Bible in 90 Days
दानियलको प्रार्थना
9 राजा दाराको शासनकालको पहिलो बर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए। 2 दाराको राज्य कालको पहिले बर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुनःर्निर्माण कति बर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिलाको यरूशलेम फेरि बनाउन, सत्तरी बर्ष लाग्नेछ।
3 तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दु:खी छु। मैले आफ्नो टाउकोमा धूलो हालें। 4 मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें,
“हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।
5 “तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं। 6 तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।
7 “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!
8 “हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुन पर्छ। किनभने हामीले तपाईंको विरूद्ध पाप गरेका छौ, परमप्रभु!
9 “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं। 10 हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं। 11 तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।
12 “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ। 13 हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौं तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ। 14 यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।
15 “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं। 16 हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।
17 “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्। 18 मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं। 19 हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”
सत्तरी हप्ताको विषयमा दर्शन
20 यसरी म बोल्दै, प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरा जाति इस्राएलीको पापको पश्चाताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरो परमेश्वरको सामु मेरो अन्तर-बिन्ती टक्राइरहेको थिएँ। 21 जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, साँझको बलिदानको समयमा चाँडो गरी उड्दै मेरो छेउमा आए। 22 स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु। 23 जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियौ तब एउटा वचन आयो। म तिमीलाई त्यही दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर।
24 “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।
25 “त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनःप्राप्ति र पुनःर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनःप्राप्ति र पुनःर्निर्माण भइसकेको अवस्थामा रहनेछ। 26 त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान नष्ट गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण नाशगर्ने योजना बनाइनेछ।
27 “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”
टाइग्रिस नदी छेउमा दानियलको दर्शन
10 कोरेसको शासनकालको तेस्रो बर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँच्चो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो।
2 त्यस समय, म दानियल तीन हप्ता सम्म दु:खी भएँ। 3 मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लुगा लगाइन तीन हप्ता सम्म मैले केही पनि गरिनँ।
4 पहिलो बर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ। 5 मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए। 6 उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।
7 म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे। 8 अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ। 9 जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ।
10 तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ। 11 दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ। 12 त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु। 13 फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। 14 म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”
15 जब उनले मलाई त्यसो भने, म बोल्न सकिनँ अनि आफ्नो अनुहार भुईँतिर निहुँराएँ। 16 त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन। 17 महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।”
18 एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें। 19 त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।”
जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”
20 त्यसपछि उनले भने, “के तिमीलाई थाहा छ म तिमीकहाँ किन आएँ? म फारसको राजकुमारसँग युद्ध गर्न जान्छु। जब म छोडेर जान्छु, त्यस पछि यूनानको राजकुमार आउनेछ। 21 तर म तिमीलाई सत्यको पुस्तकमा लेखिएका कुराहरूको बारेमा भन्नेछु। यी राजकुमारहरूको विरूद्ध माइकल बाहेक मेरो पक्षमा कोही पनि छैन, जसले तिम्रो मानिसहरूमाथि शासन गर्छ।
11 “मादिका राजा दाराको शासनकालको पहिलो बर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ।
2 “अब म तिमीलाई साँच्चो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति प्रयोग गर्नेछन्। 3 यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ। 4 शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नातीहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।
5 “दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।
6 “फेरि केही बर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।
7 “तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ। 8 उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही बर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन। 9 फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ।
10 “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ। 11 त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ। 12 त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन। 13 त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा संख्यामा सैनिक भेला पार्नेछ। अनि केही बर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।
14 “त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्। 15 तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।
16 “शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्। 17 फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।
18 “यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।
19 “यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।
20 “उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।
21 “यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ। 22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्। 23 त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।
24 “जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।
25 “त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ। 26 तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्। 27 ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।
28 “ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।
29 “फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन। 30 पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुशरण गर्न रोके। 31 तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।
32 “तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन।
33 “ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए। 34 जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउँनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्। 35 के ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।
राजा जसले आफूलाई महिमा गर्छ
36 “फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
37 “आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैंलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्। 38 त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ।
39 “ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ।
40 “आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ। 41 फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्। 42 फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन। 43 उसले मिश्रको सुन, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोस्ने छ। लिब्नी अनि कूशी पनि यसको अधीनमा हुनेछन्। 44 तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढ्ने छ। 45 उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।
12 “त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दु:खहरू र सङ्कटहरू हुनेछन्। यस्तो सङ्कट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्। 2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्। 3 ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।
4 “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँच्चो ज्ञान बढ्नेछ।”
5 त्यसपछि, म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए। 6 एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, “यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?”
7 त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, “यो साँढे तीन बर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।”
8 मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।”
9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्। 10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याईँ गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।
11 “नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ। 12 त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्न पर्खिरहन्छ।
13 “अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”
होशेद्वारा परमप्रभु परमेश्वरको वचन
1 परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।
2 परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
यिज्रेलको जन्म
3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई। 4 परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु। 5 त्यस समय यिज्रेलको बेंसीमा म इस्राएलको धनु भाँचिदिनेछु।”
लो-रूहामको जन्म
6 तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किनभने म अब इस्राएल जातिप्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु। 7 बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै प्रयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।
लो-अम्मीको जन्म
8 गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई। 9 तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
परमप्रभु परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि त्यहाँ धेरै इस्राएलीहरू हुनेछन्
10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’
11 “तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”
2 “तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हौ।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।’”
2 “तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन। 3 यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरुभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु। 4 म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्। 5 तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू[a] कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’
6 “यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्। 7 तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असल थियो। अहिलेको जीवन भन्दा असल थियो।’
8 “त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले। 9 यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ। 10 अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन। 11 म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु। 12 दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन्।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।
13 “तिनले बालको देवताहरूको सेवा गर्छिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भुल्थिन। परमप्रभुले यसो भन्नुभयो।
14 “यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु। 15 त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेंसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।” 16 परमप्रभु भन्नुहुन्छ।
“त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ। 17 म तिनको मुखबाट बाल नाउँलाई खोस्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन्।
18 “त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिँड्ने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्। 19 अनि म (परमेश्वर) तिमीलाई सधैँको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु। 20 म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँच्चो अर्थमा परमप्रभुलाई जान्नेछौ। 21 अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ:
“म आकाशलाई भन्नेछु,
अनि उसले धर्तीलाई पानी दिनेछ।
22 पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ,
अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।
23 म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु।
अनि लो-रूहामालाई म दया देखाउने छु।
अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’
अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।’”
होशेले गोमेरलाई दासत्वबाट मुक्त गर्ने
3 त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”
2 यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्का चाँदी र नौ बुशल[b] जौं दिएर किनेर ल्याएँ। 3 तब मैले उसलाई भने, “तिमी मेरो घरमा धेरै दिन बस्नेछौ। तिमी वेश्या जस्तो हुनेछैनौ। तिमी अर्को लोग्ने मानिससित बस्नेछैनौ। अनि म तिम्रो पती हुनेछु।”
4 यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्। 5 त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
परमप्रभु इस्राएलको विरूद्धमा क्रोधित हुनुहुन्छ
4 हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँच्चो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्। 2 मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्। 3 देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्। 4 कसैले अरू मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ। 5 तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।
6 “मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु। 7 तिनीहरू अहंकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।
8 “पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्। 9 यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु। 10 तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
11 “व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ। 12 हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए। 13 तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाँयाँ हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।
14 “म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन्। किनभने मानिसहरू आफैं मन्दिरका देवदासीसँग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।
इस्राएलको लज्जापूर्ण पापहरू
15 “हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’ 16 इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला खर्कमा भेंडा़ झैं खुवाउनु पर्छ? होइन!
17 “एप्रैम मूर्तिहरूको साथी भएको छ। त्यसलाई एक्लै छोडिदेऊ। 18 एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्। 19 तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएकाछन्।[c] तिनीहरूको वलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।
अगुवाहरूले इस्राएल अनि यहूदालाई पाप गर्न लगाए
5 “हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।
“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ। 2 शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु। 3 म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ। 4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्। 5 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
6 “तिनीहरू आफ्ना ‘भेंडा़-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ। 7 तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।
इस्राएलीहरूको पतन हुने अगमवाणी
8 “गिबामा सींङ फुक।
अनि रामामा तुरही फुक।
बेतावनमा खतराको घन्टी बजाऊ।
हे बिन्यामीन, थरथर होऊ।
9 दण्डको दिनमा एप्रैम उजाड हुनेछ।
जे कुरो निश्चय हुनेवाला छ
त्यो इस्राएलका सारा कुलहरूलाई
मैले जनाएको छु।
10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन्,
जो आफ्नो सीमा रेखा बढाउँछन्।
म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।
11 एप्रैम कष्टमा परेको छ,
मेरो न्यायमा त्यो चूर्ण भएको छ,
किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा
अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।
13 जब एप्रैमले आफ्नो रोग देख्यो,
र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो,
त्यसले ठूलो राजाकहाँ मानिस पठायो।
तर त्यसले तिमीलाई निको पार्न सक्तैनँ।
न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।
14 किनभने म एप्रैमका निम्ति एउटा सिंह
अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु।
म आफैं तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु।
म तिनीहरूलाई उठाएर लानेछु।
अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।
15 जबसम्म तिनीहरूले आफ्ना अपराध,
स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्,
तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”
परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार
6 “आऊ, हामी परमप्रभुतिर फर्कौ
किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ,
र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ,
र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ।
2 दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ
अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ।
हामी उहाँकै अघि जिउँदो हुनेछौं।
3 आऊ, हामी परमप्रभुलाई चिनौं,
हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने,
आखिरी बर्षा झैं आउनु हुनेछ।”
मानिसहरू विश्वास योग्य छैनन्
4 “ए एप्रैम, म तिमीलाई के गरूँ?
ए यहूदा म तिमीलाई के गरूँ?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै,
र बिलिने शीत जस्तै छ।
5 यसैकारण मैले तिनीहरूमाथि
अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
6 किनभने म अमर प्रेम चाहन्छु
बलिदान होइनँ।
अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा,
परमेश्वरलाई बेशी जानेको म चाहन्छु।
7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे।
त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
8 गिलाद अधर्मीहरूको शहर हो।
त्यो रगतले भरिएको छ।
9 जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन्,
त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्।
तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्।
निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
10 इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु,
एप्रैमको वेश्यावृत्ति त्यहाँ छ।
इस्राएल अशुद्ध भएको छ।
11 ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ।
त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”
7 “जब म इस्राएललाई निको पार्छु,
तब एप्रैमको दुष्टता र सामरियाको कु-कर्म उदाङ्गो हुनेछन्,
किनभने तिनीहरूले दुर्रव्यवहार गरे।
चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
2 तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी,
तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्।
अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ।
ती कामहरू मेरै सामने छन्।
3 तिनीहरू आफ्ना दुष्ट कामले राजालाई
र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
4 तिनीहरू सबै व्यभिचारी हुन्।
तिनीहरू रोटी पकाउनेले,
तातो पारेका तावा जस्तै छन्।
त्यसले पीठो मुछेको समयदेखि
त्यो रोटी नपाकुन्जेल आगो
चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
5 हाम्रा राजाको उत्सवको दिनमा
अगुवाहरू ज्यादै पिएर मात्छन्।
अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।
6 ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ,
किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ।
रातभरि तिनीहरूका रिस दन्किरहन्छ,
बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।
7 तिनीहरू सबै चुलो झैं तातिन्छन्
र आफ्ना शासकहरूलाई भस्म पार्छन्।
तिनीहरूका सबै राजाहरू मारिए।
तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
इस्राएलले जान्दै यो नष्ट हुनेछ
8 “एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ।
एप्रैम एकापट्टि मात्र पाकेको रोटी जस्तै छ।
9 पराई मानिसहरूले त्यसको बललाई नाश पारे,
तर त्यसलाई यो याद छैन।
त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे,
तर त्यसलाई त्यो थाहा छैन।
10 इस्राएलको अहंकारले
आफ्नै विरूद्धमा साक्षी दिन्छ,
तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन
न त उहाँको खोजी गर्दछन्।
11 एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ।
मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्,
अश्शूरमा तिनीहरू जान्छन्।
12 जब तिनीहरू जान्छन्,
म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु,
म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु।
अरू राष्ट्रहरूसँग सन्धि गरेकोमा
म तिनीहरूलाई दण्ड दिनेछु।
13 तिनीहरूलाई धिक्कार!
किनभने तिनीहरू मबाट तर्किएर गए।
तिनीहरूमाथि विनाश आओस्।
किनभने तिनीहरू मेरो विरूद्धमा गए।
मैले तिनीहरूलाई बचाउँने थिएँ,
तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।
14 तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन,
तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्।
तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन्
तर तिनीहरू मदेखि टाढा भाग्छन्।
15 यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ,
र तिनीहरूका पाखुरा बलियो बनाएँ,
तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।
16 तिनीहरू देवताहरूपट्टि फर्कन्छन्,
जो वास्तविक देवताहरू होइनन्।
तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन्।
तिनीहरूका अगुवाहरू,
तिनका क्रोघ पूर्ण वचनले गर्दा तरवारले मारिनेछन्।
मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको कारण यही हो।
मूर्ति पूजाले नाश गराउँछ
8 “तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे। 2 तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’ 3 जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ। 4 तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिनँ। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई नष्ट गरिनेछ। 5-6 ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्? एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ। 7 तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।
8 “इस्राएल नष्ट भयो।
अब तिनीहरू जाति-जातिहरूका बीचमा
बेकामको भाँडा जस्तै भएका छन्।
9 वन-गधा आफैं एक्लै हिँडिरहे झैं
तिनीहरू अश्शूरमा गए।
एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।
10 अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे
तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु,
राजा र भारादारहरूलाई अभिषेक गर्न,
केही समयका निम्ति तिनीहरू रोकिन्छन्।
इस्राएलले परमेश्वरलाई भूले र मूर्तिहरूलाई पूजे
11 “एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो।
ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।
12 मैले त्यसका निम्ति मेरो व्यवस्थामा,
लाखौं विधिहरू लेखें तापनि
ती कुरा बीराना ठानिनेछन्।
13 मेरो भेटीको लागि तिनीहरूले
मासु चढाउँछन् र खान्छन्,
तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न।
अब उहाँले तिनीहरूलाई
तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ।
तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।
14 किनभने इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनायो,
औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो।
तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु
र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”
निर्वासितको निम्ति खिन्नता
9 हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ। किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमा[d] वेश्यावृत्ति गरेको छौ। 2 किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रर्याप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रर्याप्त छैन।
3 इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो। 4 इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसँग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्। 5 परमप्रभुको पवित्र महा-सभाको दिन अनि परमप्रभुको चाड मनाउँदा तिमी के गर्न जाँदैछौ?
6 इस्राएलीहरू पूर्ण रूपले नष्ट हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँढा उम्रनेछ।
इस्राएलले साँच्चो अगमवक्तालाई नकारे
7 अगमवक्ता भन्छन्, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन्, “तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।” 8 परमेश्वर र अगमवक्ताको प्रजामाथिबाट एप्रैमको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।
9 गिबाका दिनमा झैं तिनीहरू आफैंले आफैंलाई साहै भ्रष्ट पारेकाछन्। परमप्रभुले इस्राएलीहरूको पापको सम्झना गर्दै तिनीहरूको पापकोलागि दण्ड दिनुहुन्छ।
मूर्ति पूजाद्वारा इस्राएलको विनाश
10 “उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाएँ जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल-पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।
इस्राएलीहरूका छोरा-छोरीहरू
11 “इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ। 12 तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फँसाउँनेछु।”
13 एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्याउँनेछ। 14 हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।
15 तिनीहरूको सबै दुष्टता गिलगालमा छ।
त्यही मैले तिनीहरूलाई धृणा गर्न शुरू गरें।
म तिनीहरूलाई तिनीहरूको कु-कर्मले गर्दा
मेरो राजमहलबाट मिल्काई दिनेछु।
म तिनीहरूलाई फेरि कहिल्यै पनि प्रेम गर्ने छैन।
तिनीहरूका सबै अगुवाहरू बागी भए।
16 एप्रैमलाई दण्ड दिइनेछ,
तिनीहरूको जरा सुकि हाल्यो।
तिनीहरूमा फल लाग्नेछैन,
उनीहरूको अब धेरै सन्तान हुने छैनन्।
यदि तिनीहरूले सन्तान जन्माए पनि,
म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु,
जो तिनीहरूबाट जन्मलिनेछन्।
17 मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ,
किनभने तिनीहरूले उहाँलाई सुनेन्।
तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।
इस्राएलको सम्पत्तिले तिनीहरूलाई मूर्ति पूजा गरायो
10 इस्राएल त्यो दाख जस्तै छ
जसले प्रशस्त मात्रमा फल दिन्छ।
तर इस्राएलले झूटा देवतारूको निम्ति
विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो।
भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले
अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
2 इस्राएलको मानिसहरूको हृदय झूटो छ।
अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्नै पर्छ।
परमप्रभुले तिनीहरूका स्मारक-ढुङ्गाहरू नाश पार्नु हुनेछ।
उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।
इस्राएलीहरूका दुष्ट निर्णयहरू
3 अब इस्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौं अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”
4 तिनीहरू प्रतिज्ञा गर्छन्। तर तिनीहरू केवल झूटो बोल्छन। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।
5 सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन्। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ। 6 त्यस मूर्तिलाई अश्शूरको महान राजालाई उपहारका निम्ति लगिएको हुन्छ। एप्रैमको लज्जित मूर्ति उहाँ लगिने छ। इस्राएल चाँहि आफ्नै मूर्तिमा लज्जित हुनुपर्नेछ। 7 सामरियाका राजाहरूलाई नष्ट गरीदिनेछु। ऊ पानीमाथि बग्ने काठको टुक्रा जस्तै हुनेछ।
8 इस्राएलले पाप गर्यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँढा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”
इस्राएलाई पापको निम्ति तिर्नेछ
9 “हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ। (अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्।) गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ। 10 तिनीहरूलाई दण्ड दिन म आउनेछु। तिनीहरूको विरूद्ध सेनाहरू एक भएर आउनेछन्। इस्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।
11 “एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।”
12 धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैंले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्षाउनु हुनेछ।
13 तर तिमीहरूले दुष्टताको बीऊ रोपेकाछौ अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौ। तिमीहरूले झूटो फल खाएकाछौ किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौ। 14 यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसँगै आमाहरूको पनि हत्या गरिदिएको थियो। 15 बेतेलमा तिमीहरूलाई पनि यस्तै हुनेछ किनकि तिमीले धेरै नै कुकर्महरू गरेकाछौ। त्यस दिनको शुरूवात हुँदा हुँदै इस्राएलको राजा पुरै नष्ट हुनेछन्।
इस्राएलहरूले परमप्रभुलाई भुल्यो
11 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्रेम गरें।
तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,
त्यति-त्यति तिनीहरू मबाट टाढा भए।
तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे।
उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
3 “एप्रैमलाई मैले हिँड्न सिकाएँ।
इस्राएललाई मैले अङ्गालोमा बोकें
अनि मैले नै तिनीहरूलाई निको पारें।
तर यी सबै कुरा तिनीहरू जान्दैनन्।
4 मैले तिनीहरूलाई प्रेमको डोरी
मायाको बन्धनले बाँधेर डोर्याएँ।
म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ,
म निहुरेर उनीहरूलाई खाना खुवाएँ।
5 “तर इस्राएलीहरूले परमेश्वरतर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, त्यसको सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन्। 6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिन्छ।
7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
परमप्रभुले इस्राएललाई नष्ट गर्न चाहनुहुन्न
8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहन्छु।
म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ!
म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ।
म आफ्नो मन बद्ली रहेछु,
तिमीप्रति दयाले मन पग्लिरहेछ।
9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्।
म फेरि एप्रैमलाई नष्ट पार्नेछैन।
म त परमेश्वर हुँ, म कुनै मानिस होइन।
म तिनीहरू माझ एक पवित्र छु।
म तिमीहरूसँगै छु।
म आफ्नो रिस देखाउँनेछैन।
10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु
अनि मेरा सन्तान मसँग आउने छन्,
र मेरो पछि-पछि हिँड्नेछन्।
मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
11 तिनीहरू चरा जस्तै वेगसित
मिश्र देशबाट आउनेछन्।
तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन्
अनि म तिनीहरूलाई घरमा पठाउनेछु।”
परमप्रभुले यो भन्नु भयो।
12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ।
इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यन्त्र रचे।
तर यहूदा अहिले सम्म परमेश्वरसँग छ।
यहूदा पवित्र र साँच्चो छ।”
परमप्रभु इस्राएलको विरूद्धमा हुनुहुन्छ
12 एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्राएल दिनभरि “हावाको पछि पछि भागिहिँड्छ”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसँग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।
2 परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ। 3 जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो। 4 याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसँग बातचीत गर्यो। 5 यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो। 6 यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँच्चो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैँ निर्भर गर।
7 “याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ। 8 एप्रैम भन्छ, ‘म धनी छु। मैले साँच्चो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’
9 “तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु। 10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु। 11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।
12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेंडा़हरूको हेरचाह गर्यो। 13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्तद्वारा इस्राएललाई सुरक्षित राख्नुभयो। 14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”
इस्राएल आफै नष्ट भयो
13 “एप्रैम आफैंले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ। 2 इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे। 3 अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
4 “मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो। 5 उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें। 6 मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
© 2004, 2010 Bible League International