Bible in 90 Days
इस्राएल घर फर्किनेछ
14 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्। 2 ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे। 3 परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।
बाबेलका राजा बारे एक गीत
4 त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः
राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो।
तर अब उसको शासन समाप्त भयो।
5 परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ।
परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।
6 बाबेलका राजा रिसाउँदा
मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो।
ती दुष्ट शासकहरूले,
मानिसहरूलाई लगातर कष्ट दिइरहे।
7 तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्।
अहिले जनताहरूले उत्सव मनाउन थाले।
8 तिमी एकजना पापी राजा हौ,
र अहिले तिमी समाप्त भएकाछौ।
सल्लाका रूखहरूसमेत आनन्दित छन्।
लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्।
ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले।
तर अहिले राजा आफै ढलेका छन्
फेरि कहिल्यै उठ्नु हुने छैन्।”
9 पातल उत्तेजित छ,
किनभने तिमीहरू आइरहेका छौ।
तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ।
पातलले राजाहरूलाई,
तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ,
पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।
10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्।
तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ।
अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
11 तिम्रो रवाफ पातालमा पठाइएकोछ।
वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ।
औंसाहरूले[a] तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ।
कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।
12 तिमी बिहानको तारा जस्तो थियौ,
तर तिमी आकाशबाट खस्यौ।
पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो।
तर अहिले तिमी काटिएर ढल्यौ।
13 तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ,
“म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु,
म आकाशमाथि जानेछु।
म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु।
म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु,
म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
14 म बादलहरूको बेदी सम्म जानेछु,
म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”
15 तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ,
तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा।
16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले।
तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने,
“के यो त्यही मानिसहरू हुन,
जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो,
र घना जङ्गलमा परिणत गरिदियो?
के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई
आफ्ना घर फर्कन दिएनन्?
18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे।
प्रत्येक राजाको आफ्नै चिहान छ।
19 तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो।
तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ।
तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ
जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिँड्छन्।
अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ।
तिमी कात्रोमा बेरिएका छौ।
20 तर अरू तिमी धेरै राजाहरू मरेका छन्,
अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन्।
ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ,
किनभने तिमीले आफ्नै देश नष्ट पार्यौ।
तिम्रा सन्तानले तिमीहरूले झैं नष्ट गरिरहने छैनन्,
तिम्रा सन्तानहरूलाई रोकिनेछ।
21 उनका सन्तानहरूलाई मार्न तयार हौ,
तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए।
तिनका नानीहरू फेरि आफ्नो देशलाई हेरचाह गर्ने योग्य छैनन्।
अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।
22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाईं गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल नष्ट पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।
23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिवर्तन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछु।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।
परमेश्वरले अश्शूरलाई पनि दण्ड दिनुहुनेछ
24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ। 25 म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ। 26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”
27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।
पलिश्तीहरूलाई परमेश्वरको सन्देश
28 आहाज राजा मरेकै बर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।
29 हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू धेरै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्। 30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।
31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रोऊ!
शहरका मानिसहरू विलाप गर।
पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्।
तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ।
उत्तरतिर हेर,
त्यहाँ बादलको रूपमा धूलो छ।
अश्शूरबाट सेनाहरू आउँदैछन्।
त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ,
ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन,
“पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो,
अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।”
मोआबलाई परमेश्वरको सन्देश
15 यो मोआब बारे एक दुःखको समाचार होः
एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे।
एउटै रातमा, शहरलाई ध्वंश पारियो।
एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे।
एउटै रातमा शहरलाई ध्वंश पारियो।
2 राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए।
नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए।
मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
3 मोआबका चारैतिर घरको दलानहरूमाथि
र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर,
रूँदै कराउँदै हिँडे।
4 हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन
तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो।
यति सम्म कि सिपाहीहरू तर्सिए।
सिपाहीहरू डरले थरथर कामिरहेछन्।
5 मेरो हृदय मोआबको निम्ति रून्छ।
उसका मानिसहरू सुरक्षाका निम्ति भागे।
तिनीहरू सोअर तर्फ भागे।
तिनीहरू एग्लत शलीशियाह तर्फ भागे।
मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि,
रूदै चिच्याउँदै चढे।
होरोनैमा उक्लिँदा तिनीहरू चिच्याउँदै गए।
6 तर निम्रीम खोला मरुभूमि जस्तो सुक्खा छ।
घाँसहरू सुकिहाले,
सारा वनस्पति मरे,
र हरियो भन्ने केही थिएन।
7 यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए।
तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।
8 मोआबभरि रोएको सुन्न सकिन्छ।
अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
9 दीमोनको पानी रगतले भरिएकोछ
अनि म अझै दीमोनमा कष्ट ल्याउँछु।
मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे।
तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।
16 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरुभूमिमा हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।
2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्।
तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्।
तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
3 तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्!
के गर्नु पर्ने हो बताउनु होस्!
मध्यदिनहको घामबाट हामीलाई ओझेल पारे जस्तै,
हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस्।
हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं।
हामीलाई लुकाउनु होस्!
शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
4 ती मोअबबाट आएका मानिसहरूलाई
जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए।
यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ।
तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ,
लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ।
मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।
5 त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्।
उनी देशभक्त, मायालु र कृपालु हुनेछन्।
यी राजाले निष्पक्ष न्याय गर्नेछन्।
उनले ती कुराहरू मात्र गर्नेछन्
जुन राम्रो र सही हुन्।
6 हामीले सुनेका छौं कि
मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्।
ती मानिसहरू हिंस्रक र ठूला कुराहरू गर्नेवालाहरू छन्।
तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्।
मोआबका सारा मानिसहरू रूनेछन्, मानिसहरू उदास हुनेछन्।
विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्।
तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
8 हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले,
मानिसहरू उदास हुनेछन्।
विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्।
शत्रुका सैनिकहरू याजेर शहर र मररुभूमिभरी फैलिए,
अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।
9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा
म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ।
म हेशबोन र एलालेका मानिसहरूसँग रूनेछ
किनभने त्यहाँ फसलहरू हुनेछैन्।
त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्।
अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा,
खुशीको गीतहरू गाइने छैन्।
बाली भित्राउने समयमा मोज-मज्जा समाप्त पार्नेछु।
अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्।
तर ती सबै चीजहरू खेर जानेछन्।
11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु।
कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु।
म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।
12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन्
तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्।
तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन्
अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”
13 परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो। 14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन बर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”
अरामलाई परमेश्वरको सन्देश
17 दमीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दमीशकमा घट्नेछ भनेर भन्नु हुन्छः
“दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ।
दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।
2 मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्।
भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्,
त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
3 एप्रैम शहरहरूको किल्ला नष्ट हुने छ, दमीशकको शासन अन्त हुनेछ।
जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घट्ना अराममा हुनेछ।
अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”
सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।
4 “त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ।
याकूब बीमार मानिस जस्तो हुनेछ अनि ऊ कमजोर र दुब्लो हुनेछ।
5 “त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।
6 “त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ।” सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।
7 त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ। 8 मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए। 9 त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ। 10 यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई, जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ।
तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्। 11 तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्यौ अर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।
12 धेरै-धेरै मानिसहरू सुन!
तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्,
ती हल्लाहरूलाई सुन,
ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
13 अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्,
परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ,
अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू,
बतासले खेद्दै उडाई लैजाने भुस जस्ता हुने छन्।
मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन,
हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
14 त्यो रात मानिसहरू भयभीत हुनेछन्।
बिहान हुन अघि केही छोडिएको हुने छैन।
यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन्
अनि त्यहाँ केही हुनेछैन।
कूश देशलाई परमेश्वरको सन्देश
18 कूश देशसँग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन्; तिनीहरूले चलाएको पखेंटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ। 2 त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोले[b] बनिएका डुङ्गाहरूमा पठाइन्छ।
हे फूर्तिला समाचार-वाहकहरू!
ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्!
सबै ठाउँका मानिसहरू ती अल्गा,
अनि बलिया मानिसहरूदेखि डराउँछन्।
तिनीहरू बलियो जाति हुन्।
तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्।
नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।
3 संसारका सारा मानिसहरूले तिनीहरूमाथि घट्ने घट्ना हेर्नेछन्।
पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घट्ना देख्नेछन्।
ती अग्ला मानिसहरूमाथि त्यस्तो घट्ना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्।
युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।
4 परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु। 5 सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै बर्षा हुनेछैन्, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढ्ने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुटाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडँनेछन् अनि फ्याँक्नेछन्। 6 ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।”
7 त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।
मिश्र देशलाई परमेश्वरको सन्देश
19 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा़ गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाईँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाईँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्। 3 मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।” 4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।”
5 नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ। 6 सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ। 7 सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।
8 जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ। 9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दु:खी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्। 10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दु:खी हुनेछन्।
11 सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका “सल्लाहकारहरूले” भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्। 12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्?
13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे। 14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भड्के र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्। 15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। (ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”)
16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्। 17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू तर्सिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घट्ना घटोस, भनेर योजना गर्नु भएको हो। 18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”[c] हुनेछ।
मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुशरण गर्ने प्रतिज्ञा गर्नेछन्। 19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ। 20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।
21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। 22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
23 त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। 24 त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ। 25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
अश्शूरले मिश्र र कूशलाई पराजित गर्नेछ
20 सर्गोन अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे। 2 त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
3 तब परमप्रभले भन्नुभयो, “यशैया तीन बर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिँड। यो मिश्र र कूशदेशको चिह्न हो। 4 अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्। 5 मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”
6 समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौं, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”
बाबेललाई परमेश्वरको सन्देश
21 “मरुभूमिको समुद्रको” बारेमा दु:खको सन्देश मरुभूमिबाट केही आइरहेछ,
यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ,
यो भयानक देशबाट आइरहेछ।
2 मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ।
मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु।
तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु।
एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर,
मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर
म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।
3 मैले त्यस्ता भयानक कुराहरू देखें,
अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दु:ख्छ।
त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ।
जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो।
जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
4 मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो
किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।
5 मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ।
मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।
सैनिकहरू पनि भन्दैछन्,
“रक्षकहरू पठाऊ।
अधिकारीहरू उठ!
अनि आफ्नो ढाल चम्काऊ।”
6 मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नै पर्छ। 7 यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊँटहरूको लहर देख्यो भने, उसले एकदमै होशीयारी साथ कान थाप्नु पर्दछ।”
8 तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ,
“मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु।
म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु।
9 हेर! तिनीहरू आइरहे छन्!
मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”
तब एउटा सन्देशवाहकले भन्यो,
“बाबेल पराजित भयो।
बाबेलको पतन भयो।
उसका सारा झूटा देवताका मूर्तिहरू
भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
10 “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”
दूमालाई परमेश्वरको सन्देश
11 दूमाबारे एक दु:खको सन्देश:
कसैले मलाई एदोम देखि डाक्यो,
“हे प्रहरी, रात अझ कति बाँकी छ?
कहिले सम्म बस्नु पर्ने हो!”
12 प्रहरीले जवाफ दिन्छ,
“बिहान हुँदैछ तर फेरि रात आउने नै हो।
यदि तिमीलाई केही सोध्नु छ भने
फर्केर आऊ र सोध।”
अरबयालाई परमेश्वरको सन्देश
13 अरब बारे एउटा शोक सन्देश:
ददानका मरुभूमिका यात्री समूहले!
अरब मरुभूमिको रूखहरूमाझ रात बिताए।
14 तेमाका मानिसहरू तिमीहरूले
तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।
15 ती मानिसहरू जो मारिनलाई तयार थिए
तरवारबाट भागि रहेका थिए।
तिनीहरू धनुबाट भागि रहेका थिए।
जो छोडिनलाई तयार थिए,
तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।
16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक बर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ। 17 त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।
यरूशलेमलाई परमेश्वरको सन्देश
22 दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश:
हे यरूशलेम तिमीलाई के भयो?
किन तिनीहरू माथिको तलामा लुकिरहेछौ?
2 विगतमा, यो शहर अत्यन्त खुशी थियो।
यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो।
तर, अहिले स्थिति परिवर्तन भयो।
तिमीहरूका मानिसहरू मारिए
तर तरवारहरूले होइन्।
मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।
तर तिनीहरू सबै नै पक्राउ परे।
अनि तिनीहरूसित धनुष थिएनन्।
सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे।
4 यसकारण म भन्छु, “मलाई नहेर!
मलाई चिच्याउन देऊ!
यरूशलेम नष्ट भई सकेपछि
मलाई सान्त्वना दिन अघि नबढ।”
5 परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। 6 एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। 7 सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। 8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।
9-11 दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।
तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। 12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
13 तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,
“गाईहरू अनि भेंडा़हरू मार,
आऊ अनि खुशी मनाउँ,
खाऊ अनि पिऊ,
किनभने भोलि हामी मर्नेछौं।”
14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।
शेब्नालाई परमेश्वरको सन्देश
15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। 16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
17-18 “हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”
परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। 19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ। 20 त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो। 21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।
22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। 23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। 24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।
25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।
सोरलाई परमेश्वरको सन्देश
23 सोरको विषयमा शोक सन्देश:
जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो:
“हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ!
तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ।”
2 हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ।
त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो
र ती मानिसहरू धनी भए।
3 ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे।
ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन्,
जुन नील नदी छेउमा उब्जन्थ्यो,
र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।
4 सीदोन, तिमी अत्यन्त दु:खीत हुनुपर्नेछ।
किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,
“मेरा नानीहरू छैनन्।
मसित प्रसव पीडाको अनुभव छैन।
मैले नानीहरूलाई जन्म दिएको छैन।
मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।”
5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ।
यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ।
6 हे जहाजहरू! तर्शीशमा फर्क।
हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।
7 अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ।
त्यो शहर शुरूदेखि नै बढिरहेकोछ।
त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।
8 सोर शहरले धैरे अगुवाहरू जन्मायो।
त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्।
मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो।
यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?
9 उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ।
उहाँले तिनीहरूलाई
महत्व नदिने निर्णय गर्नु भयो।
10 हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ।
सानो नदी सम्झेर समुद्र पार गर,
अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
11 परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो
अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई
राज्यहरू भेला गर्नुभयो।
परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ नष्ट पार्नलाई आज्ञा गर्नुभयो।
12 परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ।
तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।
तर सोरका मानिसहरू भन्दछन्, कित्तिमहरूले हामीलाई साथ दिनेछ!
तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।”
13 यसैले सोरका मानिसहरू भन्दछन्।
बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!
तर कल्दीहरूको देशलाई हेर! बाबेल देश अब देश रहेन।
अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे।
सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए।
अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो।
तिनीहरूले बाबेललाई एउटा खण्डहर (भग्नावशेष) मा परिणत गरे।
14 यसैले, दु:खी बन, तर्शीशबाट आएका जहाजहरू,
तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर नष्ट हुनेछ।
15 मानिसहरूले सत्तरी बर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी बर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।
16 “हे पुरूषहरूले छोडेका नारीहरू!
आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिँड।
आफ्नो गीतका धुन उचित ढङ्गले बजाऊ। आफ्नो गीत गाऊ।
तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।”
17 सत्तरी बर्षपछि, परमप्रभुले सोरको विषयमा पुनर्विचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ। 18 तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।
परमेश्वरले इस्राएललाई दण्ड दिनु हुनेछ
24 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ। 2 त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिक्नीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैंकबाट ऋण लिनेहरू पनि समान हुनेछन्। 3 सारा मानिसहरूलाई त्यो ठाउँ छोड्नलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ। 4 यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।
5 यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे। 6 यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई नष्ट गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।
7 दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दु:खी छन्। 8 मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। 9 मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।
10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।
13 फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे
तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए।
त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
14 छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्।
तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ।
तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
15 ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर!
टाढा देशहरूमा बस्ने मानिसहरू,
परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्।
ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ।
तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु।
म जे देख्छु, ती भयंकर चीजहरू हुन्।
देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन्
अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”
17 यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु,
म तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।
18 मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्।
कतिपय मानिसहरू भाग्नेछन,
तर तिनीहरू खाडलहरूमा जाकिनेछन्।
पासोहरूमा अल्झिने छन्।
ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन,
तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।
स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन्
अनि बाढीहरू प्रारम्भ हुनेछ।
पृथ्वीको जगहरू हल्लन्छन्।
19 त्यहाँ भूकम्प आउँनेछ।
अनि पृथ्वी फाट्नेछ।
20 संसारमा पापहरू एकदम गह्रौं भईसक्यो।
यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ।
पृथ्वी पुरानो घर जस्तै थर्किनेछ।
मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ।
पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।
21 त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू,
र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
22 धेरै मानिसहरू एक साथ भेला गराईनेछन्।
ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्।
अनि केही कैद हुनेछन्।
तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ।
उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ।
उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि
त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ,
अनि घाम लज्जित हुनेछ।
परमेश्वरप्रति स्तुति-गान
25 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्।
त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
2 तपाईंले शहर नष्ट पार्नु भयो।
यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
विदेशी महल नष्ट भयो अब यो कहिल्यै फेरि बनिने छैन्।
3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए,
तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति,
तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।
पानी पर्खालको विरोधमा प्रचण्ड बढछ।
तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
5 शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्।
शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।
गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ।
त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ,
भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज
6 त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। 8 तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
9 त्यसबेला, मानिसहरूले भन्नेछन्,
“उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,
जसलाई हामीले पर्खिरहेका थियौं।
उहाँ हामीलाई बचाउन आउनु हुनेछ।
हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं।
यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ,
हामी आनन्दित र खुशी हुनेछौं।”
10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ।
अनि मोआब परास्त हुनेछ।
परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ।
यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ
जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ।
तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ।
अनि ती चीजहरू फालि दिनुहुनेछ।
12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू
अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ।
परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।
परमेश्वरप्रति स्तुति-गान
26 त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन:
परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ।
हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।
2 प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्।
ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
3 परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो
जो तपाईंमाथि आश्रित छन्
जसले तपाईंलाई विश्वास गर्दछन्।
4 यसकारण, सधैँ परमप्रभुमा भरोसा राख।
परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
5 तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ।
अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ।
परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ
यो धुलोमा खस्ने छ।
6 तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्।
7 असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो।
भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउँछन् जुन सीधा र साँच्चो हुन्छ
अनि तपाईंले बाटो सजिलो पार्नु भयो,
जसले गर्दा तिनीहरू आरामसित हिँड्न सकुन्।
8 तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं।
हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ।
अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ।
जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ,
मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
10 यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने
दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्।
उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्।
त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ,
तर तिनीहरू यसलाई देख्दैनन्।
तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्।
निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्।
निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ,
किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
परमेश्वरले आफ्ना प्रजाहरूलाई नयाँ जीवन दिनुभयो
13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ।
तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं।
हामी अन्य मालिकहरूका अधीनमा भयौं।
तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
14 ती मृत देवताहरू जीवत हुनेछैनन्।
ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्।
तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ।
जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो।
तपाईंले उसको साँध बढाउनु भयो।
हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन्
तिनीहरूले तपाईंलाई याद गर्दछन्।
जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ।
मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
17 हे परमप्रभु, जब हामी तपाईंसँग थिएनौं,
हामी प्रसुती वेदनामा रूने स्त्री जस्तै थियौं।
18 हामीलाई प्रचण्ड वेदना थियो।
तर हामीले हावा मात्र जन्मायौं।
हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं।
हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
19 तर परमप्रभु भन्नुहुन्छ,
“तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्,
तर तिनीहरू फेरि बाँच्नेछन्।
मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्।
मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्!
शीतले तपाईंलाई यस प्रकार छोप्नेछ
जसरी नयाँ विहानको शीतमा,
प्रकाशका चमक हुन्छ।
नयाँ समय आएको संकेत दिन्छ
जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”
न्याय, पुरस्कार अथवा दण्ड
20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ।
ढोकाहरू बन्द गर।
केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक।
परमेश्वरको क्रोध शान्त नभइन्जेल सम्म लुक।
21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई,
परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ।
पृथ्वीमा जो-जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ।
पृथ्वीले धेरै बेरसम्म मृत मानिसहरू छिपाउने छैन।
27 त्यस समयमा परमप्रभुले लिब्यातानको न्याए गर्नु हुनेछ।
लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ।
उहाँले आफ्नो शक्तिशाली तरवारद्वारा, सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।
2 त्यसबेला, मानिसहरूले,
आनन्दित दाखको बोटको गीत गाउनेछन्।
3 “म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु।
म ठीक समयमा त्यसमा पानी लगाउनेछु
म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु,
कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।
4 म रिसाएको होइन्।
तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि,
म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।
5 तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने
र मबाट शान्ति चाहन्छ भने,
तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।
6 त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ।
तब मिश्र बढ़न र फूल्न लागेको बोट जस्तै हुनेछ।
त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”
परमेश्वरले इस्राएललाई टाढा पठाउनु हुनेछ
7 परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?
8 परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरुभूमिनको तातो हावाले जस्तै पोल्नेछ।
9 याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।
10 त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरुभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्। 11 दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।
मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।
12 त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।
तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ। 13 मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।
उत्तरी इस्राएललाई चेतावनी
28 सामरियालाई हेर!
एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्।
त्यो शहर वरिपरि भन्ज्याङ भएको पहाडमा अवस्थित छ।
सामरियाका मानिसहरूले त्यो शहरलाई फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्।
तर तिनीहरू दाखरस पिएर मस्त छन्।
अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।
2 हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ।
त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ।
ऊ तूफान जस्तो भएर यो देशभित्र आउने छ।
ऊ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ।
उसले मुकुट भूईंमा फालि दिनेछ।
3 एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्।
तर शहर कुल्चिमिल्चि पारिनेछ।
4 त्यो शहर पहाडमा अवस्थित छ।
सुन्दर घाँटीहरूले यसलाई घेरेको छ।
अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलाउँदै गएको बोट जस्तै हो।
यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ।
जब एकजना मानिसले नेभार देख्छ,
उसले त्यसलाई टिप्छ अनि खान्छ।
5 त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ। 6 तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाईँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ। 7 अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्। 8 जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।
परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न चाहनु हुन्छ
9 “परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्। 10 परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ:
“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”[d]
11 परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।
12 अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, “यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।”
तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्। 13 यसर्थ परमेश्वरद्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ:
“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”
तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।
कोही पनि परमेश्वरको न्यायबाट बाँच्ने छैन
14 तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ। 15 तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
16 ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म सियोनको भूमिमा एउटा मूलढुङ्गा राखिदिनेछु। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ ऊ निराश हुनेछैन।
17 “मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाँहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।
“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो नष्ट गर्न आइरहेछ। 18 मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।
“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ। 19 त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।
“त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ 20 एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”
21 परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौंठो कार्यहरू हुन्। 22 अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।
मैले सुनेका शब्दहरू बद्लिने छैनन्। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।
परमप्रभुले निष्पक्ष रूपमा दण्ड दिनुहुन्छ
23 मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्। 24 के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन! 25 किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौं रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।
26 हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ। 27 के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अँहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।
28 जब एकजना स्त्रीले रोटी पकाउँछे, उसले पीठोको स-साना डल्लाहरू बनाउँछे अनि आफ्नो हातले थिच्दछे। अन्न लगातार दिइदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ। 29 यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।
© 2004, 2010 Bible League International