।

34 बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।”

आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।

एउटा अगमवक्ता आहाबको विरूद्धमा बोल्छन्

35 एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्। 36 यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।

37 पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!”

त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो। 38 यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले। 39 जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’ 40 तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।”

इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”

41 तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए। 42 तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैले भनेथें त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!’”

43 तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।

नाबोतको दाखबारी

21 राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो। उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”

नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”

यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।

आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”

आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”

तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे। पत्र यस्तो लेखिएको थियो।

“घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ। 10 केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।”

11 यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे। 12 अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे। 13 तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे। 14 तिनीहरूले ईजेबेललाई एउटा खबर पठाए। खबर थियोः “नाबोत ढुङ्गाले हानेर मारियो।”

15 जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।” 16 जब आहाबले भनेको नाबोत मर्यो। सुन्यो ऊ नाबोतको दाखबरीम गयो जुन दाखबारी यिज्रेलीबाट पाएको थियो अनि त्यसको मालिक बनियो।

17 त्यस समयमा परमप्रभुले एलियासँग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।) 18 “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ। 19 आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।’”

20 यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ।”

एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो। 21 यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू। 22 म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।’ 23 अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।’ 24 अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, ‘तिम्रा परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चुरूङ्गीले उसको लाश खानेछ।’”

25 तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्। 26 आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मोरीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।

27 जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्नता प्रगट गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपबास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन्न अनि उदास थिए।

28 परमप्रभुले अगमवक्ता जो तिस्बीबाट आएका थिए एलियालाई भन्नुभयो, 29 “के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुन्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।”

मीकाया आहाबलाई चेताउनी दिन्छन्

22 दुइ बर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो। तब, तेस्रो बर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।” यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोतामा युद्ध गर्ने छौं?”

यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्। तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।”

यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लड्नु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?”

अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।”

तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।”

इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”

यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”

यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्‌कालै खोज्नु भनी अह्राए।

10 त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए। 11 अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।’” 12 सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाईँमा विजयी होऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।”

13 यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”

14 तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”

15 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?”

मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।”

16 तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँच्चो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भन्नुहुन्छ!”

17 यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेंडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।’”

18 तब इस्राएलका राजाले यहोशापातलाई भने, “सुन्नुहोस्, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।”

19 तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए। 20 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे। 21 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’ 22 र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूटो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूटो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फँसाऊ। तिमी सफल हुनेछौ।’”

23 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूटो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो सङ्कट आउँने छ।”

24 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिर्काए अनि भने, “साँच्चै विश्वास गर्छौ परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसँग बोल्नलाई जानुभयो?”

25 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”

26 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्र अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ। 27 तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किन्जेल सम्म उनलाई त्यहीं राख।”

28 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले मद्वारा बोल्नु भएको होइन। उसले यो पनि भने, ‘मानिसहरू तिमीहरू सबैले सुन!’”

29 तब इस्राएलका र यहोशापात यहूदाका राजा रामोत गिलादमा गए। 30 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।

31 त्यहाँ अरामको राजासित 32 वटा रथ र सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो। 32 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले। 33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।

34 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहार भयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

35 डरलाग्दो लडाईँ भइरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो। 36 सूर्यअस्त भए पछि एउटा आवाजद्वारा इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।

37 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे। 38 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।

39 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए। 40 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।

यहूदाका राजा यहोशापात

41 आहाब इस्राएलका राजा भएको समयमा चौथो बर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए। 42 जब यहोशापात 35 बर्षका थिए ऊ राजा भएका थिए। उसले यरूशलेममा 25 बर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 43 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।

44 तर यहोशापातले अग्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए। 45 यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे यहूदाका राजाको इतिहासको पुस्तकमा लेखिएको छन्।

46 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।

47 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपालद्वारा शासन गरिएको थियो।

48 राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो। 49 अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।

50 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

इस्राएलका राजा अहज्याह

51 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं बर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ बर्ष शासन गरे। 52 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे। 53 अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।

अहज्याहका लागि संन्देश

आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।

एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहाँ जाऊ। उनीहरूलाई सोध के म आफ्नो चोटबाट निको हुनसक्छु।”

तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही दूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ? तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ, अहज्याह! तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ, तिमी मर्ने छौ।’” त्यसपछि एलिया हिँडे।

दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”

दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूब समक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ, तिमी मर्ने छौ।’”

अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”

दूतहरूले जवाफ दियो, “त्यो मानिस रौंयुक्त लुगा लगाएको थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।”

तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”

अहज्याहले पठाएका मानिसहरूलाई आगोले नष्ट पार्छ

अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।’”

10 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!”

तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।

11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!’”

12 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।”

तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।

13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रो कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु। 14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”

15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।”

यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।

16 एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ: ‘यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।’”

योराम अहज्याहको ठाउँ ओगटछन्

17 परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो बर्षमा शासन गर्न शुरू गरे।

18 अहज्याहले अरू जे कामहरू गरे ती सबै नै इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

परमप्रभुबाट एलियालाई बोलाउने योजना

जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।

एलियाले एलीशालाई भने, “कृपया यहीँ पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”

तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।

बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”

एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।”

एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”

एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”

एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।”

एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”

एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुशरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए। एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।

जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?”

एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”[b]

10 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”

परमेश्वरले एलियालाई स्वर्गमा लानुहुन्छ

11 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।

12 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”

एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते। 13 एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए। 14 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

अगमवक्ताहरूले एलियाको विषयमा सोध्छन्

15 जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए। 16 तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”

तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”

17 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारून्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।”

अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्। 18 यसकारण मानिसहरू यरिहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलियालाई तिनीहरूले खोज्न नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिएँ।”

एलीशाले पानीलाई शुद्ध पार्छन्

19 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाई यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुनेछ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उमार्दैन।”

20 एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।”

मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए। 21 तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।’”

22 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।

केही केटाहरू एलीशाको हाँसो उडाउँछन्

23 एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालु खुईले मान्छे! माथि चढ तँ तालु खुईले मान्छे!”

24 एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

25 एलीशाले बेतेल छोडे अनि कर्मेल पहाडतिर हिंडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।

योराम इस्राएलका राजा हुन्छन्

आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहूदाको राजा हुँदा अठाह्रौं बर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र बर्ष शासन गरे। योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए। तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।

मोआब इस्राएलबाट छुट्टिन्छ

मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए। तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।

तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे। योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”

यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

तीनजना राजाहरू एलीशासँग सल्लाह माग्छन्

यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”

योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।”

यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। 10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”

11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”

इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”[c]

12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”

यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।

13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”

इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”

14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ। 15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”

जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो। 16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन। 17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्। 18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ। 19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”

20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो।

21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाईँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाईँका लागि सीमानामा पर्खिने काम गरे। 22 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो। 23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाईँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”

24 मोआबी मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए। 25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसँग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।

26 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्। 27 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।

एक जना अगमवक्ताकी विधवा एलीशासित मद्दत माग्छिन्

अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”

आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ। त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी। उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”

तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

शुनैममा एक जना आइमाईले एलीशालाई एउटा कोठा दिन्छे

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्। 10 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”

11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे। 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।”

सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो। 13 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’”

आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”

14 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?”

गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”

15 तब एलीशाले भने, “उनलाई बोलाऊ।”

यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई। 16 एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”

आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

शुनैममा आइमाईको छोरा हुन्छ

17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो। 19 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”

बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”

20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।

आइमाई एलीशालाई भेट्न जान्छे

21 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई। 22 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”

23 आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।”

उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीक-ठाक हुनेछ।”

24 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुन्जेल सम्म ढीलो नगर।”

25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई।

परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा! 26 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?’”

गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”

27 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”

28 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।’”

29 तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”

30 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।”

यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।

31 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

शुनैमेली आइमाईको छोरा फेरि जिउँदो हुन्छ

32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो। 33 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे। 34 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।

35 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।

36 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!”

गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”

37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International