Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 40:12-50:26

12 तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो। 13 तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ। 14 तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सम्झना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ। 15 मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”

रोटी पकाउनेवालाको सपना

16 त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए। 17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”

18 यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो। 19 तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”

नोकरले यूसुफलाई बिर्सिन्छन्

20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए। 21 फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो। 22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो। 23 तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।

फिरऊनको सपना

41 दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो। सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए। त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए। आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।

फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए। अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए। ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो। र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

नोकरले यूसुफको विषयमा फिरऊनलाई भन्छ

तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु। 10 तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो। 11 त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो। 12 हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। 13 उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे-जे भनेको थियो सत्य भयो।”

यूसुफलाई सपना व्याख्या गर्न बोलाइयो

14 यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्‌यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो। 15 फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

16 यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।”

17 त्यसपछि फिरऊनले यूसुफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा अभिरहेको थिएँ। 18 त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए। 19 तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए। 20 त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए। 21 तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म ब्यूँझें।

22 “मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए। 23 अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए। 24 त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए।

“मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”

यूसुफले सपनाको विषयमा व्याख्या गर्छ

25 तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ। 26 दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात बर्षहरू हुन्। 27 ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात बर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात बर्ष राम्रो सात बर्षपछि आउँछ। 28 यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ? 29 मिश्र देशमा सात बर्ष प्रचूर अन्न हुने छ। 30 तर त्यसपछि फेरि सात बर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ। 31 त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।

32 “हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ। 33 यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्। 34 तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात बर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्। 35 तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल बर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ। 36 त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात बर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

37 फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। 38 त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”

39 यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। 40 तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

41 तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” 42 अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। 43 जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

44 राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।” 45 त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

46 मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस बर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे। 47 सहकालको सात बर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो। 48 अनि तिनले ती बर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए। 49 समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।

50 यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। 51 यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” 52 तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”

अनिकालको समय शुरू हुन्छ

53 सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। 54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। 55 जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”

56 प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। 57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।

सपना साँच्चो भयो

42 कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन यसरी बसिरहेका छौं। बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौं।”

यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए। याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।

कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए।

त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे। यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”

ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”

यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्। यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।

यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”

10 तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्। 11 हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”

12 तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”

13 अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”

14 तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ। 15 तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन। 16 तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।” 17 त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे।

शिमोनलाई बन्धक झैं राख्यो

18 तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु। 19 यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्। 20 तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”

दाज्यू-भाइहरू यसमा सहमत भए। 21 तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

22 त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”

23 आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। 24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे। 25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

26 यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे। 27 त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो। 28 उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”

दाज्यू-भाइहरूले याकूबलाई बताए

29 कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। 30 तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। 31 तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। 32 हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।

33 “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। 34 त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’”

35 त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।

36 याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।”

37 तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”

38 तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

याकूबले बिन्यामीनलाई मिश्रदेश जान दिन्छन्

43 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो। मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”

तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’ यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ। तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”

इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”

ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”

त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसँगै मर्नेछन्। म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सधैँ दोष दिन सक्छौ। 10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”

11 त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ। 12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ। 13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ। 14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”

15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।

दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो

16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।” 17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।

18 जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो बिरूद्धमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”

19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए। 20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं। 21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं। 22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”

23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”

त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो। 24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।

25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।

26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।

27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यू हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।

29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्।) यूसुफले भने, “तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”

30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए। 31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”

32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमासँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रु मानिसहरूसँगै बसेर खानु राम्रो होइन। 33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए। 34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।

यूसुफले जाल फिजाउँछ

44 तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ। कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।

अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गधा समेत फर्काई आफ्नो देशतिर पठाइयो। जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ? मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।’”

यसर्थ त्यस नोकरले यूसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्यो। यूसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो।

तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ। हामीले अघिल्लो पल्ट हाम्रो बोराहरूमा जुन पैसा पाएका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिम्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरेका छैनौं। यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”

10 नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”

फिंजाइएको जालमा बिन्यामीन पर्यो

11 तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे। 12 त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो। 13 ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाए र शहरतिर फर्के।

14 यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिन्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए। 15 यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”

16 यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”

17 तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”

यहूदाले बिन्यामीनको निम्ति विन्ती गरे

18 त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ। 19 हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोध्नु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’ 20 हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’ 21 तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु। 22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’ 23 तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’ 24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।

25 “पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’ 26 अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’ 27 तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्। 28 एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन। 29 अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’ 30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो। 31 यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।

32 “त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’ 33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु। 34 यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”

यूसुफ भन्छ ऊ को हो

45 यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने। यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।

यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ। अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ। यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”

मिश्रमा इस्राएललाई निम्तो

यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु। 10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ। 11 म आउँदो पाँच बर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।

12 यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु। 13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।” 14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे। 15 त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।

16 फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए। 17 यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन। 18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।” 19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु। 20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”

21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए। 22 यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए। 23 यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए। 24 त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”

25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए। 26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”

तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्। 27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए। 28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”

इस्राएललाई परमेश्वरको विश्वसनीयता

46 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे। त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”

अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”

तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु। म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”

इस्राएल मिश्र जान्छन्

त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे। तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए। तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

याकूबको परिवार

तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः

रूबेन याकूबका जेठो छोरो थिए। रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।

10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)

11 लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।

13 इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।

14 जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।

15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।

16 गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।

19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)

20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।

21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।

22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।

23 हुशीम दानका छोरो थियो।

24 नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।

25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।

26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।) 27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।

इस्राएल मिश्रमा पुग्छ

28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए। 29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।

30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”

31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्। 32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैँ भेंडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’ 33 जब फिरऊनले बोल्ने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’ 34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेंडा गोठालाहरू हौं। जीवनभरि हामी भेंडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेंडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”

इस्राएल गोशेनमा बस्छन्

47 यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।” फिरऊनकहाँ जान यूसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे।

फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?”

तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।” तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस्न भनी आएका छौ र तपाईलाई अनुमतिको निम्ति बिन्ती गर्छौ।”

तब फिरऊनले यूसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्। तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।

अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?”

याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस बर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”

10 याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए।

11 यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि रामसेसेमा राखे। 12 यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

यूसुफ फिरऊनको निम्ति भूमि किन्छन्

13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो। 14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए। 15 केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”

16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।” 17 यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस बर्ष यूसुफले मानिसहरूबाट भेंडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।

18 तर अर्को बर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन। 19 अब हामी तपाईंको नजरको सामुन्ने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”

20 यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे। 21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए। 22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।

23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।

24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”

25 मानिसहरूले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”

26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”

“मिश्र देशमा मलाई नगाड”

27 इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।

28 याकूब मिश्र देशमा सत्र बर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस बर्षका भए। 29 इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड। 30 मलाई त्यही जग्गामा गाड्नु जहाँ मेरा पिता-पुर्खाहरू गाडिएका छन्। मलाई मिश्रबाट बाहिर लगेर हाम्रा परिवारको चिहान घारीमा गाड्नु।”

यूसुफले भने, “तपाईंले जे भन्नु हुन्छ म त्यही गर्छु म वचन दिन्छु।”

31 तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि[a] अडेसिएर शिर निहुराए।

मनश्शे अनि एप्रैमको लागि आशीर्वाद

48 केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए। जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।

तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो। परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा सधैँको निम्ति अधिकार जमाउनेछन्।’ अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्। यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्। पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”

तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”

यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।”

इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”

10 इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन गर्दै अङ्गालो हाले। 11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरू समेत मलाई भेटगराउँनु भयो।”

12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए। 13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।) 14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे। 15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने,

“मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे,
    अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो।
16 उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो।
    अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ।
मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्।
    तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”

17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते। 18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”

19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि ऊ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

20 यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,

“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा,
    तिमीहरूको नाउँ उच्चारण गर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘परमेश्वरले तिमीहरूलाई पनि
    एप्रैम र मनश्शे झैं महान बनाउन्।’”

यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।

21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो अन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैँ सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22 जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जितें।”

याकूबले छोराहरूलाई आशीर्वाद दिन्छन्

49 तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।

“हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ,
अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।

रूबेन

“रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै
    मेरो शक्तिको पहिलो प्रमाण होस्।
तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि,
    अनि शक्तिशाली हुन्छस्।
तर तेरो महत्वपूर्ण शक्ति
    बाढीको पानी जस्तै शक्तिशाली थियो
तर तैंले त्यसलाई बचाई राख्न सकिनस्।
    यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्।
तँ आफ्नो बुबाको ओछ्यानमा चढिस्
    अनि उनकी एउटी पत्नीसित सुतिस्।
तँ मेरो ओछ्यानमा गइस्
    अनि त्यसलाई भ्रष्ट पारिस्।

शिमोन र लेवी

“शिमोन र लेवी दाज्यू-भाइ हुन्।
    तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँछन्।
तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ
    अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने
तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्।
    अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।
तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ।
    जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए।
तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्।
    तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।

यहूदा

“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्।
    तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्।
    तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
यहूदा तँ सिंह जस्तै छस्।
    मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिंदा देखिन्छ।
तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस्,
    अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
10 यहूदाको परिवारबाट राजाहरू हुनेछन्।
राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन,
    जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन।[b]
तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
11 उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ।
    सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।
12 उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन्,
    र उसका दाँतहरू दूधलेगर्दा सेता छन्।

जबूलून

13 “जबूलून समुद्रको किनारमा बस्नेछ।
    समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ।
    उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।

इस्साखार

14 “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम
    गर्न ढल्किएको बलियो गधा जस्तो हो।
15 ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ।
    ऊ हेर्छ उसको जग्गा राम्रो छ।
त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ।
    ऊ कमारा जस्तै खट्न राजी हुने छ।

दान

16 “दानले इस्राएलका अरू कुलहरूले झैं
    आफ्ना मानिसहरूको न्याय गर्ने छ।
17 दान बाटोको किनारमा बसेको
    सर्प झैं हुनेछ।
दान बाटो छेउमा सुतिरहेको
    सर्प झैं भयानक हुनेछ।
त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ,
    र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।

18 “परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।

गाद

19 “एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्,
    तर गादले तिनीहरूलाई धपाउने छ!

आशेर

20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ।
    त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।

नप्ताली

21 “नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो।
    अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।

यूसुफ

22 “यूसुफ अत्यन्त सफल भएको छ।
    यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै
    अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
23 धेरै मानिसहरू तिनको विरोधी भए
    अनि तिनीसित युद्ध गरे।
काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए,
24 तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो।
याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।
25     आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।

“सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन,
    अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्।
उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
26 मैले प्राप्त गरेको आशीर्वादहरू
मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्।
ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू,
    उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।

बिन्यामीन

27 “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो।
    बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ।
    अनि राती ऊ लुटेका वस्तुहरू भाग लगाउँछ।”

28 यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो। 29 तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्। 30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए। 31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ। 32 त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।” 33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।

याकूबको दाह-सँस्कार

50 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे। मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।

सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु। ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’”

फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”

यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए। मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे। 11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे। 13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। 14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।

दाज्यू-भाइहरू यूसुफसित अझै डराइरहे

15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै बर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।” 16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो। 17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।”

त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए। 18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। 20 यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो। 21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे। 23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

यूसुफको मृत्य

24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International