Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गलाती 3:26 - कलस्सी 4:18

26-27 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौं। तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ। 28 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हौ। 29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।

म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ ऊ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ। किनभने बालक छउन्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ। हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं। तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो। परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।

तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।”

यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।

गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम

अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? 10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्?

12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। 13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। 14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। 15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। 16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?

17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। 18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। 19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। 20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।

हागार र साराको उदाहरण

21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ? 22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई। 23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।

24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो। 25 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्। 26 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्। 27 धर्मशास्त्रमा यो लेखिएको छः

“खुशी होऊ, हे बाँझी नारी,
    जसले कुनै बालकलाई जन्म दिनु सकिनौ,
हर्षले कराऊ, जोडले चिच्याऊ,
    की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ।
त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्,
    पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”(A)

28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो। 29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ। 30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”(B) 31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।

अहिले हामी मुक्त छौ

ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन। सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।

तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिँड्नमा तिमीहरूलाई कसले रोक्यो? यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो। होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।” 10 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।

11 मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन। 12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्।

13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। 14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”(C) 15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

आत्मा र मानवता

16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ। 26 हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।

एक अर्कोलाई सघाऊ

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।

जीवन खेत रोपे जस्तो हो

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

पावल आफ्नो पत्र समाप्त गर्छन्

11 यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।

14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।

18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।

परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्!

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्।

ख्रीष्टमा हुनेहरूलाई आत्मिक आशिष

उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।

हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। 10 ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।

11 परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। 12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। 13 तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। 14 पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।

पावलको प्रार्थना

15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। 17 म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।

18 म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।

19 अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ। 20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो। 21 परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ। 22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। 23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।

मृत्युदेखि जीवन

बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।

तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो। भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।

तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। 10 हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।

ख्रीष्टमा एक

11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। 12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। 13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। 16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। 17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। 18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।

अन्य जातीहरूमा पावलको काम

यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।

परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो।

10 उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। 11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। 12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। 13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।

ख्रीष्टको प्रेम

14 यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। 15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। 16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। 17 तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। 18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। 19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।

20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। 21 मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।

शरीरमा एकता

म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ,

“उहाँ माथि आकाशमा जानुभयो,
    आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो,
    अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”(D)

“उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। 10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। 11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

बाँच्ने तरिका

17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। 18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। 19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्। 20 तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। 21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। 22 तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। 23 तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। 24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। 26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। 27 शैतानलाई जित्ने मौका नदेऊ। 28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

29 बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। 30 पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। 31 तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। 32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः

“जाग, हे निदाएकाहरू हो!
    मृत्युबाट उठ,
अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

पति र पत्नीहरू

21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।

22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।

25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।

28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”(E) 32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।

बालकहरू र आमा-बाबुहरू

बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।”(F) यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ। त्यो प्रतिज्ञा होः “तब तिम्रो हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।”(G)

पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।

कमाराहरू र मालिकहरू

कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ। तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान। आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन। याद राख, ऊ कमारा होस् कि मुक्त होस् राम्रो काम गर्ने हरेकालाई पुरस्कार दिने प्रभु नै हुनुहुन्छ।

अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।

परमेश्वरको हात-हतियार धारण गर

10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।

14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर 15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। 16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। 17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। 18 सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

19 मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसँग भन्नु सकुँ। 20 सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।

अन्तिम अभिवादन

21 हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्। 22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु।

23 तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्। 24 तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।

ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम।

ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्।

पावलको प्रार्थना

जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।

तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।

तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः

बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। 10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। 11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ।

पावलको कष्ट परमेश्वरको काममा सहायक

12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। 13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। 14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।

15 कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। 16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। 17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। 18 तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्।

अनि म खुशी नै भइरहन्छु। 19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। 20 मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। 21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।[a]

22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। 23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। 24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। 25 जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। 26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।

27 होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु। 28 अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्। 29 परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ। 30 जब म तिमीहरूसित थिएँ मैले गरेको सङ्घर्ष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको सङ्घर्ष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।

एकतामा रहौ र एक-अर्कोलाई ध्यान देऊ

मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच। जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।

निस्वार्थ बन्न ख्रीष्टबाट सिक

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।
    उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो।
    तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो,
    र मानव हुन जन्मनु भयो।
अनि सेवक हुनु भयो।
    जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।
    अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।
ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो,
यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो।
    परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
10 उहाँले यसो गर्नुभयो,
    ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्।
11 “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्।
    जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।

परमेश्वरले चाहे जस्तै मानिस बन

12 मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। 13 परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

14 कुनै गनगन वा बहस नगरी सबै काम गर। 15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। 16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।

17 तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। 18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।

तिमोथी र इपाफ्रोडाइटसको खबर

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। 20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। 21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। 22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। 23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। 24 म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। 26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। 27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। 28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। 29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। 30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।

सबैभन्दा महत्वपूर्ण ख्रीष्ट नै हुनुहुन्छ

अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी-घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।

दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्। तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन। म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु। म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे।

एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो 10 म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। 11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु।

लक्ष्यमा पुग्ने प्रयास

12 परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो। 13 दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। 14 लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।

15 हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। 16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन।

17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। 18 धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। 19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। 20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। 21 उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।

गर्न पर्ने कामहरू

मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[b] तिमीहरूको नाउँपनि राखिएकोछ।

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

फिलिप्पीका विश्ववासीहरूलाई पावलको धन्यवाद

10 प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ। 11 म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु। 12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। 13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

14 तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ। 15 मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो। 16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। 17 म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ। 18 आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बढ्तै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ। 19 मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ। 20 हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।

21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु। 22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।

23 हाम्रा प्रभु येशू ख्रीष्टको महिमा तिमीहरू प्रत्येकमा रहोस्।

ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।

कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई।

तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।

जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन्, सधैँ धन्यवाद चढाउँछौ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं। तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ। संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ। परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्। पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।

तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:

परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। 10 तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। 11 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।

तब तिमीहरू खुशी हुन सक्छौ। 12 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो। 13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। 14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ।

जब हामी ख्रीष्टलाई हेर्दछौ, हामी उहाँमा परमेश्वर पाँउछौ

15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
    तर परमेश्वर हुबहु येशू हुनुहुन्छ।
    सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।
16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
    स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
    सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
    अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
    अनि उहाँ प्रभु[c] हुनुहुन्छ,
    जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।

19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20     अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
    अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। 22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। 23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।

मण्डलीको लागि पावलको काम

24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। 25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। 26 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। 27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। 28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं। 29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।

ख्रीष्टमा स्थिर होऊ

तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्। परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। 10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।

11 ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। 12 यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।

13 तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो। 14 हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो। 15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

मानिसहरूले बनाएको नियमहरू नमान

16 यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस् (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)। 17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ। 18 कसै-कसैले वाहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।” 19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ।

20 तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ? 21 “यो नखाऊ”, “त्यो नचाख”, “त्यो नछुव” भन्ने! 22 यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्। 23 यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।

ख्रीष्टमा तिम्रो नयाँ जीवन

जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।[d] अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। 10 अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँच्चो रूपमा चिनाउन लैजाने छ। 11 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।

एक-अर्कामा तिमीहरूको नँया जीवन

12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। 15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा[e] बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।

16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

अरूसित तिम्रो नयाँ जीवन

18 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।

19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।

20 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।

21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।

22 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरू प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ। 23 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन। 24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ। 25 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।

ख्रीष्टियनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्

आफैंलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैँ परमेश्वरलाई धन्यवाद चढाऊ। हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाँउँछु। तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

पावलका साथीहरूको समाचार

टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्। त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु। ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।

10 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु। 11 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।

12 येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैँ तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्। 13 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु। 14 डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।

15 लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु। 16 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ। 17 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।

18 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International